बिर्तामोड । एकका लागि एक अभियान अन्तरगत समुदायबाट सङ्कलित रकमले कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्ने पिसिआर मेशीन खरीद गरिएको छ ।
प्रयोगशालामा प्रयोग हुने उपकरणहरु आजबाट जडान गर्न शुरु गरिएको हो ।
कोभिड–१९ को महामारी अवस्थालाई मध्यये नजर गर्दै शुरु गरेको ‘एकका लागि एक अभियान’ बाट संकलित रकमबाट मेशीन खरीद गरिएको हो ।
मुलुकमै समुदायबाट स्थापना गर्न लागिएको यो पहिलो पिसिआर ल्याब हो । यसका लागि नागरिकहरुबाट एक करोड २० लाख बराबर रकम जुटेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ल्यावका लागि साझेदार संस्था अन्तरराष्ट्रिय झापाली समाज, बाट रु २५ लाख योगदान भएको छ ।
“सम्पूर्ण उपकरण आइपुगेको छ”, एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने, “आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरु हुनेछ ।” अभियानले पिसिआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताए । प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश नं १ सरकारलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ । प्रदेश नं १ मै झापामा कोडिभ–१९ का सङ्क्रमित ज्यादा भए तापनि सङ्क्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो ।
अभियानका सदस्य सजेश शिवाकोटीले कोटेशन प्रक्रियाबाट काठमाडौँको जयश्री श्याम कम्पनीबाट पिसिआर ल्याबका उपकरण आयात खरीद गरिएको बताए । उपकरणमा रु ८५ लाख खर्च भएको र ल्याबरुमका लागि आवश्यक अन्य उपकरणमा अरु रकम लाग्ने जनाइएको छ । पिसिआर ल्याबको मुख्य यन्त्र अमेरिका र अन्य उपकरण भारतमा बनेको उनले बताए । उपकरण जडानका लागि काठमाडौँबाटै इञ्जिनीयर आएका छन् ।