बिर्तामोड । विश्व कोरोना भाइरस महामारीका कारण ५१ औ दिनदेखि देशभर जारी लकडाउन बुधवारबाट कडा गरिने भएको छ । मंगलवार एकै दिन ८७ जना संक्रमित भेटिएपछि सरकारले लकडाउनलाई कडा पार्ने भएको छ । यो समाचार तयार पार्दासम्ममा देशभर २ सय १७ जना संक्रमित रहेको छन् ।
केहीदिनदेखि केही खुकुलो पारिएको लकडाउन कोरोना संक्रमित वढ्न थालेपछि अझ कडा गरिने भएको हो । अर्जुनधारा नगरपालिकाको आयोजनामा बुधवार बसेको सर्वपक्षीय बैठकले विभिन्न ५ सुत्रिय निर्णयहरु गरेको छ ।
आगामी ज्येष्ठ ५ गते सम्म अत्यावश्यक सेवा सम्बन्धि कामकाज बाहेक अन्य कामकाजका लागि आवागमन बन्द गर्ने, ज्येष्ठ ६ गतेबाट समेत यस नगरपालिकामा अत्यावश्यक सेवा सम्बन्धि कामकाज बाहेक अन्य प्रयोजनका लागि अन्य स्थानीय तहहरुबाट आवातजावत गर्न सवारी साधन सञ्चालनका लागि साप्ताहिक रुपमा सडकहरु मात्र प्रयोग गरिने निर्णय गरिएको छ । पहिलो हप्ता शहिद राजन गिरी मार्ग, दोश्रो हप्ता चारपाने नारायण चौक सडक, तेश्रो हप्ता शनिश्चरे विर्तामोड सडक र चौथो हप्ता शनिश्चरे सालवाडी बुट्टाबारी सडक खण्ड प्रयोजन गरिने भएको छ ।
त्यसैगरी निर्माण कार्य सम्बन्धि कामकाजका लागि लकडाउनको समयमा अन्य स्थानीय तहहरुबाट आएका मजदुरहरुलाई उनीहरुको स्थायी ठेगानामा फिर्ता पठाउने, नगरपालिकाको योजना सञ्चालन सम्बन्धि प्रशासनिक कामकाजलाई व्यवस्थित गर्नका लागि उपभोक्ता समितिले आवश्यक कागजात सम्बन्धित वडा कार्यालयमा बुझाउने र वडाका जनप्रतिनिधिले नगरपालिकामा पेश गर्ने र टोल सुरक्षा सम्बन्धि कार्यलाई थप प्रभावकारी बनाउनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुका शिक्षकहरुलाई समेत परिचालन गरिने निर्णय भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।