Aamsanchar

अाज साउने संक्रान्ति, सूर्य दक्षिणायन हुँदै

Author Image
मङ्गलवार, साउन १, २०७५

काठमाडौँ,

साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ।

साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ। साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ। लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ।

निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ।

कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। मेहेन्दी लगाउने चलन पनि यसैबाट आएको होला भन्ने अनुमान गर्न सकिन्छ। कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्।

पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ।  यता काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्व साथ मनाउँछ।

साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ। आर्थिक कारोवार गर्नेहरूले पनि याे दिनलाई विशेष मान्छन्। नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छ।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर