Aamsanchar

बेहुलीबाट सिन्दुर पोते फिर्ता

Author Image
बुधवार, चैत ७, २०७४

बिर्तामोड।

दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दुरदान गरेका बेहुलाले सिन्दुर फिर्ता पाएका छन् । जग्गेमा सातफेरा घुमेर सँगै मर्ने– सँगै बाँच्ने वाचा गर्दै बेहुलीको सिउँदो भरेर सिन्दुर दान गरेका वुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दुर पोते फिर्ता पाएका हुन् । गत फागुन २० गते सामाजिक परम्परा अनुसार वुद्धशान्ति गाउँपालिका–१ निवासी रेग्मीले सोही गाउँपालिका निवासी एक किशोरीसँग विवाह गरेका थिए ।

विवाह गरेको भोलिपल्टै बेहुली छाडेर भागेका राकेशलाई ती युवतीले मंगलवार सिन्दुर पोते फिर्ता दिएकी हुन् । उनले इलाका प्रहरी कार्यालय धुलावारीको हिरासतमा रहेका राकेशलाई प्रहरी कार्यालयमै पुगेर लगाइदिएको सिन्दुर पोते फिर्ता दिएकी हुन् । युवतीले फिर्ता दिएको सिन्दुर पोते बुझ्दै राकेशले ती युवतीको उज्ज्वल भविष्यको कामना गरे । उनले भने– ‘तिम्रो भविष्य सुन्दर भएको देख्न चाहन्छु ।’

बेहुली छाडेर वेपत्ता भएका राकेशलाई परिवारको सहयोगमा दुई दिनपछि प्रहरीले भारतबाट नेपाल ल्याएको थियो । शुरुमा आफूलाई अपहरण गरेर भारतको पटना पु¥याएको बताएका राकेशले पछि आफैं आफूमा शारीरिक समस्या भएपछि घर छोडेर हिँडेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको थियो ।

यता बेहुली छाडेर वेपत्ता बनेका राकेशले आफ्नी छोरीको भविष्य अन्यौलमा पारेको भन्दै बेहुली पक्षले प्रहरीलाई खवर गरेका थिए । अपहरणमा परे भनिएका राकेशलाई प्रहरीले सकुशल फेला पारेको र नाटक गरेको थाह पाएपछि उनलाई अहिले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।

यता राकेशका वुवा लालप्रसाद रेग्मीले आफ्नै छोराको शारीरिक समस्याका कारण युवतीको भविष्य अन्यौलमा परेको भन्दै उनको भरणपोषण र शिक्षाका लागि ३५ लाख रुपैयाँ दिने सहमति जनाएका थिए । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा आइतवार र सोमवार भएको बहसमा उनले यस्तो सहमति जनाएका थिए । मंगलवार भएको बहसमा बेहुलाले बेहुलीलाई उपहार दिएको सिन्दुर पोते फिर्ता गर्ने सहमति भएको र सहमति अनुसार बेहुलीले सिन्दुर पोते फिर्ता दिएको वुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिइन् ।

बेहुलाले दान गरेको सिन्दुर फिर्ता गर्न बेहुलीसहित उनकी आमा, काकी, सानीमा, सानावा र गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष भुर्तेल, न्यायिक समिति सचिव अम्विका अधिकारी, सदस्य मेनुका पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारी लगायतको टोली इलाका प्रहरी कार्यालय धुलावारी पुगेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)