काठमाडौं ,
नायक राजेश हमालको आज जन्मदिन । ९ जुन १९६४ पाल्पाको तानसेनमा उनको जन्म भएको हो । यस आधारमा हमाल आफ्नो ५६औं जन्मदिन मनाउँदैछन् ।
राजेश नेपालका एक चर्चित अभिनेता हुन् । उको पहिलो र सफल चलचित्र ‘युगदेखि युगसम्म’ हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यावसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ ।
राजेश हमाल नेपाली चलचित्रमा लागेको तीन दशक पुगिसक्यो । नेपाली चलचित्र इतिहासमा सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्नेमा राजेशको नाम पहिले आउँछ । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानका लागि धेरै पुरस्कारबाट सम्मानित भइसकेका छन् । जसमा राष्ट्रिय चलचित्र पुरस्कार (२०१४) रहेको छ ।
राजेशलाई महानायक पनि भन्ने गरिएको छ । अभिनय क्षेत्रबाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ । हाल नेपाली चलचित्र नखेले पनि उनको व्यस्तता उस्तै छ । टेलिभिजनमा कार्यक्रम होस्ट, विभिन्न विज्ञापन र गीतमा राजेशले अभिनय गर्दै आएका छन् ।
राजेशले ५० वर्षको उमेरमा मोडल मधु भट्टराईसँग बिहे गरेका हुन् । उनी चाँडै नयाँ चलचित्र ‘प्रेमगीत ३’ मा प्रमुख भूमिकामा देखिने चर्चा छ ।