Aamsanchar

डिस्कोमा हत्या गरी फरार घले १५ वर्षपछि पक्राउ

Author Image
सोमवार, कार्तिक १, २०७३

काठमाडौँ ।

जन्म कैदको सजाय पाएका मनाङ भ्राका गाविस–३ घर भई काठमाडौँ–१७ धोबिचौर बस्ने राजु घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

विसं २०५७ कात्तिक १८ गते बेलुका काठमाडौँ ठमेलस्थित ‘जुली ५४ डिस्को’मा राजु घले समेतका १० जना व्यक्तिले सोही डिस्कोमा खानपान गर्न भनी आएका काठमाडौँ पुरानो बानेश्वर बस्ने १९ वर्षीय सुवर्ण गुरुङसँग वादविवाद हुँदा निज गुरुङलाई धारिलो हतियारले साङ्घातिक आक्रमण गरी बेहोस बनाएकामा उपचारका लागि वीर अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

काजिमान गुरुङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु घलेसमेत भएको कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०६४ पुस १२ गतेको फैसलाले घलेलाई जन्म कैदको सजाय हुने ठहरेको थियो । उक्त कैद सजाय बेरुजु रही हालसम्म फरार रहेका निज प्रतिवादी घलेलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केही दिनअघि काठमाडौँबाट पक्राउ गरी  फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको प्रहरी प्रधान कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ परेका प्रतिवादी घलेलाई  काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर