Aamsanchar

मृत्यु भएको भन्दै गाड्न लागेका शिशु रोएपछि……

Author Image
शनिवार, भदौ १८, २०७३

नेपालगञ्ज ।
कुनै बालकको मृत्यु भयो भने उनका आफन्त, बुवा आमाको रुवाई र वेदना सामान्य घटना हो । तर नेपालगञ्जमा मृत्यु भएको भन्दै गाड्न लागेका शिशुनै रोएपछि सबै अचम्ममा परेका छन् ।

मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएका छन् भने यसले सबैलाई अचम्मित बनाएको छ ।

घटना यही शुक्रबार दिउँसो ३ बजेतिरको हो । नवजात शिशुले धेरै बेरसम्म कुनै प्रतिक्रिया नजनाएर चाल बिहिन बन्दै स्वास प्रस्वास समेत नलिएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज– १७, बुलबुलियास्थित घाट पुर्‍याएर बच्चा गाड्न लागेका थिए ।

रुकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरैमा जन्माएको शिशु नचल्मलाएपछि पति चौखावाङ– ७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए ।
मेडिकल सञ्चालकले बच्चा नरोएको, नचलेको, शरीर नीलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए ।

उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थियो ।

घाटमा पुगेर सहयोग मागेपछि शिशुको दाहसंस्कारका लागि स्थानीयले सहयोग गरेको देवबहादुर बोहराले बताए । तर, खाल्डो खन्दै गर्दा शिशु रोएपछि स्थानीय छाँगोबाट खसेझैँ भएका थिए ।

उनीहरूले खड्का दम्पतीप्रति शंका गर्दै प्रहरीलाई खबर गरे। र, शिशुलाई प्रहरीको जिम्मा लगाए।

‘हामीले चिहान खन्न फरुवा खोज्दै थियौं तर नगाड्दै बच्चा करायो,’ बोहराले भने, ‘बच्चा कराएपछि सबै अचम्म पर्‍यौं, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगायौं।’

वडा प्रहरी कार्यालयले खड्का दम्पतीसहित शिशुलाई तत्काल भेरी अञ्चल अस्पताल पुर्‍याएको थियो। शिशुको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पताल स्रोतले जनाएको छ ।

‘बच्चा रोएपछि हामी पनि खुसी भयौं, जानीजानी जिउँदो बच्चालाई गाड्न खोजेका होइनौं,’ खड्का दम्पतीले बताएको नागरिकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)