
मास्क उपहार दिएर लगाउन आग्रह गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजाल ।
बिर्तामोड । लकडाउन खुकुलो भए संगै सर्वसाधारणले मास्क, सेनिटाइजर लगाउनु पर्ने र भौतिक दुरीमा रहनु पर्ने सामान्य स्वास्थ्य मापदण्डलाई पालना गर्न छोडेका छन । नेपालमा कोरोना देखा नपर्दा नागरिकहरुले बढी मुल्य तिरेर मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामान खरिद गरेर कालोबजारी गर्नेलाई पनि सजिलो बनाई दिएका थिए । आज सम्म आईपुग्दा नेपालमा १६ हजारको हाराहारीमा संक्रमित देखा परिसकेछन् । कोरोनाकै कारण ३५ जनाले मृत्यु वरण गर्नु परेको छ । यो वेला अझ सचेत र सम्वेदशिल बन्नु पर्ने हुन्छ तर धेरै नागरिकहरु खासै स्वास्थ्य प्रति सम्वेदनशिल बन्न छोडेको अवस्थालाई नियमन गराउन इलाका प्रहरी कार्यालय अनारमनीले मास्क नलगाई हिड्नेलाई कारबाही शुरु गरेको छ ।
कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले मास्क नलाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै प्रहरीले कारबाही प्रक्रिया शुरु गरेको छ । मंगलबार पहिलो दिन भएकाले सम्झाउने तथा मास्क लगाउन अनुरोध गरेको र भोलीबाट कानुनी कारबाही गर्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
उनका अनुसार आज पहिलो दिन मास्क नलगाई हिडेका दुई सयभन्दा बढीलाई २० मिनेट होल्ड गरेर सम्झाउने काम गर्नुका साथै मास्क वितरण गरिएको छ । भोलीबाट कारबाही प्रक्रिया शुरु गर्ने बताइएको छ ।


सोमबार एक सुचना जारी गर्दै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यदी मास्क नलाई घर बाहिर निस्कीएको पाए जो कोहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताइएको छ । कोरोना संक्रमण दर नेपालमा दिनदिनै बढ्दै गएपछि यसको न्यूनीकरण तथा नियन्त्रणमा लागि यस्तो नियम लागू गरिएको गृहमन्त्रालयले जनाएको छ ।
सरकारले लडकडाउन जारी गरेको ३ महिना बितिसक्दापनि कोरोना न्यूनिकरण तथा रोकथाम हुन सकैको छैन। सामाजिक दुरी कायम गर्दै आफ्नो दैनिकी संचालन गर्न छुट सरकारले दिएपनि पनि पूर्ण रुपमा लकडाउन खोलेको छैन । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र बजार तथा सडकमा मास्क नलाउनेहरु बढ्दै गएपछि गृह मन्त्रालयले कडा निर्देशन दिएको हो ।
गृहको निर्देशन लगत्तै कडाई शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूले बताए । उनले सवारी सञ्चालन तथा सडकमा पैदल यात्रा गर्दा मास्क नलगाए कारबाही गर्ने उल्लेख गरे ।


