Aamsanchar

ठेक्केदारको चरम लापरबार्ही, रमिते जनप्रतिनिधि / साढे पाँच करोडको स्वास्थ्य भवन गुणस्तरहीन

Author Image
बिहिवार, चैत १५, २०७४

(सुरेन्द्र भण्डारी)

​बिर्तामोड।

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको निर्माणाधीन भवन गुणस्तरहीन पाइएको छ । पाँच करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैयाँ ८७ पैसाको लागतमा दी कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाडौंले भवन निर्माण सुरु गरेका थिए ।

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६ सय ४५ रुपैयाँ ५ पैसाको अनुमानित लागतमा भवन निर्माणका लागि टेण्डर आव्हान गरेको थियो । भवन निर्माणको टेण्डर पारेर भवन निर्माण सुरु गरेको उक्त निर्माण कम्पनीले गुणस्तरहित सामग्री प्रयोग गर्दा निर्माण नसक्दै भवन भत्किन थालेपछि निर्माणाधीन भवन गुणस्तरहीन भएको पाइएको हो ।

२०७२ साल चैत १० गतेबाट निर्माण प्रारम्भ भएको भवनको २०७४ चैत १० गते निर्माण सम्पन्न गर्ने सम्झौता छ । भवन निर्माण सम्पन्नसँगै १५ शैय्याको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिने सम्झौता छ । प्राथमिक स्वास्थ्य केन्द्रको सेवा विस्तारसँगै सुरुङ्गासहित दक्षिण क्षेत्र शरणामती, टाघनडुब्बा, कुमरखोद र उत्तर तर्फका महमाई क्षेत्रका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको थियो । तर, निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गर्दा निर्माणाधीन भवनको भित्ता फुसफुसी खस्छ भने ढलान गरिएको भुईको पनिङ पनि पक्पकी उप्किन थालेको छ ।

स्थानीयवासीले निर्माणाधीन प्राथमिक स्वास्थ्य केन्द्रको भवन गुणस्तरहीन भएको भन्दै चर्काे विरोध जनाएका छन् । यसमा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नता नदेखिएता पनि यसको रेखदेखको जिम्मा र गुणस्तरहीन काम भए खबरदारी गर्ने काम व्यवस्थापन समितिको हुने स्थानीय समाजसेवी हरिभक्त संग्रौलाले बताए ।

उनले स्थानीयको अनुगमन नभएमा सरकारी कामको गुणस्तरीयता कमजोर हुने प्रमाणित भएको बताए । स्थानीयको विरोध बढ्दै गएपछि र सामाजिक सञ्जालमा यसको विपक्षमा आवाज उठेपछि स्थानीय सरकराले पनि चासो राखेको छ । यस सम्बन्धमा कनकाई नगरपालिकाले भवन निर्माणको तत्काल काम रोक्न निर्देशन दिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले निर्माण व्यवसायीलाई भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न निर्देशन दिनुभएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रको भवन गुणस्तरहीन भएपछि नगरप्रमुख पोखरेलले व्यवस्थापन समितिलाई सम्झौता बमोजिम किन काम भएन र अब के गर्ने भन्ने विषयमा छलफलका लागि शुक्रवार बैठक बोलाउनु भएको छ । बैठक बिहान आठ बजे बस्ने तयारी गरिएको बुझिएको छ ।

‘नगरप्रमुखका नाताले प्राथमिक स्वास्थ्य केन्द्रको संरक्षक म आफैं भए पनि भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरिएका कारण भवन निर्माणका विषयमा आफूहरुले सम्बन्धित निकायलाई जानकारी गराइएको र निर्माण भइरहेको भवन रोक्न निर्देशन दिएको छु,’ नगरप्रमुख पोखरेलले बताउनुभयो ।

नगरप्रमुख पोखरेलले भन्नुभयो–‘प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्दा गुणस्तरीय सामानको प्रयोग गरेको देखिदैन यो काम आफैंमा दण्डनीय छ यसले कनकाई नगरकै गरिमामा आँच पु¥याएको छ ।’ नगर प्रमुख पोखरेलले मापदण्ड अनुरुपको कामलाई मात्र स्वीकार गर्न सकिने बताए ।

यता सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका प्रमुख कुमारप्रसाद घिमिरेलाई यस विषयमा जानकारी लिन ९८५११२५०६५ नम्वरको मोबाइलमा सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

यता निर्माण व्यवसायी जनकराज तिम्सिनाले इञ्जिनियरको लापरवाहीका कारण यस्तो भएको बताएका छन् । उनले भवन निर्माणका क्रममा क्यिुरिङ कम हुँदा भुई ढलान भत्किएको र तत्काल मर्मत गर्ने पूर्वाञ्चलसंगको कुराकानीमा बताए । उनले भने–मैले गुणस्तरहीन काम गरेको थाहा पाएर इञ्जिनियर शैलेश भट्टराई सहित तीन जनालाई कामबाट पनि निकालिसके ।

रमिते बन्यो समिति

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको संरक्षकको जिम्मवेवारी स्वत नगर प्रमुखलाई हुन्छ । सोही वडाका अध्यक्ष स्वास्थ्य केन्द्रका अध्यक्ष हुने व्यवस्था छ । कनकाई ३ मा रहेको स्वास्थ्य केन्द्रका अध्यक्ष रुद्रप्रसाद चिमरिया हुन् । त्यस्तै उपाध्यक्ष सुरेन्द्र प्रधान र सदस्य सचिव स्वास्थ्य केन्द्रका डा दुर्याेधन यादव हुन् । समितिमा कुमारमणि पोखरेल, निर्मलकुमार खतिवडा , मनोनित सदस्य अंविका उप्रेती र वडा सचिव भोजराज आचार्य रहेका छन् ।

उनीहरुले स्वास्थ्य केन्द्रको निर्माणाधीन भवनको विषयमा ख्याल नगर्दा ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेका छन् । किन रमिते बन्यो समिति पूर्वाञ्चलको प्रश्नमा अध्यक्ष चिमरिया भन्छन्–‘ स्वास्थ्य संस्था व्यवस्थापनको हेरिरहेका हामीले पछिल्लो समय भवन निर्माणको प्राविधिक पक्ष नहेर्दा त्रुटि भएको छ ।

सुरुमा निर्माणकार्य राम्रै भएपनि पछि मुख्य ठेकेदारले पेटीमा काम गर्न दिँदा भवन गुणस्तरहीन बन्यो अध्यक्ष चिमरियाले भने–भवन गुणस्तरहीन बनेको थाहापाए लगत्तै हामीले काम रोकेर मुख्य ठेकेदारलाई बोलाएका छौं , उनी आएपछि मात्रै काम सुरु हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)