Aamsanchar

एसिया कप क्रिकेट : नेपाल सेमिफाइनलमा, भारत बाहिरियो

Author Image
मङ्गलवार, कार्तिक २८, २०७४

झापा ।

भारतलाई हराएर सन्ननी मच्चाएको नेपाललाई भाग्यले पनि साथ दिएपछि एसीसी अण्डर–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल इतिहास रच्दै पहिलो पटक एसियाकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेसँगै नेपाल समुह एको उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । सतप्रतिशत नजिता निकालेको बंगलादेश ६ अंकसहित समुह विजेता बन्दा नेपाल ४ अंकमा उपविजेता बनेको हो ।

अन्तराष्ट्रिय क्रिकेटमा भारतलाई पराजित गर्दै सनसनी मच्चाएको नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा मंगलबार मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । आयोजक मलेसिया अंकविहीन हुँदा भारतले २ अंकमात्र जोड्न सक्यो । समुह बीबाट अफ्गानिस्तान र पाकिस्तान सेमिफाईनल प्रवेश गरेका छन् । श्रीलंकासँग समान चार अंक भएपनि रन रेटका आधारमा आफ्गानिस्तान समुह विजेता बन्यो भने उपविजेता बन्दै पाकिस्तानले सेमिफाइनलमा स्थान बनायो । यसअघि क्वालालाम्पुरस्थित बायोमास क्रिकेट मैदानमा आयोजक मलेसियाले दिएको ४६ रनको सामान्य चुनौती नेपालले ५ ओभर ३ वलमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालको जीतमा दिपेन्द्र सिंह ऐरीले १२ र आसिफ सेखले ४ रनको योगदान गरे । ओपनर अनिल कुमार शाह २६ र भीम सार्की ३ रनमा अविजित रहे । टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसिया १५ ओभर ३ वलमा ४५ रनमा समेटिएको थियो । बर्षाले प्रभावित भएपछि २४ ओभरमा छोट्याईएको खेलमा लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट वलिङ गर्दै ५ विकेट चट्काएपछि मलेसिया झिनो स्कोरमा समेटिएको थियो । दिपेन्द्र सिंह ऐरी र सहाब आलमले समान २–२ तथा अनिल कुमार शाहले १ विकेट हात पारे ।

यस्तै समुह ए अन्तरगत भारतले दिएको १ सय ८८ रनको लक्ष्य चार ओभर बाँकी छँदै बंगलादेशले २ विकेट गुमाएर २८ ओभरमा भेट्टाएको थियो । वर्षाले प्रभावित भएपछि ३२ ओभरमा छोट्याईएको खेलमा भारतले ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । समुह बी अन्तरगत मंगलबार नै भएको खेलमा भने अफ्गानिस्तानले यूएईलाई १ सय ३४ रनको फराकिलो अन्तरमा पराजित गरेको छ । २० ओभरमा छाट्याईएको खेलमा २ सय २५ रनको उच्च लक्ष्य पछ्याएको यूएईले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र जोड्न सक्यो ।

सन्दिप बने नायक

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । मलेसियासँगको जितमा सन्दिप लामिछानेको भूमिका निकै ठूलो रह्यो ।

वर्षाले प्रभावित भएर २४ ओभरमा झारिएको खेलमा मलेसिया १५ ओभर ३ बलमा अलआउट भयो । जसमा ४ ओभर ३ बल गरेका सन्दिप लामिछानेले मात्र ८ रन खर्चेर ५ विकेट लिए । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो ।

उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । मंगलबारबो खेलमा सन्दिप नायक बनेपछि मलेसिया उस्कै मैदानमा निरीह सावित भयो ।

प्रशिक्षक बिनोद भन्छन्

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेपछि नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गरेर सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताएका छन् ।

‘सेमिफाइनलमा पुग्नु निकै ठूलो प्राप्ती हो । हामीले निकै राम्रो खेलेका छौँ । हामीले लगातार राम्रो खेलेका छौँ । हाम्रो मेहनतले अहिले नतिजा दिइरहेको छ । परिस्थिति अलि कठीन थियो तर हामीले आफ्नो योजनाअनुसार नै काम गर्यौँ’ प्रशिक्षक दासले भने ‘मलेसियासँग सूरुमा बलिङ राम्रो हुन सकेन तर स्पीनर सुरु गर्ने वित्तिकै हाम्रो खेलमा लय फर्कियो । ब्याटिङमा आक्रामक रणनीति लिएका थियौँ । त्यसैअनुसार खेल भयो ।’

अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने पनि उनले बताए । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)