बिर्तामोड । नेपाल आयल निगमले झापा र धनुषामा निगमको आफ्नै एलपीजी बोटलिङ प्लान्ट निर्माण गर्ने भएको छ । सिलगुडी–झापा पेट्रोलियम पाइपलाइनसँगै निगमले एलपी ग्यास बोटलिङ प्लान्ट पनि स्थापना गर्ने भएको हो ।
झापाको चारआलीमा रहेको जग्गामा पेट्रोलियम भण्डारण गृह र ग्यास बोटलिङ प्लान्ट निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतको सिलगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउन सर्भेको टेण्डर आहृवान गरिएको बताए ।
झापमा पाइपलाइनसँगै भण्डारण गृह निर्माण भए ५० देखि ६० हजार किलोलिटरको इन्धर भण्डारण गर्न सकिने निगमको विश्वास छ ।
झापाको चारआली र धनुषाको महेन्द्रनगरमा आफ्नै भण्डारणसहित ग्यास बोटलिङ प्लान्ट निर्माण गर्न ठेक्काको प्रक्रिया अघि बढेको छ । उक्त पूर्वाधार निर्माणका लागि डीपीआर बनाउन परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।