दमक । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि झापा दमकस्थित टर्मिनल बसपार्क प्रयोगमा आउन सकेको छैन । करोडौं रुपैयाँको लागतमा निर्माण गरिएको बसपार्क सञ्चालनमा नआउँदै दमक नगरपालिकाले सोही स्थानमा बहुतले बसपार्कको योजना अगाडि सारेको छ । बसपार्कको बाहिरी आवरण चिटिक्कको भए पनि यसको भित्री कथा भने बेग्लै छ । ९ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको बसपार्कको संरचना एक वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा पुगेका छन् ।
शौचालय निर्माण गरिएका छन् तर, राम्रोसँग ढोका लाग्दैन । दुर्गन्धित उस्तै छ । बसपार्कको माथिल्लो तलामा सडक बालबालिका र बेवारिसेहरूको बासस्थान बनेको छ टर्मिनल भवन । दुईतले टर्मिनल भवनमा चमेना गृह, विश्राम कक्ष, बसको रुटसम्बन्धी जानकारी दिने डिजिटल डिस्प्लेसमेत रहने गरी निर्माण गरिएको यो बसपार्कमा सबै संरचना निर्माण भइसके पनि प्रयोगविहीन छन् । ३ महिनादेखि काउण्टर सञ्चालन गर्दै आएका शेखर पौडेल भन्छन्, ‘जुन सुविधाका लागि यो भवन बनाइयो, त्यस प्रकारको सुविधा उपभोग गर्न पाइएको छैन ।’ पौडेलले थपे, ‘नाममात्रको सुविधायुक्त टर्मिनल भवन बन्यो उपयोगिता भएन ।’
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको ९ करोड, दमक नगरपालिकाको २५ लाख, सडक डिभिजन कार्यालयको १० लाख, सर्वसाधारणबाट ३ लाख ५० हजार र बाँकी अन्य स्रोतबाट बसपार्क निर्माण गरिएको हो । दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीका अनुसार सो बसपार्कमा बहुतले बहुआयामिक बसपार्क निर्माण गरिने भएकोले यसको उद्घाटनमा केही ढिलाइ भएको हो । भएकै संरचना सञ्चालनमा नल्याउँदै दमकमा बहुतले, बहुआयामिक बसपार्क निर्माणका लागि डिपिआर बनाउने प्रक्रिया शुरु भएको छ । नगरविकास कोषमार्फत् डिजिकन इञ्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर निर्माणको प्रक्रियासमेत थालिसकेको छ ।