Aamsanchar

असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

Author Image
सोमवार, असार ९, २०७६

बारा ।

सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ ।

निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो ।  नेपाल आयल निगमका अनुसार मुलुककै पहिलो यो अन्तरदेशीय पाइप लाइनबाट डिजेल र पेट्रोल आयात सुरु हुने छ ।

निगमका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि मुख्य काम सम्पन्न भइसकेको छ, केही सहायक काम मात्र बाँकी छन् । निगमका आपूर्ति तथा वितरण विभागका उपमहानिर्देशक विनीतमणि उपाध्यायले मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट असार अन्तिमदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भारतको सो सडकखण्डमा पेट्रोलियम पाइप लाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

बिछ्याइएको पाइपको परीक्षण पनि सम्पन्न भइसकेको छ । हाल पाइप लाइनबाट आउने पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि डिपोको संरचना तयार भइरहेको बताउँदै उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको भण्डारणका लागि निर्माण गर्नुपर्ने चारवटा ‘भर्टिकल टयाङ्क’मध्ये तीनको निर्माण सम्पन्न भइसकेको छ, एउटाको निर्माण अन्तिम चरणमा छ । ”

‘भर्टिकल टयाङ्क’को निर्माणपछि डिपोभित्रै थप पाइप जडान गर्ने, भल्भहरू बनाउने, ‘लोडिङ’का उपकरण जडान गरिने लगायतका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उपमहानिर्देशक उपाध्यायले सुरुमा हरेक दिन बीस घण्टा ‘अप्रेसन’मा ल्याइने र प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आयात गरिने बताउनुभयो । उहाँका अनुसार सुरुमा डिजेल मात्र आपूर्ति गरिने छ । बिस्तारै डिजेलका साथै पेट्रोल पनि आपूर्ति गरिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर