Aamsanchar

फोहोर व्यवस्थापनमा नगरपालिका असफल

Author Image
आइतवार, भदौ २६, २०७३

(सन्तोष अधिकारी)

fohar
बिर्तामोड।

फोहोरमैला व्यवस्थापनमा बिर्तामोड नगरपालिकाले ठोस् कदम चाल्न नसकेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र केही सामाजिक संघ–संस्थाले फोहोर व्यवस्थापनमा चासो देखाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखका रुपमा प्रहरी निरीक्षक ढुण्डीराज गिरी आएसँगै उनले सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै फोहोर व्यवस्थापनमा जुटेका हुन् । पटक – पटक सामाजिक संघ–संस्थाको अगुवाइमा नगर सरसफाई गरिँदै आए पनि फोहोर व्यवस्थापनका लागि ठोस् काम हुन नसक्दा सडक किनारमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न ट्राफिक प्रहरी आफैं अग्रसर भएको हो ।
गत साउन ३१ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बसेको भेलाले बिर्तामोड नगरपालिकालाई ‘हाम्रो सहर राम्रो सहर’ बनाउँ भन्ने मूल नारासहित यहाँका सामाजिक संघ–संस्थाको अगुवाईमा सरसफाई अभियान शुरु गरिएको थियो । अभियान प्रत्येक शनिवार सञ्चालन हुँदै आएको छ । १५औं हप्तासम्म निरन्तर रुपमा चलेको सरसफाई कार्यक्रममा सामाजिक संघ–संस्थाहरु थपिने क्रम बढिरहेको छ ।
तर बिर्तामोड नगरपालिकाले भने फोहोर व्यवस्थापनमा कुनै चासो नदेखाएको अभियानमा संलग्नले बताएका छन् । शुरुका दिनमा विवेकशील नेपाली समूहले शुरु गरेको बिर्तामोड सरसफाई अभियानलाई दोश्रो हप्तादेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडले साथ दिएको गिरीको भनाइ छ । सडकमा असरल्ल रहेको फोहोर व्यवस्थापन गर्न ट्राफिक आफैं कम्मर कसेर लागेपछि विभिन्न संघ–संस्थाले निरन्तर साथ दिइरहेका छन् ।
अबका दिनमा बिर्तामोड सरसफाई अभियानलाई महाअभियानकै रुपमा समिति नै बनाएर सञ्चालन गर्ने बताउँछन्– फेसबुक ग्रुपका मनिष बस्नेत । १४औं हप्ताको सरसफाईमा नेप्लिज टिन्सका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेकोमा अन्य संघ–संस्था र प्रमुख दायित्व रहेको नगरपालिका र उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागिता शुन्य रहेको थियो ।
१५औं हप्तासम्मको अभियानमा आइपुग्दा विर्तामोडको केही मुहार फेरिएको अनुभव भएको सर्वसाधारणको भनाइ छ । अभियान हालसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय विर्तामोड, विवेकशील नेपाली, प्रकृति फाउण्डेशन, द राइजिङ युथ नेपाल, क्रियटिभ नेप्लिज युथ, युवा संघ नगर कमिटी बिर्तामोड, रेयुकाई बिर्तामोड, ग्रामीण सेवा समुदाय क्लब, नेप्लिज टिन्स, इसीएफ नेपाल लगायतका संघसंस्था अभियानमा सहभागी भइरहेका छन् ।
यस अभियानमा बिर्तामोड क्षेत्रका सबै व्यवसायीहरु शनिवार विहान ७ देखि ९ बजेसम्म दुई घण्टा मात्रै तनमन लगाएर अभियानमा लाग्ने हो भने बिर्तामोडको चाँडै मुहार फेरिने बताउँछन्– ट्राफिक प्रहरी निरीक्षक गिरी । सवारी व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने गरेको ट्राफिक प्रहरीको सामाजिक सेवाप्रतिको लगावबाट नगरपालिका र उद्योग वाणिज्य संघले पाठ सिक्नुपर्ने सामाजिक क्षेत्रका अगुवाहरु बताउँछन् ।
अभियानबाट संकलन भएको फोहोरकहाँ लगेर फ्यालिन्छ भन्ने कुरा मलाई नसोध्नुस् भन्ने जवाफ नगरपालिकाका प्रमुख रवीन्द्रप्रसाद वस्तीले दिइरहँदा उक्त फोहोरले अन्य क्षेत्रका बासिन्दालाई असर गरेकोतर्फ सरोकारबाला निकायले बेलैमा ध्यान नदिने हो भने अर्को समस्या आउन सक्ने अभियानमा सहभागीहरुले बताएका छन् । सडकमा असरल्ल फ्याकिने फोहोरहरेक शनिबार सरसफाई गरेर व्यवस्थापन गर्न असम्भव रहेको हुँदा आफ्नो घर, होटल, हस्पिटल तथा पसलबाट निस्किएको फोहोरलाई डस्विन तथा बोराहरुमा राखेर नगरपालिको ट्याक्टर आउँदा त्यसमा हाल्न सके सरसफाई चाँडो हुने र समयको पनि बचत हुने हँुदा त्यस तर्फ ध्यान दिन प्रहरी निरीक्षक गिरीले सुझाव दिएका छन् ।
बाग्मती सरसफाई अभियान शुरु गरेका तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको अभियानमा सबैले साथ दिएर बाग्मती सफा बन्दै गएको कुरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी प्रमुख गिरीले अभियान शुरु गरेर बिर्तामोडलाई सुन्दर शहरको रुपमा निर्माण गर्न लागी परेका छन् । तर, सम्बन्धित निकायले बेलैमा ध्यान नदिएका कारण बिर्तामोडको फोहोर व्यवस्थापन गर्न समस्या भएको उनीहरुको भनाइ छ ।
शहरको फोहोरका कारण पैदल यात्रीले नाक थुनेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्दै सफा शहर बनाउन विभिन्न संघ–संस्था लागीपरेका छन् । फोहोरलाई दुई भागमा विभाजन गरेर सड्ने र नसड्ने गरी घरमा व्यवस्थापन गर्ने हो भने ६० प्रतिशत फोहोरलाई घरमा नै व्यवस्थापन गर्न सकिने ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।
दमक नगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्र नै स्थापना गरेर सञ्चालनको तयारी गरेको बेला समेत बिर्तामोड नगरपालिका भने डम्पिङ साइडका लागि जग्गा नै छैन भनेर पन्छिने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)