Aamsanchar

नेपालीहरु धेरै बाच्न नसक्नुको कारण यस्तो रहेछ,लामो समय बाँच्ने हो ? यसो गर्नोस्

Author Image
मङ्गलवार, चैत १, २०७३

झापा । 

प्राय हामी सबैलाई खानेकुरामा चाहे बिहान होस् या बेलुका ? अलि अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । अझै भन्नु पर्दा तराईबाट फोहर ल्याएको जस्तो झिंगा भन्कने गरि ट्रकमा हालेर ल्याएको(चपाउन पनि मेसिन चाहिने) जस्तो भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय अनिबार्य हामी नेपालीको दैनिक तरकारी जस्तै भैसकेको छ । त्यति मात्र कहाँ हो र ? तरकारीमा माछा, मासु छ भने हामीलाई भात संग मुछेर खानलाई अरु केहि पनि चाहिदैन यो हामी सबैको यथार्थ हो ।
यसैगरी हाम्रो समाजमा अझै पनि बिहान – बेलुका छोरी, बुहारी भान्सामा खाना पकाउन सुरु गर्नासाथ “साग पकाउन भन्दा अलि बढी तेल, खुर्सानी, मसलाहरु हालेर पकाउ है नत्र खल्लो होला” भनेर निर्देशित गरिन्छ अनि कसरी स्वस्थ, स्फुर्त भएर लामो समय बाच्न सकिन्छ र ? बिश्वमै लामो आयु भएको जापानीहरु जस्तो ।

तर, अहिले भने कमसेकम खाना कस्तो खाने, के के खाने ? कस्तो खानाले स्वस्थमा असर गर्छ? भन्ने कुराहरुमा अलिकति राम्रो चेतना जाग्दै आएको छ । त्यसैले आजका भान्साहरुमा पहिले जस्तो दिनहु, चिल्लो पिरो मासु लगायतका मसलादार तरकारीमात्र पाक्न कम हुदैछ । बिहान मासु खाए बेलुका साग, भोलिपल्ट माछा पाक्न थालेको छ । यधपी खुर्सानी, तेल, नुन मसला (खै के के मिसावट भएको) को मात्रा भने कम हुन सकेको छैन जस्तो लाग्छ मलाई । त्यसैले हामीले पनि, आफ्नो स्वस्थमा ख्याल गर्दै, स्वस्थमा हानी गर्ने खानेकुरा कुराहरु घटाउदै हल्का तेल, मसला मात्र प्रयोग गरेको खानेकुरा र सन्तुलित भोजन लिने बानि बसाल्न थाल्यौं भने पक्कै पनि नेपाल पनि कुनै दिन संसारको लामो आयु भएको देश भनेर चिनिने छ ।

१ खानामा सन्तुलन:
जापानीहरुले पनि प्राय तीन चोटी नै खान्छन हामीले जस्तै । बिहान हल्का खाना, १२ बजेतिर बिहानको खाना अनि बेलुकाको खाना । तर फरक यत्ति हो हामीले खाने खाना संग प्राय दाल, तरकारी र अचार मात्र हुन्छ भने यिनीहरु खाने खानामा सन्तुलन मिलाइएको हुन्छ । जापानीहरुको खानामा बनाउन जतिसुकै अल्छी लागेपनि ,थोरै खाना, (तेल मसला कम प्रयोग गरिएको अथवा उसिनेको )माछा, सुप, गेडागुडी, सीफुड, काँचो माछा (मुटु रोग बाट बचाऊछ) , तोउफु उसिनेको तरकारी, अर्गानिक चिया (क्यान्सर बाट बचाऊछ) आदि हुने गर्दछन । यसै गरि यिनीहरु खानामा चिल्लो, पिरो मसलादार फ्याटयुक्त खानेकुरा प्रयोग गर्ने गर्दैनन गरे पनि थोरै मात्रामा । त्यसैले यस्ता खानेकुरामा शरीरको लागि आवश्यक पर्ने कर्बोहैद्रेट, प्रोटिन लगायत अन्य भिटामिनहरुको सन्तुलन मिलेको हुन्छ, र यस्ता खाने कुराले शरीरका कुनैपनि अंग लाई खराब गर्ने गर्दैनन भनेर डाक्टर हरु बताउँछन्।

२ वातावरण, सरसफाई अनि दैनिक स्नान गर्ने चलन:
जापान यति धेरै बिकसित भएपनि, खानेपानी, वातावरण सधै सफा राख्नको लागि जापानीहरु प्राय सधै आफ्नो घर होस् या शहर सफा राख्ने गर्दछन् । चेतनशील जापानिजहरु बाटो, शहरबजार कहिपनि जथाभावी फोहर फाल्ने काम गर्दैनन, त्यसैले शहर बजार सधै सफा हुने गर्दछ। साथसाथै जापानी सरकारले आफ्नो अति आधुनिक विकास संगसंगै वातावरण प्रदुषण हुनबाट जोगाउन को लागि धेरै मेहनत र पहल गरिरहेको देखिन्छ त्यसैले त हाम्रो छिमेकी मुलुक चिन जस्तो प्रदुषित हुन बाट जोगिएको छ जापान । अति ब्यस्त शहर टोकियो मा पनि फोहर, सवारीसाधन, कारखानाहरुबाट निस्कने धुलो धुवाँ कहीं पनि देखिदैन । यति सम्म कि, लगाएको जुत्ता एक महिना सम्म पनि धुलो लागेको हुँदैन ।
यसैगरी, जापानीहरु आफ्नो व्यक्तिगत सरसफाइमा पनि ख्याल राख्ने गर्दछन । जतिसुकै काममा थकित र ब्यस्त रहे पनि बिहान एकचोटी नुहाएरै बाहिर जाने गर्दछन, अनि बेलुका फर्केपछी पनि आधि घण्टा जति तातोपानी ओफुरो बसेर नुहाउने गर्दछन । साथै जापानको पहिचान जस्तै बनिसकेको ज्वालामुखी बाट बनेका तातोपानी कुण्ड(ओनसेन) मा बच्चा देखि बृद्ध सम्म पनि गएर क्यल्सिएम, सल्फर, तामायुक्त तातो पानीमा डुबेर रिल्याक्स लिने गर्दछन समय समयमा । जसले शरीरको थकान मेटाउने, रुगा लाग्नबाट बचाउने, स्ट्रेस घटाउने लगायत छालालाई चुस्त राख्ने काम गर्ने गर्दछ ।
३ स्वस्थ सेवा प्रणाली, बृद्ध अबस्थामा पनि काम गर्नु
जापानमा अनिवार्य स्वास्थ बिमा गर्नुपर्छ, जसले गर्दा जापानीहरु बर्षमा कम्तिमा पनि १२ पटक भन्दा बढी आफ्नो नियमित चेकअप गर्ने गर्दछन । परिणामस्वरुप, आफ्नो स्वास्थमा हुने परिबर्तन,गडबडी सम्बन्धि सबै जानकार रहने हुनाले सितिमित्ति ठूला रोग लाग्न बाट सजिलै सचेत रहने गर्छ ।
यसै गरी जापानिजहरु प्राय काम गर्दा अल्छी नलागोस अनि शारीरिक व्यायाम होस् भनेर उभिएरै काम गर्ने गर्दछन। यिनीहरु नियमित काममा जादा होस् या ? कतै जानु पर्यो भने अन्य देशहरुमा जस्तो सौखिन तरिकाले बाइक, कारको प्रयोग गर्ने गर्दैनन, प्रयोग त गर्छन तर धेरै काम मात्रामा । धेरैजसो जापानिजहरू काममा जादाखेरि आफु बसेको ठाउँबाट ट्रेन स्टेसन सम्म पैदल हिडेर जान्छन अनि बल्ल त्यहाबाट ट्रेनको प्रयोग गर्ने गर्दछन । अझ अनौठो कुरो, बृद्ध अवस्था सम्म पनि स्फुर्त र स्वास्थ रहनको लागि यहाँ ६०-७० बर्ष सम्म पनि मानिसहरु काम गर्ने गर्दछन ।
४. उपचार गर्ने प्रणाली
उसै त जापान प्रविधिमा बिश्वमै अघाडी रहेको सर्बबिदितै छ । यहाको आधुनिक उपचार पद्दतिले नै गर्दा जापानको बालमृत्युदर एकदमै न्यून रही आएकोछ । यसै गरी जति सुकै ठुलो बिरामी भए पनि आधुनिक प्रविधि को उपचारले गर्दा मर्नलागेकाहरुले पनि लामो समय सम्म जिउन सकेका छन् ।

त्यसैले, हामीहरुले पनि सम्भंब भए सम्म जापानिजहरुले गर्नेगरेका कुराहरुको सिको गर्न सक्यौं भने केहि लामो समय स्वस्थ, स्फुर्त भएर बाच्ने थियौं होला । जसको लागि तपाई हामी सबै आजै बाट लाग्न जरूरी छ ।

तर, हाम्रो देश नेपाल पनि जापान भन्दा कम छैन, हामीसंग अथाह हरियाली जंगल छ स्वोच्छ हावा बहने । हामी संग कलकल बग्ने खोलानाला छन् खानको लागि । सागपात, गेडागुडी फल्ने खेतबारी छन् । यति मात्र हो कि, हामीले सधै “जिभ्रोमै झुन्डिने” मिठो खानेकुरा मात्र खान खोज्नु भएन, टन्न तेल अनि मसला राखेर दिनदिनै मासु भात मात्र खानु भएन । हरियो खुर्सानी टोक्नु भएन । सौखिन्ताले ग्रस्त भएर पुतलीसडकबाट रत्नपार्क जान ट्याक्सी खोज्नु भएन । बस् यति गरे पुग्छ लामो समय बाच्नको लागि ।

लामो समय बाँच्ने १५ उपाय

१. चिया पिउनुहोस्

चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ। इजरायलमा भएको अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ।

२. हरेक दिन विहान एउटा खुट्टाले उभिनुहोस्

सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडा लगाउने बेलामा एउटा मात्र खुट्टाले उभिएर शरीर सन्तुलित बनाउनाले ढाड, नितम्ब र पेटलाई बलियो बनाउँछ। त्यहाँका मांशपेशीले मेरुदण्डलाई ठीक सरहन सहयोग गर्छ।

३. सातामा कम्तीमा दुईपल्ट यौनसम्पर्क राख्नुहोस्

एक अध्ययनले महिनामा एकभन्दा कम चोटी यौनसम्पर्क राख्ने मानिसहरु सातामा दुईपल्ट राख्नेभन्दा चाँडै मरेको देखाएको छ। स्वास्थ्यको लाभबाहेक नियमित रुपमा स्वस्थ्य यौनजीवन भएका मानिस सात वर्ष जवान देखिने रोयल इडिनवर्ग अस्पतालले गरेको एक अध्ययनले देखाएको छ। यौनसम्पर्कले तनाव घटाउने, राम्रो सम्वन्ध बनाउने र निद्रा राम्रोसँग लगाउने भएकाले पनि यस्तो हुने अध्ययनले जनाएको छ।

४. दिनको तीनवटा ओखर खानुहोस्

ओखर सबैभन्दा स्वस्थकर हो किनभने यसमा रोगबाट लड्न सघाउने र कम उमेरको देखाउने एन्टी अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुन्छ। दिनको तीनवटा मात्र ओखर खानाले पूरा फाइदा मिल्छ।

५. सनस्त्रि्कन कम प्रयोग गर्नुहोस्

पछिल्लो समयमा घामबाट जोगिन सनस्त्रि्कनको प्रयोग गर्ने वा शरीर पूरै छोप्ने चलन बढेको छ। यसले गर्दा शरीरमा भिटामिन ‘डी’को अभाव हुन थालेको छ। यसले गर्दा मुटुको रोग, ओस्टेपोरोसिस र क्यान्सरजस्ता रोगको जोखिम बढ्दो छ। क्यान्सर रिसर्च युकेले मध्य दिनमा सनस्त्रि्कनबिना १५ देखि २० मिनेटसम्म घाममा रहन सुझाव दिएको छ।

६. भर पर्नसक्ने ६ जना साथी बनाउनुहोस्

नजिकको मित्रता र परिवारसँगको सुमधुर सम्वन्धले लामो समय बाँच्न सहयोग गर्छ। साथीहरुले भावनात्मक सहयोग दिन्छन् जसले तनावको बेला धेरै सहयोग गर्छ। त्यस्तै, मायाको भावनाले शरीरमा डोपामाइन र अक्सिटोसिनजस्ता रसायनको उत्पादन हुन्छ जसले मस्तिष्कको विकासमा सहयोग गर्छ र बुढ्यौली देखिनबाट जोगाउँछ।

७. ८० प्रतिशत पेट भरिएपछि खान रोक्नुहोस्

तपाईंले खाना खाँदै गर्दा ८० प्रतिशत पेट भरिएपछि खान छोड्नुहोस्। यसले गर्दा तौल नियन्त्रण गर्न पनि सघाउँछ। ठिक्क खाना खानाले शरीरको कार्यसञ्चालन प्रक्रियालाई थप भार पर्दैन, जसले स्वस्थ रहन सहयोग गर्छ।

८. सम्भव हुन्छ भने एक घन्टा चाँडो सुत्नुहोस्

थोरै सुत्नाले डिप्रेसन र मुटुजस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ। त्यसैले, सुत्ने बानीमा परिवर्तन गर्नाले हृदयघात, पक्षघात, रक्तचाप लगायतका स्वास्थ्य समस्याबाट जोगाउँछ। त्यसैले, सम्भव हुन्छ भने एक घन्टा चाँडो सुत्ने प्रयास गर्नुहोस्।

९. फ्रिजमा फलफूल नराख्नुहोस्

फ्रिजमा फलफूल राख्नाले लामो समयसम्म विग्रिँदैन भन्ने लाग्ला तर अध्ययनहरुले कोठाको तापक्रममा राखेको फलफूलको तुलनामा फ्रिजमा राखिएका फलफूलमा स्वास्थ्यलाई राम्रो बनाउन सघाउने तत्व कम हुन्छन्। त्यसैले, फ्रिजमा राखिएकाभन्दा ताजा फलफूल खानु स्वास्थ्यको हिसाबले राम्रो हुन्छ।

१०. सहयोगी हुनुहोस्

अरुलाई सहयोग गर्नाले आफूलाई आनन्द महसुस गर्ने मात्र होइन, स्वास्थ्यमा पनि फाइदा पुर्‍याउँछ। एउटा दीर्घकालीन अमेरिकी अध्ययनले जीवनकालमा स्वयंसेवा गरेका मानिसहरु नगरेका मानिसको तुलनामा लामो समय बाँचेको देखाएको छ। स्वयंसेवकले कम डिप्रेसन, कम पीडा र तुलनात्मक रुपमा राम्रो स्वास्थ्य महसुस गरेको पनि अध्ययनले देखाएको छ।

११. फलफूल र शाकाहारी दुई गुणा खानुहोस्

युरोपियन हार्ट जर्नलले फलफूल र शाकाहारी खानेकुरा खाने मानिसहरुको मुटुरोगबाट मृत्यु हुने सम्भावना निकै कम भएको देखाएको छ।

१२. रातीको समयमा एक घन्टा कम टेलिभिजन हेर्नुहोस्

अमेरिकी राष्ट्रिय क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकहरुले २५ वर्षको उमेरपछि टेलिभिजन हेर्न कम गर्नुपर्ने बताउँछन्। जति धेरै टेलिभिजन हेर्‍यो, त्यति नै मात्रामा शरीर स्थिर रहने, मांशपेशीको कसरत नहुने र क्यालोरी खपत नहुने भएकाले यसले विरामी हुने र चाँडो मृत्यु हुने जोखिम बढाउने वैज्ञानिकहरु बताउँछन्।

१३. दिनमा कम्तीमा २० पल्ट हाँस्नुहोस्

हाँस्नाले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, तनाव उत्पन्न गराउने हर्मोनलाई कम गर्छ र क्यान्सरविरुद्ध लड्ने किलर टी सेलहरुलाई उत्प्रेरित गर्छ। वयस्कहरु औसतमा दिनको पाँचदेखि १५ चोटी हाँस्छन् भने बच्चाहरु भने दिनमा एक सयपटकभन्दा धेरै चोटी हाँस्छन्।

१४. धुमपान त्याग्नुहोस्

फिनल्यान्डमा भएको एक अध्ययनले धुमपान गर्नाले जीवनलाई १० वर्ष छोटो बनाउने मात्र नभई वृद्धावस्थामा जीवनको गुणस्तरलाई घटाउने देखाएको छ।

१५. केही कुरामा विश्वास राख्नुहोस्

हजारौं अध्ययनले विश्वास र दीर्घायुको बीचमा सम्वन्ध रहेको देखाएका छन्। गहिरो विश्वासले मानिसहरुलाई तनाव र भावनात्मक समस्यासँग लड्न सहयोग गर्छ। यसले मुटु, श्वासप्रश्वास र पाचन समस्याबाट लड्नका लागि पनि उत्तिकै सहयोग गर्छ। recentnepal.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)