Aamsanchar

अब बढी यात्रु बोकेमा इजाजतपत्र निलम्बन हुने

Author Image
आइतवार, भदौ १२, २०७३

bus

काठमाडौँ  ।

सरकारले यात्रुबाहक सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने र रुट परमिट नलिई चलाउने सवारी साधनको इजाजतपत्र निलम्बनदेखि खारेजसम्मको व्यवस्था सहितको कानुन संशोधन प्रक्रृया अघि बढाउने भएको छ ।

व्यवस्थापिका–संसद्मा सडक दुर्घटना कम गरी स्थल यातायातलाई सुरक्षित बनाउने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सो जानकारी गराउनुभएको हो ।

रुट इजाजत नलिएको बाटोमा सवारी साधन चलाएमा चालक अनुमति पत्र र सवारी साधनको दर्ता निलम्बन गर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्ने ढङ्गबाट कानुनको संशोधन हुने उहाँले बताउनुभयो । कस्तो रुटमा कुन परमिट दिने सम्बन्धी व्यवस्थाले यातायात क्षेत्रलाई नियमित गर्न र एकाधिकारको अन्त्य गर्न योगदान पुग्ने मन्त्री लेखकको भनाइ थियो ।

पछिल्लो समय सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति भएपछि सदनमा यस विषयमा सार्वजनिक महत्वको प्रस्ताव नै प्रस्तुत गरी छलफल गरिएको हो । मन्त्री रमेश लेखकले सरकार यस विषयमा अत्यन्त गम्भीर रहेकाले अभिभावकको भूमिका निर्वाह गर्न चाहन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो– “सांसदहरुले अत्यन्त गम्भीर विषयमा महत्वपूर्ण सुझावका रुपमा राख्नुभएको छ, सरकारले ती सुझावलाई मार्ग निर्देशनका रुपमा ग्रहण गर्नेछ, कानुन निर्माण गर्ने विषयमा सरकारलाई सदनको साथ र सहयोग चाहिएको छ ।”

यातायात सम्बन्धी एउटै कार्यालयबाट धेरै सेवा प्रदान भएकाले बढी भिड र जनतालाई दुःख भएको भन्दै उहाँले त्यस्ता कार्यालयको काम चाँडो भन्दा चाँडो कमसे कम चारवटा कार्यालयबाट गर्ने व्यवस्था अघि बढाउने निर्णय भएको जानकारी गराउनुभयो ।

सातै प्रदेशमा कम्तीमा एक÷एक सवारी साधन जाँच गर्ने व्यवस्थाका लागि पहल भइरहेको बताउँदै उहाँले सडक सुरक्षाका लागि विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सडक दुर्घटना नियन्त्रण गर्ने काममा वादविवाद नभई राष्ट्रिय संकल्पको रुपमा लिनुपर्ने बताउँदै उहाँले सवारी साधनको छतमा मानिस राख्न नदिन मन्त्रालयले कडाइका साथ कानुन लगाउने विश्वास दिलाउनुभयो ।

सडकको सुरक्षा कार्ययोजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न तयार रहेको बताउँदै मन्त्री लेखकले उक्त सबै कार्यमा संसद्को आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।

आजको बैठकमा ऊर्जा मन्त्री जनार्दन शर्माले “ऊर्जा सहयोगको लागि सार्क प्रारुप सम्झौता (विद्युतीय) माथि वक्तव्य दिँदै उक्त सम्झौता सदनमा प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिका तर्फबाट मन्त्री लेखकले “यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण विधेयक, २०७१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नभएको थियो । संसद्को अर्काे बैठक भोलि भदौ १३ गते बस्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर