काठमाडौं। चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेसँगै चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही अधिकारीमाथि कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ ।१ हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन ।
कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ । चीन सरकारले कोरोना महामारी नियन्त्रणका लागि खटाइएका केही अधिकारीहरुके कामप्रति असन्तष्टि जनाउँदै उनीहरुलाई कारबाही गरेको छ ।कारबाहीमा पर्ने सबैभन्दा माथिल्लो तहका अधिकारीमा चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे प्रान्तको स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा आयोगका प्रमुख छन् । सरकारले उनको एक तह घटुवा गरिदिएको छ । यस्तै, चन्दा हिनमिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई पदमुक्त गरिएको छ । पदबाट बर्खास्तीमा परेका रेडक्रसकर्मीको नाम भने खुलाइएको छैन ।
कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ । हुबेको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ ।
गत आइतबार सम्म सङ्क्रमण हुनेको सङ्ख्या २ हजार ६ सय १८ रहेको थियो ।यस्तै चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ ।चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव जलाएको हुनसक्ने ताइवानबाट प्रकाशित ताइवान न्यूजले लेखेको हो । वुहान शहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको जनाइएको छ । ताइवान न्युजले ‘विण्डी डटकम’ ले अन्तरिक्षबाट खिचेको तस्बीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढि पाइएको उल्लेख छ ।
समाचारअनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १७०० माइक्रोग्राम प्रति घनमिटर छ । सल्फर डाइअक्साइडको यो मात्रा खतराको स्तर भन्दा २१ गुणा बढी रहेको जनाइएको छ ।वायुमण्डलमा ८० माइक्रोग्राम प्रतिघनमिटर सल्फर डाइअक्साइड खतरनाक मानिन्छ । महामारी फैलिएको चोङचिङ्ग शहरमा पनि यो ग्यासको मात्रा धेरै रहेको समाचारमा उल्लेख छ ।१४ हजारभन्दा धेरै शव जलाउँदा मात्र यति ठूलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरुको मत छ । मानिसको शवजस्ता जैविक पदार्थ जलाउँदा सल्फर डाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छन् ।चिनियाँ परम्पराअनुसार मृतकको शवलाई गाड्ने प्रचलन रहेपनि सल्फर डाइअक्साइडको मात्रालाई विश्लेषण गर्दा भने चिनियाँ प्रशासनले ठूलो सङ्ख्यामा मृतकको शवलाई जलाएको हुनसक्ने विश्लेषण गरिएको छ ।त्यस्तै चीनमा सुरु भएको कोरोनाभाइरसले ठूलो मानवीय क्षति पुर्याईरहेको छ ।
प्रकोप घट्नुको साटो बढ्दै गइरहेको छ जसले चिनियाँ अर्थतन्त्रमा पनि क्षति पु¥याउन सुरु गरेको छ । अब विस्तारै प्रकोपबाट विश्वव्यापी रुपमै व्यवसायमा असर पर्न देखिन थाल्ने विज्ञले बताएका छन् । वर्षौँदेखि विश्वभरका निर्माण कम्पनी आफ्नो निर्माण श्रृङ्खलालाई चलायमान राख्न चीनमा निर्मित पार्टपुर्जामा निर्भर हुदै आएका थिए ।कोरोनाभाइरसको प्रकोपको कारण आगामी हप्ता चीनमा रहेको पार्टपुर्जा निर्माण संयन्त्र बन्द रहने अवस्था सिर्जना हुँदै गएको अवस्थामा त्यसले विश्वभरका उद्योगनै ठप्प हुने आशङ्का गरिदैछ ।यसको प्रभाव महसुस गर्ने पहिलो क्षेत्र सवारीसाधन निर्माण संयन्त्र हुनसक्छन् । यसको कारण एउटा चिनियाँ पार्टपुर्जा उद्योग निक्कै विशाल रहनु र अर्को ९९ प्रतिशत पाटपुर्जा हुँदा पनि एउटा सवारी पूर्ण नमानिनु हो । ‘एउटा पार्टपुर्जा मात्र नहुँदा पनि सम्पूर्ण निर्माण लाइन नै अवरुद्ध हुन्छ,’ जनरल मोटर्सका इण्डोनेशियास्थित इकाईका पूर्व–प्रमुख माइक डूनले भने ।डूनका अनुसार विगतका पनि यस्ता धेरै उदाहरण देखिएका छन् ।
आपूर्ती संयन्त्रमा आगजनी वा प्राकृतिक प्रकोप हुँदा विश्वभरका सवारी निर्माण संयन्त्र प्रभावित भएका छन् । तिनको तुलनामा कोरोनाभाइरसले पार्ने असर झनै बढी हुनसक्छ । चीन गाडीको पार्टपुर्जाको ठूलो निर्माता हो । संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार सन् २०१८ मा मात्र उसले झण्डै ३५ अर्ब डलर बराबरको पार्टपूर्जा निर्यात गरेको थियो ।यिनको केही हिस्सा ‘रिटेल स्टोर’मा जान्छ भने बाँकी ठूलो अंश कार निर्माण हुने एलेम्ब्ली लाइनमा जान्छ । केही विज्ञले पाटपुर्जाको अभावको सम्भावित खतरा सोचिएभन्दा ठूलो हुन सक्ने बताए । किनकि चीनमा बन्ने नट, बोल्टजस्ता धेरै पार्टपुर्जालाई बम्पर वा इन्जिन पिस्टनलाई जस्तो पार्टपुर्जाको दर्जा दिइँदैन ।उदारणको लागि विश्व वाहन निर्माण श्रृङ्खलामा कुनै अर्को देशमा बन्ने पार्टपुर्जाका लागि पनि चीनमा बन्ने नट बोल्टको प्रयोग भइरहेको हुन्छ ।
तिनको अभावमा ती पार्टपुर्जासमेत बन्दैनन्, त्यसले थप असर गर्नेछ । आपुर्तिमा अवरोध आइरहेको अवस्थामा पार्टपुर्जाको विकल्प पाउन पनि कठिन रहेको ‘सेन्टर फर अटोमोटिभ रिसर्च’का उपाध्यक्ष क्रिस्टिन जीक्जेकले भनिन् । यसको असर कहिलेबाट देखिन थाल्छ भन्न कठिन छ,’ उनले बताइन्, ‘यो हप्ता चीनमा पाटपूर्जा निर्माण भएन भने फेब्रुअरीको अन्त्यसम्ममा विश्वव्यापी असर देखिने आस गर्न सकिन्छ । सबै गाडी निर्माता अहिले यो अवस्थासँग कसरी सामना गर्ने भनेर चिन्ता गर्न थालेका छन् । तर चीन यति ठूलो छ कि तिनको प्रभाव पन्छाउन सम्भव छैन । चिनियाँ बजारलाई लक्षित वाहन एसेम्ब्ली लाइन अहिले बन्द छन् र ती चिनियाँ बजारका लागि हुन् । विस्तारै अन्यत्रका संयन्त्रमा पनि यो समस्या फैलिन थालेको छ ।
हुण्डाईले दक्षिण कोरियामा रहेको आफ्नो एसेम्ब्ली लाइन बन्द गर्यो। उक्त संयन्त्र कोरोनाभाइरसको डरले नभएर चीनबाट आउने सामाग्री बन्द हुँदा अफ्ठ्यारो उत्पन्न भएपछि बन्द गरेको हो । त्यस्तै निसानले चिनियाँ पार्टपुर्जाको अभावमा जापानको क्युशुस्थित उसको संयन्त्रमा ‘उत्पादन मिलान’ गरेको छ । फ्रेन्च कार निर्माता रेनोको दक्षिण कोरियाली कार निर्माणस्थल, फियाट चिस्लरको युरोपस्थित एक संयन्त्र यस्तै खतरामा परेको छ । अन्य गाडि निर्माताले चीनको अवस्थालाई नजिकबाट नियाली रहेको र चीनको अवस्थाले तिनको विश्वव्यापी अपरेसनलाई के असर पार्छ अहिले नै भन्न नसकिने बताएका छन् । परिस्थिति निक्कै तरल छ,’ जीएमका प्रमुख कार्यकारी अधिकृत म्यारा बार्राले लगानीकर्तासँगको कुराकानीमा भनिन् । विज्ञले यस अघिनै विश्वव्यापी गाडि निर्मातामा कोरोनाभाइरसको प्रभाव किन देखिएन भन्ने प्रश्नको पनि जवाफ दिएका छन् । तिनका अनुसार चिनियाँ पार्टपुर्जा संयन्त्र चीनको नयाँ वर्षको अवसरमा बन्द हुने पहिलेनै तय भएकाले अतिरिक्त सामाग्री निर्माण भएका थिए । तर अब ती सामाग्री सकिँदै गएको र नयाँ निर्माण नभइरहेको अवस्थामा अफ्ठ्यारो उत्पन्न भएको छ ।