Aamsanchar

 ‘’यूएईबाट रवीन्द्र मिश्रलाई प्रकाशको प्रश्न: नयाँ पार्टी किन चाहियो ?’’ 

Author Image
शुक्रवार, चैत ४, २०७३

  [प्रकाश सिग्देल]

रवीन्द्रजी, नमस्कार !

पछिल्लो समय सामाजिक सञ्जालका भित्तामा देशमा नयाँ पार्टी खुलेको विषय निकै चर्चामा रहेको छ । लाखौंको जागिर छाडेर देशलाई नेतृत्व दिन आएका व्यक्ति र अरु राम्रो नाम चलेका मानिसहरु मिलेको पार्टी खुल्दा धेरैको आशा चुलिएको छ । राजनीतिमा राम्रा मान्छेहरुको आगमनले अब देशमा केही हुन्छ कि भनेर देश-विदेशमा चर्चाको विषय बनेको छ ।

प्रवासको तातो घाममा १२ घण्टा  काम गरेर लखतरान अवस्थामा कोठामा प्रवेश गर्न साथ राजनीतिक दल र नाम चलेका केही व्यक्तिहरुबारे वादविवाद सुरु हुने गर्दछ । कोही भन्छन, जुन जोगी आए पनि कानै चिरेका ! कोही भन्छन, रवीन्द्र मिश्र त परोपकारी काम गरिरहेको मान्छे भएकाले जनताको पीर-मर्का बुझ्लान ! कोही सिके राउतले देश टुक्र्याउन आट्यो भनेर चिन्ता मान्छन त कोही बाहुनले देश बेचेर सके भन्दै सत्तोसराप गर्छन । कोही अब देशमा राजाको शासन फर्किन्छ भनेर कराउँछन । कोही चाहिँ कुनाबाट फुसफुसाउँदै अब सैनिक शासन सुरु हुन्छ, पूर्व प्रधान न्यायाधीशहरुको मिटिङ हुन थालिसक्यो भन्छन ! यस्तो चर्चा, बहस र धारणा राख्ने काम सामाजिक सञ्जाल र हाम्रो कोठे जमघटमा मात्र सीमित छैन । यहाँ च्याउसरि खुलेका सामाजिक संघसंस्थाहरुको हरेक कार्यक्रममा यी र यस्तै राजनीतिकै विषयमा कुरा शुरु हुने गर्दछ ।

म यूएई आएको आठ वर्ष भयो । यो बीचमा त्यस्तो कुनै दिन छैन,जुन दिन  नेपालको राजनीतिको बारेमा कसैले गफ नगरेको होस । तर, जिन्दगीमा कसरी अगाडि बढ्ने, स्वदेश फर्किएपछि यहाँ सिकेका सीपहरु कसरी सदुपयोग गर्ने भन्ने बारेमा कसैको पनि ध्यान गएको देखिदैन । राजनीतिले परदेशमा बस्ने नेपालीहरुमा पनि नराम्रो बीउ रोपेको छ । यहाँ खुलेका संघ-संस्था पनि पार्टीको राजनीतिबाट प्रभावित छन । यी त भए मैले विगत आठ वर्षमा नेपाली समुदायमा देखेको राजनीतिक प्रभावको कुरा । अब म तपाईंतर्फ फर्किन चाहन्छु ।

रवीन्द्रजी,

नयाँ खोलिएको साझा पार्टीमा प्रवेश गर्न तपाईंको फेसबुकमा खुला आह्वान गरिएको देखेको थिए । तपाईंले इकाईहरु गठन गरेर फोटोसहित सम्पूर्ण विवरण दिन इमेल र सम्पर्क नम्बर उपलब्ध गराउनु भन्नुभएको रहेछ । तपाईंलाई थाहा छ कि छैन, मैले काम गर्ने देशमा यस्तो पार्टीगत संघ-संस्था खोलेको यहाँको प्रशासनले थाहा पायो भने चर्को जरिवाना देखि लिएर जेल सजाय सम्म हुन्छ । किनकि त्यस्ता गतिविधि यहाँको कानुनले प्रतिबन्ध गरेको छ । राजनीतिक संगठनमा लागेमा १२ घण्टा दुःख गरेर परिवारको लागि दुई छाक जुटाउन आएकाहरुको सपना त्यत्तिकै तुहिन सक्छ । त्यसैले खुला पार्टीका इकाई खोल्न यसरी विदेशमा रहेका नेपालीहरुलाई आग्रह नगरिदिनुहोला । किनकि देशमा फोहोरी राजनीतिले गरिखाने बाटो बन्द भएपछि विदेशमा आएकाहरुलाई तपाईंहरुले राजनीतिको बीउ रोपिदिनुभयो भने उनीहरु घर न घाटको अवस्थामा पुग्नेछन ।

तपाईंलाई मेरा केही प्रश्नहरु छन । नेपालमा च्याउसरि पार्टीहरू छन । तपाईंले साँच्ची नै नेपाल र नेपालीहरुको हित गर्न खोज्नुभएको हो भने अहिले भएका पार्टीहरु मध्ये कुनै एकमा किन प्रवेश गर्नुभएन ? तपाईंसँग धेरै राम्रा विद्वान् व्यक्तिहरु रहेछन्, उनीहरुलाई लिएर अहिले भएकै पार्टीमा गएर पार्टी सुधार्ने पहल किन गर्नुभएन ? त्यस कारण तपाईंहरुको कदमलाई म ठीक भन्न सक्दिनँ । ल मानौं, तपाईंका अनुसार अहिले देशमा रहेका पार्टीहरु सबैमा खोट छ रे । तपाईंले खोल्नुभएको पार्टीमा अब आउने मान्छेहरु सबै राम्रा नै हुन्छन् भन्ने के ग्यारेन्टी छ ? किनकि पार्टीमा आउन खुला आह्वान गर्दा राम्रासँगै नराम्रा मान्छे पनि आउने पक्का छ ।

अबको समयमा तपाईंहरु जस्ता पढेलेखेका मानिसहरुले नै देश बिगारेको भन्न पछि नपर्ने दिनहरु आउन सक्नेछन । किन भन्नुहोला, बाबुराम भट्टराईजीले पार्टी खोल्नुभयो, उहाँको आफ्नै भिजन । विवेकशील नेपालीको आफ्नै भिजन । यस्तै, कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी आदि दलहरु । देशमा भए जति पार्टीको आ-आफ्नै भिजन ? यी थरीथरी भिजनहरु केलाउँदा राष्ट्रिय मुद्दामा मिलनविन्दु देखिँदैन । यस्तो अवस्थामा च्याउसरि पार्टीमा थप संख्या बढाउन लाग्ने कि घटाउन ? अहिलेका राजनितिक दलको बिकल्प जुनसुकै पार्टी जोसुकैले खोले नि त्यो सम्भव छैन किन कि यिनिहरुको धरातल र सन्जाल बलियो छ जो तपाँइले पनि पक्कै बुझ्नुभएको नै छ  ।

तपाईंले गठन गरेको नयाँ साझा पार्टीको प्रचारप्रसार र विस्तार गर्न अझै एक-दुई वर्ष लाग्नेछ । फेरि अरु कसैले अर्को पार्टी खोल्ला । यस्तो क्रम कहिले रोकिन्छ ? विविध पार्टीमा नेपाली जनताको भोट यत्रतत्र फैलिँदा देशमा कुनै पार्टीको बहुमत आउँदैन र कसैको पनि स्थिर सरकार हुँदैन । जसको कारणले देश झन-झन आन्दोलनको भुमरी र  अस्थिरतामा फस्दै जानेछ । सँगै रविन्द्रजी तपाँईले पार्टी खोल्नुको पछि केहि रहस्यको पाटो पनि बन्न सक्छ हेर्दा नयाँ देखिए पनि घुमाउरो गरि जनता बिभाजित हुनु भनेको देशको निमित्त राम्रो होइन किन कि यसबाट देश अस्थिर हुन्छ, भारतले खेल्ने ठाउँ पाउँछ ।

अन्य विदेशी शक्तिहरुले पनी हाम्रो देशमा खेलिरहेको कुरामा त तपाईं पनि अनविज्ञ हुनुहुन्न होला । विदेशी चलखेलले राजनीतिक दलहरु कठपुतली बन्दा देशमा अमनचैन आउने सम्भावना झन् टाढिँदै गएको छ । यस्तो फोहोरी राजनीतिबाट नेपाली जनताले कहिले मुक्ति पाउने ? कतै भारत कै इशारामा यो भएको त छैन प्रशन हुन सक्छ ? जसरी हिजो बाबुरामले नयाँ शक्तिको हवला दिए आज पुष्टि हुँदैछ र रक्षात्मक अवस्थामा उपेन्द्र सँग एकता गरेर अस्तित्व बचाउन खोज्दैछ्न ।

म आठ वर्षदेखि यसरी यूएईमा आएर काम गर्नु रहर नभई बाध्यता हो हामी नेपाल फर्केर ढुक्कले कुनै व्यापार-व्यवसाय गर्ने वातावरण कहिले हुन्छ ? यसरी समयसँगै नयाँ पार्टीहरु खुल्नुलाई नै हामीले उपलब्धि मान्ने हो भने अर्कै कुरा होला । अन्त्यमा, पार्टी त खोलिहाल्नुभयो, तपाईंको पार्टी भने अरु जस्तो जनतालाई उपेक्षा गरी मुठीभरको स्वार्थ पूर्ति गर्ने खालको नहोस । विदेशमा रहेका नेपालीहरुलाई इकाई खोल्न तपाईंले गर्नुभएको आह्वानलाई फिर्ता लिई उनीहरुलाई काम गरेर खान दिनुहोला । कुनै दिन देशमा शान्ति र स्थायित्व आए उनीहरुले यहाँ सिकेका सीप नेपालमा प्रयोग गरेर देश विकासमा महत्वपूर्ण भूमिका खेल्नेछन ।

कन्काई नगरपालिका सुरुंगा, झापा

हाल: अबुधाबी, यूएई ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर