Aamsanchar

म्याग्दीको तातोपानी र प्रचण्डको तापक्रम

Author Image
शुक्रवार, कार्तिक ३०, २०७५

विष्णुप्रसाद खरेल

भरसक कसैको पनि ब्यक्तिगत जीवन र विषयहरुमा लेख्न मन लाग्दैन । किनकि, हरेक मानिसको आफ्नो नीजि जीवन हुन्छ, जो उसँग निहित प्राकृतिक अधिकार हो । हरेक प्राकृतिक अधिकारहरु मानिसका मौलिक अधिकार र मानव अधिकारका विषय हुन् । अरुको मानव अधिकारका विषयमा बहस र छलफल आवश्यक हँुदैन । निजी जीवनलाई स्वतन्त्रतापूर्वक निर्वाध र निर्भयतापूर्वक बाँच्न पाउने हरेक ब्यक्तिको अधिकारको सम्मान सबैले गर्नुपर्दछ । मैले बुझेको यही हो । तर, कुनै मानिस सार्वजनिक पदमा रहेको छ र उसले सार्वजनिक जवाफदेहिता निर्वाह गर्नुपर्दछ भने यस्ता ब्यक्तिका ब्यक्तिगत जीवनहरु पनि सार्वजनिक चासोका विषयका रुपमा आउँदा रहेछन् ।

यसै कारणले होला, भर्खरै म्याग्दीको तातो पानीमा डुबुल्की मारेका प्रचण्डका गतिविधिहरु पनि सार्वजनिक चर्चाको विषय बनेका छन् । सामाजिक सञ्जाल र समाचारहरुमा प्रकाशित यस समाचारले अधिक चर्चा पाएको छ । सामाजिक सञ्जालहरुमा प्रचण्ड र उनको प्रवृतिका बारेमा अभिब्यक्त शब्द, शैली र वाक्यहरुले प्रचण्डको सामाजिक र राजनीतिक हैसियत त स्वाहा पारेको छ नै संगै विभिन्न बहानामा जनताले तिरेको करलाई ब्यक्तिगत प्रयोग गर्ने चतुर राजनीतिक ब्यक्तिका रुपमा प्रचण्डलाई खडा गरेको छ । अहिले विभिन्न कोणहरुबाट प्रचण्डको ब्यक्तिगत जीवनका लागि राज्यको कोष दोहन गरेका आरोपहरु खरो रुपमा ब्यक्त हुन थालेका छन् । जो, स्वभाविक पनि छ ।

मानिसहरुले विभिन्न कोणबाट म्याग्दीको तातोपानी घटनालाई टिप्पणी गरेका छन् । मैले यो घटनामा धेरै टिप्पणी गर्नेभन्दा एउटा प्रश्न मात्र उठाएको छु– एउटा ब्यक्तिले राज्यको कोषलाई निजी प्रयोगमा ल्याउने अधिकार कसले दियो प्रचण्ड महोदय ? यस प्रश्नको उत्तर चाहियो । यो प्रश्न वाहेक मैले तातो पानी डुबुल्की अध्यायमा अरु कुरा उठाउन आवश्यक देखिन, पनि । तर, तातो पानीमा नुहाएपछि प्रचण्डमा बढेको तापक्रमसंगै म्याग्दीका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा प्रचण्डले बोलेका कुराहरुको विश्लेशण आवश्यक छ भन्ने, लाग्यो । यी कुराहरुको विष्लेशणबाट प्रचण्डको राजनीतिक सोच, राजनीतिक मानसिकता र उनको ब्यक्तिगत आचरण कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ ।


राजावादी सामन्ती मानसिकता र ब्यवहार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले म्याग्दीको तातोपानीमा डुबुल्की मारेको फोटो आएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन विकासलाई सहयोग पुगेको बताएका छन् ।

पत्नी सीतालाई ‘वाटर थेरापी’ गर्न भन्दै गृहमन्त्री रामबहादुर थापासहित तीन दिन अघि उनी सेनाको हेलिकप्टरमा म्याग्दीको तातोपानी पुगेका थिए । उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा उनले भनेका छन्– हामीले तातोपानीमा डुबुल्की मारेको फोटो जसरी प्रचारमा आयो त्यसले पर्यटन वर्ष २०७५ लाई सहयोग नै पु¥यायो । यसपटक म कसैले बोलाएर आएको थिइनँ । पत्नी सीतालाई तातोपानीमा डुबुल्की मार्दा सञ्चो हुने विश्वास भएकोले आएको । तातोपानीले राम्रो गर्छ भन्ने उनलाई विश्वास भयो । तातोपानीमा डुबुल्की मार्दा सञ्चो हुन्छ भनेर कसले भनिदियो । दुई महिनादेखि तातोपानी जाम कि तातोपानी जाम् भनेपछि प्रधानमन्त्रीसँग तीन दिन विदा मागेर गृहमन्त्रीसँग आएँ ।’ प्रचण्डहरुले म्याग्दीको तोतो पानीमा नुहाएको तस्वीरले गर्दा अव त्यहाँको पर्यटनको विकास हुनेमा उनी ढुक्क भएको सुनाएर फर्के ।

राजाको शासन देखेको यो स्तम्भकारलाई अहिले सम्झना भइरहेको छ । कुनै स्थानको विकास गर्नु छ वा प्रचारमा ल्याउनु छ भने राजाको राजकीय भ्रमण गराउन पञ्चायतकालीन नेताहरु आतुर हुने गर्दथे । राजालाई पनि के लाग्दथ्यो भने कुनै स्थानमा पुगेर वा कुनै मानिसलाई भेटेर उनी अरुलाई कृपा गरिरहेका छन् । राजाहरु आफूलाई दैविक अवतारका रुपमा प्रस्तुत गर्ने प्रयत्न गर्दथे । ठिक यही सोच र बोली प्रचण्डमा देखियो ।

उनलाई लागेछ, उनी म्याग्दीको तातो पानीमा डुबुल्की नमारेको भए त्यस स्थानको विकास नै हुने थिएन । यही हो सामन्ती मानसिकता र सोच । के प्रचण्डलाई काठमाडौंमा रहँदा म्याग्दीको पर्यटनको विषयमा थाहा थिएन र ? कुनै पनि स्थानको विकासमा आफ्नो उपस्थिति रहनै पर्छ भन्ने मानसिकता कस्तो हो ? किन प्रचण्डमा अहिलेको ब्यवस्था, विधि र राज्यका संरचनाको उपस्थिति कमजोर र आफ्नो उपस्थिति महत्वपूर्ण लाग्न थालेको छ ? यस विषयले गरेको संकेत भनेको, पहिलेका सामन्तवादका नायक भनिएका राजा महाराजाहरुको जस्तै विस्तारै प्रचण्डमा पनि म नै सबैथोक हुँ भन्ने घमण्ड विजारोपण मात्र भएको छैन, विकसित पनि हँुदै गएको छ भन्ने नै हो ।

जनताबाट निर्वाचित प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरुप्रति अविश्वाश

म्याग्दीकै सार्वजनिक कार्यक्रममा, नेपालमा २००७, २०१७, २०४६, २०६२ र २०६३ र पछिल्लो समय जतिसुकै व्यवस्था बदल्न खोजे पनि राजाका पालामा तालिम लिएका हाकिमहरूले जनताको काम हुनै नदिएको दाहालले बताएका छन । त्यति मात्र होइन, दुईचार वर्ष ठूला–ठूला हाकिमसँग बस्दाबस्दै नेताजति हाकिम जस्ता हुन्छन्, जनताको काम हुन्न, नेता (मन्त्री)ले हाकिमलाई परिवर्तनको बाहक बनाउनुपर्नेमा फाइल मिलेन, हुन्न हजुर मात्रै भनेको छ भन्ने आरोप पनि लगाएका छन । कर्मचारीका कारण परिवर्तन उल्टन सक्ने डर आफूलाई भएको दाहालले बताएर सबैप्रति अविश्वास ब्यक्त गरेका छन् । प्रचण्डलाई के कुराको हेक्का रहेनछ भने २०४६ सालको आन्दोलन भएको पनि ३० बर्ष पुग्न लागेछ ।

राजाको प्रतक्ष्य शासन समाप्त भएको ३० वर्ष अगाडी नियुक्त भएका कर्मचारीहरु प्रायः सबैको अवकास भइसकेको छ । अहिलेको कर्मचारीतन्त्र भनेको लोकतन्त्रको स्थापना भएपछिको कर्मचारीतन्त्र हो । वर्तमान कर्मचारीतन्त्रमा विसंगती ल्याउने काम गर्ने यिनै नेताहरु हुन् । जसमा प्रचण्डको पनि सहभागिता छ, स्वीकार्यता छ । तर, आफू भुत्लोभाँङ्ग गर्न नसक्ने अनि तथ्य हिन झुट तर्क दिएर वर्तमान सबै नेताहरुमाथि प्रश्न तेस्र्याउने प्रचण्डको यो शैली र संस्कार आफैमा अनौठो छ । अहिलेका प्रधानमन्त्री र मन्त्रीहरुले पनि सोच्नु परो के उनीहरु सबैलाई कर्मचारीतन्त्रले झुक्याएकै हो, ठगेकै हो ? वा अलमलमा पारेकै हो ? होइन भने प्रचण्डले जथाभावी आरोप लगाउँदा किन चुप छन् वर्तमान राज्य निर्माण गर्ने जिम्मा पाएका नेताहरु ?

प्रचण्डका वाधक–राज्यका कर्मचारीहरु !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीकै कार्यक्रममा प्रदेश र स्थानीय तहमा समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने बताए । प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको दाहालको तर्क पनि म्याग्दीमा तातो रुपमा प्रकट भयो ।

प्रचण्डका अनुसार कर्मचारी समायोजनको समस्या सर्वत्र देखिएको रहेछ । त्यसैले कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सरकारले कठोर निर्णय गर्नुपर्छ, नमान्नेलाई निकाल्नुपर्छ अर्को कुनै उपाय छैन, रे । म्याग्दी उद्योग वाणिज्य संघले बुधबार बेनीमा गरेको कार्यक्रममा बोल्दै दाहालले भनेका छन्– ‘कर्मचारी प्रदेश र स्थानीय तहमा जान नमाने नयाँ कर्मचारी भर्ती गरे हुन्छ । नमान्ने कर्मचारीलाई हटाइदिएर नयाँ भर्ती गरे को जाँदैन स्थानीय तहमा ?’ ‘संसारभरि जहाँ हेर्नुस, ठूला राजनीतिक परिवर्तन भएपछि ब्युरोक्रेसी र सेक्युरिटीको माथिल्लो लेयरलाई सरकारले बिदा गरिदिन्छ । आफूप्रति लोयल हुने, परिवर्तनलाई बुझ्न सक्ने मान्छेहरूलाई भर्ती गर्छ । अनि पो परिवर्तन संस्थागत हुन्छ ।’

प्रचण्डका यति कुरा सुनेपछि जो कोहिले आँकलन गर्न सक्दछ, म्याग्दीको तातोपानीले प्रचण्डलाई तताएकै रहेछ । वीधि के हो ? समस्या के हो ? व्यवस्थापन पक्ष के हो ? कहाँ त्रुटी छ ? के गर्ने ? कसरी गर्ने ? सहजता के हो ? कुनै सोच र विचार नगरी निकाल्नु पर्छ, कारवाही गर्नुपर्छ, घोक्रेठ्याक लगाइन्छ, कसैलाई छाडिदैन भन्ने अहंकारयुक्त शब्दहरु सार्वजनिक गर्दै धम्की र त्रासका भरमा खटाइएका कर्मचारीहरुवाट राज्यले के आशा र भरोसा गर्न सक्छ प्रचण्ड महाशाय ? के तपाईले कहिल्यै सोच्नु भएको छ ? एउटा कुरा राम्ररी हेक्का राख्नु जरुरी के छ भने नेपालमा चिनियाँ राजनीतिक व्यवस्था छैन, यहाँ जनताद्वारा निर्मित संविधान, कानून र विधिको शासन छ ।

कम्युनिष्ट पार्टीले जे चाहन्छ त्यो लागू हँुदैन । हरेक नागरिकको आफ्नो अधिकारको बचाउ गर्ने कानून छ । यसैले तपाईले गरेका मनपरी कार्यको साँक्षी बस्न विवेकशील कर्मचारीहरु तयार हुँदैनन् । यो तपाईका लागि पीडाको विषय बन्ला तर हरेका नागरिकका लागि सन्तोषको विषय बन्छ । कर्मचारीतन्त्रलाई त्रसित बनाएर आफ्नो दुनो सोझ्याउने तपाईको म्याग्दीमा पोखिएका तर्क र कुतर्कहरुले तपाईको निरंकुश शासकको सामन्ती सोच र मानसिकतालाई उजागर गरेको प्रष्ट आभाष मिलेको छ ।
म्याग्दीमै तातिएका प्रचण्डले भनेछन्– ‘जनता रिसाएका छन् । चाहिने र नचाहिने ठाउँमा कर लिएको भनेर । फेसबुक र मिडियामा आएको कुरा हेर्ने हो भने त बेइज्जत नै भएको छ ।’ कति अचम्म र अनौठो नेता पाएछौं हामीले ! नीति वनाउने नेताहरु, निर्णय गर्ने नेताहरु अनि कर बढाएको दोष कर्मचारीलाई लगाउने ? के जनताले यति सामान्य कुरा पनि बुझेका छैनन् ?

नीति बनाउने काम जुनसुकै तहमा निर्वाचित भएर गएका भए पनि नेताहरुको हो । नीतिको कार्यान्वयन गर्ने काम मात्र कर्मचारीहरुको हो भन्ने हेक्का सबै नेपालीहरुमा पलाएको छ । आफूले गलत निर्णय गर्ने अनि कर्मचारीलाई दोश लगाएर उम्कने छट्टुपनलाई कहिलेसम्म प्रयोग गर्ने प्रचण्ड महोदय !? जहाँसम्म सामाजिक सञ्जालहरुमा जनता रिसाएर अभिब्यक्ति दिएका छन् भन्ने तपाईको भनाई छ, एकपटक म्याग्दीको तातोपानीमा नुहाएको घटनामा सामाजिक सञ्जालमा आएका जनताका प्रतिक्रियाहरु राम्ररी हेर्नुहोला तपाईको तातोपना आफैं सन्तुलित हुनेछ । अन्त्यमा, सार्वजनिक पद ग्रहण गर्नेहरुले सार्वजनिक जवाफदेहिताको ख्याल गरेर गरिने बोली, आचरण र ब्यवहारले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ । मानिसको देवत्वकरण र अहंकारले सामन्ती समाजको निर्माणमा सहयोग पुग्नेछ । हामीले चाहेको के हो ? हामी आफैं मनन् गरौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)