काठमाडौं । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो । प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो ।
जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालसहित चौधरी ग्रुप, नर्भिक अस्पताल र अन्य मेडिकल सप्लायर्सका सामग्री थिए । यद्यपि, अधिकांश सामाग्री शंकर ग्रुपकै थियो ।
ती सामग्री आउने बित्तिकै कालोबजारी गरेर बिक्री हुनसक्ने आशंका सुरक्षासम्बद्ध अधिकृतहरुले गरेका थिए । जसअनुसार प्रहरीका विभिन्न इकाइ चनाखो बनेका थिए । यहीबीच आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नयाँ नम्बरबाट सम्पर्क गरेर ‘थर्मल गन’ खरिदका लागि प्रस्ताव गर्यो ।
अग्रवालले ‘ग्रीन सिग्नल’ दिएपछि महाशाखाले प्रहरी उपरीक्षक (एसपी) हृदय थापाको कमाण्डमा एउटा टोली नै तयार ग¥यो । जसले हाइ–प्रोफाइल व्यवसायीको कालोबजारी धन्दाको पटाक्षेप गरेको छ । टोलीकै कोभर्ट अपरेशन (छद्म भेषमा गरिने प्रहरी कारबाही) पछि अग्रवाल अहिले हिरासतमा पुगेका छन् । उनको साथबाट प्रहरीले ६८ वटा थर्मल गन (थर्मोमिटर) बरामद गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा बताउँछन् ।
नक्कली परिचय पत्रको भर पर्दा
सामान बिक्री गर्ने संकेत पाएर व्यापारीको भेषमा डिल गर्न थालेका प्रहरीसँग प्रारम्भमा अग्रवालले शंका गरेका थिए । छद्म भेषधारी प्रहरीले विभिन्न गाउँपालिका र नगरपालिकाका लागि स्वास्थ्य सामग्री चाहिएको भनेका थिए । तर, अग्रवाल सजिलै आश्वस्त भएनन् । उनले स्वास्थ्य सामग्री विक्रेता भएको आधार मागे ।
अनुसन्धान अधिकृतले पनि केहीवेरमै कम्प्युटरबाट ‘मेडिकल किट सप्लायर्स’ लेखिएको परिचय पत्र डिजाइन गरे । ह्वाट्स एपमा परिचय पत्र पठाएपछि अग्रवालसँग खरिदकर्ताको भेषमा प्रहरीले थप बार्गेनिङ थालेका थिए ।
उनले फोनमै १६ हजारको दरले थर्मल गन दिने बताएका थिए । तर, भुक्तानी नगदमै हुनुपर्ने अग्रवालको भनाइ थियो ।
‘हामीले महँगो भयो भनेपछि एक हजार रुपैयाँसम्म घटाउन सक्ने भनेका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसपछि सामानको कम्पनी, प्रकृति र स्याम्पल फोटो पनि मागेका थियौँ ।’ उनका अनुसार प्रारम्भमा चेकमार्फत रकम दिने भनिएको थियो । तर, अग्रवालले मानेनन् ।
त्यसैले, सोमबार हुने भनिएको खरिद प्रहरीले मंगलबारलाई सारेको स्रोत बताउँछ । एक सय वटा थर्मल गन मागे पनि पर्याप्त नगद देखाउन नसकेकाले प्रहरीको अपरेसन रोकिएको थियो ।
स्रोतका अनुसार मंगलबार १० लाख रुपैयाँ जम्मा गरेर प्रहरी अधिकृतले थप रकम चेकमा दिने गरी बार्गेनिङ गरेका थिए । तर, अग्रवालले स्वीकार गरेनन् । अन्तिममा ६८ वटा मात्र थर्ममिटर खरिद गर्ने टुंगो लाग्यो । एक सय वटा खरिदका लागि अग्रवालले १५ लाख रुपैयाँ मागेका थिए ।
‘अग्रवालले हामीलाई नक्साल बाल मन्दिर अगाडि बोलाए । उनको कार्यालय पनि त्यहीँ थियो’, महाशाखा स्रोतले भन्यो, ‘हामी पनि सिभिल गाडीमा प्लस चिन्ह लगाएर मेडिकल सप्लायर्स लेखेर गएका थियौँ ।’
अग्रवालभन्दा अगाडि प्रहरी उनले बोलाएको ठाउँमा पुगिसकेको थियो । जब उनले थर्मल गन निकाले तब अधिकृतहरुले प्रहरी भएको बताए । त्यसपछि अग्रवाल झस्किए ।
हडवडीमा उनले आफू कुटनीतिक नियोगको मानिस भएको बताउँदै आफूलाई प्रहरीले कारबाही गर्न नसक्ने बताए । प्रहरीलाई गाली गर्न थाले । त्यसक्रममा प्रहरी अधिकृत आएको गाडीको सिसा पनि उनले फुटाइदिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
गलत व्याख्या गरेर नीलो नम्बर प्लेटको दुरूपयोग
अग्रवालसँग डिलिङ भइरहँदा उनी कुटनीतिक नियोगसँग पनि सम्बन्धित व्यक्ति हुन् भन्ने थाहा नभएको अनुसन्धान अधिकृतहरुको दाबी छ । उनी नीलो नम्बर प्लेटमा २०९ एचसीसी १ लेखिएको गाडीमा चढेर आउलान् भन्ने पनि अधिकृतले कल्पना गरेका थिएनन् ।
सामान्यतयाः कुटनीतिक नियोगको गाडीमा सुरक्षाकर्मीले चेकजाँच गर्दैनन् । यही कुराको फाइदा उठाएर उनले नीलो नम्बर प्लेटको गाडीबाटै कालोबजारी गर्ने प्रयास गरेका थिए । तर, एउटा कानुनी प्रावधानमा भने प्रहरी पनि जानकार देखिँदैनन् ।
परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ गहेन्द्रराज भण्डारीका अनुसार वाणिज्य दूत भनेको सम्बन्धित राष्ट्रले सिफारिस गरेर दिने पद हो । र, यो पदधारण गरेका व्यक्तिले वाणिज्य दूत जस्तो सुविधा पाउँदैनन् । उनका अनुसार गाडीमा एचसीसी (अनरी) लेखिएको सवारी चलाउनले व्यक्तिले कुनै कूटनीतिक छुट प्राप्त गर्दैनन् । निजी सवारीसाधनलाई नै आफ्नो कार्य अवधिसम्म एचसीसी लेखेर नीलो प्लेट राख्न पाइन्छ । पूर्ण कुटनीतिक सुविधा प्राप्त गर्नेको गाडीमा सीडी उल्लेख हुने भण्डारी बताउँछन् ।
अग्रवाल भने एचसीसी लेखिएको नम्बर प्लेटको गाडी लकडाउनका वेला पनि सवारी पासविनै चलाइरहेका थिए । परराष्ट्र स्रोतका अनुसार अग्रवाललाई कीर्गिस्तानले अवैतानिक महावाणिज्य दूतको पद दिएको सन् २०१९ अगस्ट १९ मा हो । उनलाई तीन वर्षे कार्यकालका लागि यो सुविधा दिइएको हो। यो पदको धारण गरेपछि उनले नेपालमा समस्यामा पर्ने कीर्गिस्तानी नागरिकलाई सहयोग र समन्वय गर्छन् ।
नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी कुटनीतिक नियोगको गाडी दुरूपयोग भएको घटनाले विभिन्न आवरणमा हुने अपराधको एउटा प्रवृत्ति उजागर गरेको बताउँछन् । ‘यसले मुलुकका ठूलो व्यापारिक घरानाप्रति समाजको धारणा नकारात्मक त बनायो नै साथमा काउन्सिलरको छविलाई पनि धमिल्याएको छ’, ठकुरीले भने ।
यसअघि २०६३ सालमा कुटनीतिक नियोगको नम्बर प्लेट प्रयोग गरेर रक्तचन्दन तस्करी हुने गरेको भेटिएको थियो । त्यसयता विभिन्न समयमा कुटनीतिक निकोगको गाडी दुरूपयोग हुनसक्ने आशंका गरिए पनि प्रहरीले यथेष्ट प्रमाण फेला पार्न सकेको थिएन।
अनलाइन खबरबाट साभार गरिएको