Aamsanchar

सुस्त कन्ट्याक ट्रेसिङ

Author Image
सोमवार, चैत १७, २०७६

४ चैतमा फ्रान्सबाट दुबई हुँदै १९ वर्षीया किशोरी नेपाल आइन् । फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीलाई त्यहाँ पुगेको दोस्रो दिनमै कोरोना संक्रमण भएको पुष्टि भयो । त्यही खबरले ७ गते टेकु अस्पताल पुगेकी उनले आफूमा कोरोना संक्रमण भएको थाहा पाउन थप तीन दिन कुर्नुपर्‍यो ।

यो अवधिमा संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको सम्पूर्ण विवरण सरकारसँग भइसक्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । उनीहरुलाई मापदण्ड पुगेको क्वारेन्टाइन स्थलमा राखेर कोरोना परीक्षण गर्न नमुना लिइसक्नुपर्ने थियो ।

दोस्रो, केस भेटिएको दुई दिनपछि धादिङका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण देखियो । उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । त्यहाँबाट गएर होटलमा बसे, उनी परीक्षणअघि नै धादिङसम्म पुगे । यो अवधिमा उनले क–कसलाई भेटे भन्ने पत्तो छैन ।

त्यसैगरी, चैत ६ गते नै दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् भारतको राजधानी नयाँदिल्ली र भोलिपल्ट काठमाडौं आएका धनगढीका एक पुरुषमा १३ चैतमा कोरोना संक्रमण देखियो । धनगढीको प्रादेशिक अस्पतालमा उपचाररत उनी काठमाडौं आएको भोलिपल्ट बुद्ध एयरबाट नेपालगञ्ज पुगेका थिए । त्यहाँबाट सार्वजनिक बस चढेर धनगढी पुगेका उनी ११ गते अस्पताल पुगे । उनलाई कोरोना संक्रमण भएको रिपोर्ट दुई दिनपछि आयो ।

दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरको फ्लाइट यूके १५५ मा उनीसहित एक सय ३० यात्रु थिए । यस्तै, काठमाडौंबाट नेपालगञ्ज जान उनले चढेको बुद्ध एयरको विमानमा कुल ६५ जना यात्रु थिए । नेपालगञ्जबाट उनी धनगढी जान चढेको सार्वजनिक बस र त्यसपछि भएको भेटघाटको पनि कुनै हिसाब छैन ।

पाँचौं केस, बेल्जियमबाट आएकी बागलुङकी युवतीमा संक्रमण देखियो । उनी दोहा हुँदै आएको त्यही विमानमा थिइन्, जुन विमानमा भएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । काठमाडौंबाट यती एयरलाइन्सको विमान चढेर उनी पोखरा पुगेकी थिइन् । पोखरामा पुगेर उनी आफन्तकहाँ बसिन् र माइक्रोबस चढेर बागलुङ पुगिन् । घरमा पुगेर पनि उनी क्वारेन्टाइनमा बसिनन्, गाउँबजार आउजाउ गरिरहिन् ।

माथि उल्लेख गरिएका चार वटा केस नेपालमा पछिल्लो ६ दिनमा देखिएको संक्रमित व्यक्तिहरुको गतिविधि हो ।

तर, उनीहरु विदेशबाट नेपाल आउँदा कुन विमानमा आएका थिए र त्यो विमानमा कति यात्रु थिए भन्नेबाहेक अरु सम्पर्कबारे स्वास्थ्य मन्त्रालय बेखबर छ ।

जबकी यो अवधिमा संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको सम्पूर्ण विवरण सरकारसँग भइसक्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

उनीहरुलाई मापदण्ड पुगेको क्वारेन्टाइन स्थलमा राखेर कोरोना परीक्षण गर्न नमुना लिइसक्नुपर्ने थियो । कसैको पोजेटिभ रिपोर्ट आए यसरी नै उसको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्ने, परीक्षण गर्ने काम गर्नुपर्ने हो ।

तर, अहिलेसम्म स्वास्थ्य मन्त्रालयका अधिकारीले विदेशबाट नेपाल आउने क्रममा विमानमा रहेकामध्ये अधिकतमसँग सम्पर्क भयो, उनीहरुलाई होम क्वारेन्टाइनमा बस भनेका छौं मात्र भनिरहेको छ ।

एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘यही लापरवाहीको कारण गम्भीर अवस्था सिर्जना हुनसक्छ ।’  श्रोत : अनलाइन खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर