Aamsanchar

पुरस्कृत हुने विद्यालयको नाम सार्वजनिक

Author Image
मङ्गलवार, भदौ २१, २०७३

काठमाडौँ ।sanitation.jpg

सरकारले यस वर्षको ३७ औँ राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने निजी तथा सामुदायिक विद्यालयको सूची सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सामुदायिक विद्यालयतर्फ कास्कीको शितलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र रु दुई लाखको पुरस्कार पाउने भएको छ । दिवस यही भदौ २३ गते मनाइनेछ ।

त्यसैगरी क्षेत्रीयस्तरमा राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र रु एक लाखसहित प्रत्येक विकास क्षेत्रबाट एक/एक वटा सामुदायिक विद्यालय पुरस्कृत हुनेछन् । तिनमा पूर्वाञ्चलबाट बरुणेश्वर मावि (ओखलढुङ्गा), मध्यमाञ्चलबाट नारायणी मोडल सेकेण्डरी स्कुल (भरतपुर चितवन), पश्चिमाञ्चलबाट गणेश मावि नारायणस्थान (बागलुङ), मध्यपश्चिमाञ्चलबाट गुरु मावि (मुगु) र सुदूरपश्चिमाञ्चलबाट भगवती मावि तलरा (डोटी) तथा दुर्गम क्षेत्रबाट खुम्जुङ मावि (खुम्जुङ सोलु) छन् ।

निजी विद्यालयतर्फ ग्रेडेड इङ्लिस मिडियम स्कुल (जेम्स) ललितपुर राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र नगद रु दुई लाखबाट सम्मानित हुने भएको छ । क्षेत्रीयस्तरमा पाँच विकास क्षेत्रबाट एक एक र एक निजी विद्यालयले रु एक लाखसहित सिल्ड र प्रमाणपत्रसहित सम्मानित हुने भएका छन् ।

पत्रकार सम्मेलनमा शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको पहुँच र गुणस्तर बढाउन यी पुरस्कारले टेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले आगामी दिनमा गुणस्तरीय शिक्षातर्फ ध्यान दिन निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलका योजनालाई निरन्तरता दिने बताउनुभयो ।

दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ रहेको छ । मन्त्रालयका सहसचिव डा हरि लम्सालले दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्या भूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

जसमा नेपाल विद्याभूषण पदक ‘क’ १९०, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५,, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट ४ जना विभूषित हुनेछन् ।

Views: 146

प्रतिक्रिया (०)