करिब सवा दुई अर्ब अर्थात् संसारको जनसंख्याको ३० प्रतिशत मानिस फेसबुक चलाउँछन्। इतिहासमै एकैठाउँमा यति धेरै मानिसको जमघट कहिल्यै भएको थिएन। प्रयोगकर्ताका लागि फेसबुकको मूल्य अर्बौं डलर रहने अर्थशास्त्रीहरू स्विकार्छन्। सँगसँगै कुलत, बुलिङदेखि लिएर तथ्यमा आधारित राजनीतिको क्षयीकरण र नरसंहारसम्मलाई पनि यसले बढावा दिएको आरोप लाग्दै आएको छ। अनेकौँ अध्ययनहरूले यी आरोप आधारहीन होइनन् भन्ने पुष्टि गर्छन्।
यस्तो अवस्थामा फेसबुक आफ्ना साथी र परिवारसँग सम्पर्क कायम गर्ने सहज माध्यम त हुन सक्ला। तर, यो त्यसको एक मात्र माध्यम भने होइन।
फेसबुकबिना जीवन कस्तो होला भनेर अनेकौँ अनुसन्धाताले यसबारे विभिन्न अध्ययन गरिरहेका छन्। गत जनवरीमा स्ट्यानफोर्ड युनिभर्सिटीमा यससम्बन्धी सबैभन्दा ठूलो अध्ययन गरिएको थियो। अनुसन्धाताले हजारौँ फेसबुक प्रयोगकर्ता छनोट गरेर तिनलाई विभिन्न समूहमा विभाजन गरेका थिए। त्यस्ता समूहका सदस्यलाई सन् २०१८ को अन्त्यमा एक महिनाका लागि फेसबुक प्रोफाइल डिएक्टिभेट गर्न लगाइएको थियो। फेसबुकबिना तिनको जीवनमा कस्तो प्रभाव परेको थियो भनेर अध्ययन गरिएको थियो।
फेसबुक छोडेकाहरूले औसतमा एक घण्टा खाली समय उपभोग गर्न पाए। त्यो समय उनीहरूले अन्य सामाजिक सञ्जाल वा वेबसाइटमा खर्चिएनन्। बरु साथी र परिवारको साथमा बिताए र टेलिभिजन हेर्नमा केही समय खर्चिए। तिनले समाचार पनि निकै कम पढे। जसका कारण भइरहेका घटनाप्रति कम जानकारी हुनुका साथै फेसबुक चलाइरहेकाभन्दा विचारमा पनि कम ध्रुवीकृत देखिए। फेसबुक छोडेपछि तिनले आफ्नो खुशीको मात्रा बढेको र डिप्रेसन र एन्जाइटी घटेको बताए।
कतिपयलाई यसले फेसबुकको लत छुटाउन पनि सहयोग गर्यो। फेसबुक डिएक्टिभेट गरेकाहरू हप्तौँपछि सञ्जालमा फर्किंदा उनीहरूले पहिलेको भन्दा २३ प्रतिशत कम समय यसमा बिताउन थाले। पाँच प्रतिशत त अझैसम्म फेसबुकमा फर्केका छैनन्। तसर्थ फेसबुकबिना यो दुनियाँ अझ राम्रो हुनेछ।
सामाजिक सञ्जाल त्याग्नेहरूले यसबाट नोक्सानभन्दा फाइदा बढी हुने सुझाएका छन्। फोनको ब्याट्री धेरै टिक्नेदेखि लिएर सम्बन्धको आयामसम्ममा सुधार हुने उनीहरूको दाबी छ। सबैभन्दा बढी चाहिँ सामाजिक सञ्जाल नहुँदा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र समयको सदुपयोग हुने उनीहरूको भनाइ छ।
फेसबुक छोड्दैमा टुट्दैन सम्पर्क
ब्रायन एक्स चेनले गत वर्ष फेसबुक डिलिट गरे। त्यसपछि पनि परिवार र साथीभाइसँग सम्पर्क कम भएको उनलाई लाग्दैन।
‘मैले १४ वर्षभन्दा बढी फेसबुक चलाएँ,’ ब्रायन भन्छन्, ‘पाँच सय साथी बनाएँ। तीमध्ये धेरैजसो मेरा पूर्वसहपाठी थिए, जोसँग मेरो सम्पर्क टुटिसकेको थियो। वास्तविक जीवनमा मेरा २० जनाजति साथी छन्, जोसँग म नियमित कुराकानी गर्छु। मैले फेसबुक छोडेपछि पनि खासै फरक परेन। म आइमेसेज, सिग्नल वा इमेलको माध्यमबाट तिनै साथीहरूसँग सम्पर्क गर्छु। फेसबुक मेसेन्जर मात्रै प्रयोग गर्ने एक जना साथीसँग भने म अहिले इमेलमा कुराकानी गर्छु। हाम्रो सम्पर्क घटेको छ।’
ब्रायन थप्छन्, ‘मलाई फेसबुकको याद पनि आउँदैन। फेसबुकमा मेरा साथीहरू बारम्बार क्विज, राजनीतिक समाचार र वर्तमान घटनामा आफ्नो विचार पोस्ट गर्थे। कहिलेकाहीँ रमाइलो र रोचक पोस्ट पनि देखिन्थ्यो। तर, यो अन्ततः टाइमपासको माध्यम मात्र थियो। आजभोलि म पुस्तक बढी पढ्न थालेको छु। किनभने, मेरो ऊर्जा फेसबुक पोस्ट पढ्नमा खर्च भइरहेको छैन।’
उनी विज्ञापनदाताहरूले पिछा गर्न छोडेका बताउँछन्। भन्छन्, ‘ब्रान्डहरूले फेसबुकको सहारामा आफ्नो निसाना पत्ता लगाउने गर्छन्। तपाईंले ब्राउज गरेका सम्पूर्ण गतिविधि फेसबुकले हेरेर सोही अनुसारको विज्ञापन तपाईंलाई पठाउने गर्छ। त्यसैले फेसबुक डिलिट गरिसकेपछि मैले ब्राउजरमा ट्र्याकर ब्लकर पनि इन्स्टल गरेँ। यसले काम गर्यो। लक्षित अनलाइन विज्ञापन बन्द भयो। यसको नतिजा के भयो थाहा छरु वर्षौँसम्म मेरो इन्स्टाग्राममा पुरुषको जुत्ता, ब्रिफकेस र भिडियो गेमको विज्ञापन आउँथ्यो। अहिले म महिलाका लागि उत्पादित सामग्रीको विज्ञापन देखिरहेको छु। कारण, फेसबुक डिलिट गरिसकेपछि उसले मेरो ट्र्याक गरेर सही जानकारी पाउन सकिरहेको छैन। जसका कारण इन्स्टाग्रामले अहिले मलाई महिला ठानेको हुन सक्छ। यसका साथै मेरो खर्च पनि कम भएको छ। फेसबुक बन्द गरेपछि मेरो अनलाइन किनमेल कम भएको छ।’
कवि आचार्यले अन्नपूर्णमा लेखेको लेखको केही अंश साभार गरिएको हो ।