झापा ।

प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपोसारमा संलग्न भएको आरोपमा चार जना युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएका प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित बर्मेली टोल निवासी २७ वर्षीय कुशल धिमाल र सोही ठाँउका २२ वर्षीय भरत आचार्यलाई पक्राउ गरेको छ।

भारतको पानीट्यांकी नाकाबाट नेपालतर्फ आउँदै मे ४ प ९४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई मेची पुलमा शंका लागि प्रहरीले चेकजाँच गर्दा १७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार उनीहरुले प्रयोग गरिएको मोटरसाइकलको हेलमेट भित्री ब्राउनसुगर लुकाई छिपाई ल्याएका थिए। बरामद गरिएको ब्राउन सुगरको नेपाली मुल्य ६८ हजार पर्छ। त्यस्तै इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएका प्रहरी टोलीले ३ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २५ वर्षिय सन्तोष साम्सोहाङ् (लिम्बु) र अर्जुनधारा नगरपालिका ९ निवासी २० वर्षिय रामप्रसाद भारती रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।
बुद्धशान्ती गाउँपालिका ४ स्थित काली खोला चोकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले शङ्का लागि मे ७ प ७८२८ नम्बरको मोटरसाइकल सवार उनीहरुलाई चेकजाँच गर्दा सात पोकामा अर्थात अन्दाजी तीन ग्राम ब्राउन सुगर र नगद २२ हजार २८० रुपैयाँ बरामद गरेको छ।
बरामद गरिएको ब्राउन सुगरको मुल्य करिव १२ हजार पर्छ। यता पक्राउ परेका चारै जनालाई आवश्यक अनुसंन्धानका प्रहरी कार्यालयमा राखिएको जनाइएको छ।

