सुमन ढकाल
बिर्तामोड । गोदावरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः गोपालप्रसाद लामिछाने चयन भएका छन् ।
संस्थाको सम्पन्न चौथो साधारणसभाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, सचिवमा युवराज चौहान, सहसचिवमा इन्दिरा खरेल र कोषाध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा तिलोत्तमा खत्री, कृष्णकुमारी खनाल, कमलप्रसाद गुरुङ, सुरेन्द्र नेपाल, कमल बास्कोटा र केदार ढुंगाना रहेका छन् । सोही साधारणसभाले खेमनाथ न्यौपानेको संयोजकत्वमा लेखा समिति चगन गरेको छ । समितिको सदस्यमा लक्ष्मी भट्टराई र कर्णबहादुर पौडेल रहेका छन् ।
संस्थाका अध्यक्ष गोपालप्रसाद लामिछानेको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गुरुप्रसाद अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, जिल्ला वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नि पौडेल, कृषि विकास बैंक तालिम केन्द्र लेटाङका तालिम प्रमुख रञ्जन खनाल, फडानी साकोसका अध्यक्ष चन्द्रप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट वचतकर्ता भावना अधिकारी र उत्कृष्ट कर्जा उपभोक्ता योगेन्द्र न्यौपानेलाई पुरस्कृत गरिएको थियो । मोरङको लेटाङस्थित कृषि विकास बैंक तालिम केन्द्रमा साधारणसभा सम्पन्न भएको संस्थाकी नैनकला भट्टराईले जानकारी दिइन् । संस्थामा हाल ८० महिला र ७४ पुरुष गरी १ सय ५४ जना शेयर सदस्य रहेको बताइएको छ । संस्थाले १० लाख ९७ हजार ५ सय २६ रुपैयाँ ९४ पैसा आम्दानी, १० लाख ३१ हजार १ सय ४४ रुपैयाँ ३६ पैसा खर्च भई ६६ हजार तीन सय ८२ रुपैयाँ ५८ पैसा बचत रहेको बताइएको छ ।
साधारणसभामा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष लामिछानेले लेखा समितिको प्रतिवेदन लेखा संयोजक खेमनाथ न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवराज चौहानले गरेका थिए ।