Aamsanchar

बिर्तामोडका एक व्यापारी परिवार सहित २५ दिन देखि वेपत्ता

Author Image
शुक्रवार, जेठ १०, २०७६

झापा ।

बिर्तामोडका एक व्यवसायी विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर परिवारसहित वेपत्ता भएका छन् ।

बिर्तामोड–४ का व्यवसायी अनिल अग्रवाल रिङ्कु २५ दिनदेखि परिवारसहित सम्पर्कविहीन भएको उनका जेठा दाजु प्रदीप अग्रवालले जानकारी दिए ।

‘कलकत्तामा सालाको घर ओपनिङ छ भन्दै २५ दिन अघि ऊ यहाँबाट हिँडेको हो, त्यसपछि ऊसँग सम्पर्क भएको छैन’– प्रदीपले भने– ‘धेरै जनाले म कहाँ अनिलले पैसा लिएर सम्पर्कविहीन भए भन्दै आए, म आफैं पीडित छु क–कसलाई के जवाफ दिनु मैले ? प्रतिप्रश्न गर्दै उनले भने– उसले मेरो पनि पैसा लगेको छ ।’ श्रोतका अनुसार अनिलले सवैभन्दा बढी व्याजको पैसा चलाएका छन् । उनले ५ रुपैयाँ मिटर व्याजको पैसा चलाएको श्रोतले जानकारी दियो ।

बिर्तामोडका दर्जनभन्दा बढी सहकारीको पैसा समेत लिएर एकाएक सम्पर्क बाहिर रहेका अनिलले बिर्तामोडका व्यापारी–व्यवसायी, सहकारीका कलेक्टर, वैंकका मेनेजरसम्मको मोटो रकम लिएको बताइन्छ । श्रोत भन्छ– ‘माँ लक्ष्मी, शिखर, धौलागिरी पारिजात, पातालगंगा, मातृभाग्य, बिराट उपभोक्ता सहकारी, साना मझौला लगायत दर्जनभन्दा बढी सहकारीको रकम लिएर सम्पर्कविहीन छन् ।’ केही सहकारीको धितोमा रकम लिए पनि अधिकांश सहकारीबाट उनले बिना धितो रकम लिएको बताइन्छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले अनिलले ठगी गरेको भन्दै धमाधम प्रहरीमा उजुरी आइरहेको जनाएको छ । प्रहरी भन्छ– दिनहुँ उजुरी आए पनि लेनदेनको विषय हामीले नहेर्ने भएकाले क–कसले कति रकमसहितको उजुरी हालेका छन् यकिन छैन । इलाकामा परेका उजुरी समेत दर्ता नगरिएको बताइएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले उजुरी दर्ता नगरेपछि गृहमन्त्रालयसम्म सो विषयमा उजुरी परेको बताइएको छ ।

गृहमन्त्रालयका उच्च पदस्थ कर्मचारीसँग सिधा सम्पर्क भएका केही बिर्तामोडका व्यवसायीले गृहमन्त्रालयमा उजुरी गरेको बताइएको छ । पछिल्लो समय अनिल कपडा व्यवसाय गर्दै आएका थिए । उनले आफ्नै घरमा कपडा व्यवसाय सञ्चालन गर्दै आएको बताइन्छ ।

भारतको कलकत्ताबाट सोझै कपडा आयात गरी उनी व्यवसाय गर्दै आएको बुझिएको छ । एक छोरा, एक छोरी र श्रीमतीसहित अनिल सम्पर्कविहीन भएको बताइन्छ । उनकी श्रीमतीले समेत कतिपय व्यवसायी र आफन्तसँग पैसा माग्ने गरेको तथा अग्रवाल दम्पत्तिकै सहमतिमा पैसा लेनदेन हुने गरेको स्रोतले जनाएको छ ।

यति ठूलो रकम लिएर उनी वेपत्ता भएपछि उनलाई ऋण तथा सापटी दिनेहरु यतिबेला चिन्तित बनेका छन् । उक्त रकम कसरी असुल गर्ने भनेर पीडितहरु छलफलमा जुटेको बुझिएको छ । तर, रकम लगानी गर्नेहरु खुलेर बोल्न चाहँदैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर