Aamsanchar

उपचार र किरिया खर्च मात्रै साढे ११ करोड

Author Image
शनिवार, भदौ ९, २०७५

बिर्तामोड ।

बिर्तामोडमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यको औषधि उपचार र मृत्यु हुँदा गरिने दशकर्मका लागि ११ करोडभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

प्रदेश नं. १का ६ जिल्लामा आफ्नो सेवा केन्द्र रहेको सहकारीले ६० वटा सेवा केन्द्रमा आवद्ध शेयर सदस्यको औषधि उपचार र शेयर सदस्यको मृत्यु भए उनीहरुको दश कर्म गर्न उक्त रकम सहयोग गरेको हो । पछिल्लो तीन बर्षमा सहकारीले यी दुई शीर्षकमा ११ करोड ६६ लाख ६ हजार दुई सय २५ रुपैयाँ खर्च गरेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले जानकारी दिए । शुक्रवार सहकारीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष सञ्जेलले भने– सहकारीले यस बर्षदेखि आफ्ना शेयर सदस्य विरामी भए सम्पूर्ण उपचार खर्च निःशुल्क गर्छ, आफ्ना शेयर सदस्यको उपचार तथा विशेष रोगहरुमा सहुलियत प्रदान गर्ने कार्यक्रम हामीले बिगत तीन बर्षदेखि सञ्चालन गरेका छौं । जस वापत सहकारीले सबै खर्च व्यहोर्दै आएको छ– अध्यक्ष सञ्जेलले भने ।

 

सहारामा हाल एक लाख ३५ हजार ६ सय ७७ जना शेयर सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो । प्रदेश नं. १ भरिका सबै जिल्लामा ५ लाख शेयर सदस्य पु¥याउने लक्ष्यसहित सहकारीले यस आर्थिक बर्ष पनि शेयर सदस्य थप्न लागेको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । उनले भने– यस आर्थिक बर्ष खुल्ला गरिएको सदस्यताबाट मात्रै एक अर्बभन्दा बढी शेयर पुँजी जम्मा गर्ने अपेक्षा गरेका छौं । ९८ प्रतिशतभन्दा बढी महिला शेयर सदस्यले बचत ऋण र उद्यमशीलताको माध्यमबाट आर्थिक सशक्तिकरणमा सहयोग गरेको कार्यकारी निर्देशक गिरीले बताए । संस्थामा आवद्ध ६ सयभन्दा बढी महिलाहरु स्थानीय तह, विद्यालय, विभिन्न संघ–संस्थाको नेतृत्वदायी भूमिकामा रहेको समेत गिरीले जानकारी दिए ।

सहकारीले विपन्नहरुका लागि आश्रय कार्यक्रम सञ्चालन गरेको र सो कार्यक्रम अन्तर्गत ५ सय ३८ वटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विराटनगर महानगरपालिका, कनकाई नगरपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा नगरपालिका र हल्दिवारी गाउँपालिकाको सहयोगमा यस आर्थिक बर्ष दुई सय ५० वटा स्थायी घर निर्माण गर्ने कार्यक्रम रहेको छ । यसका लागि संस्थाले चार करोड रुपैयाँ खर्च गर्ने बताइएको छ । सहकारीले ज्येष्ठ नागरिक चौतारी निर्माण कार्यक्रम अघि बढाएको छ । जस अनुरुप दूधे, होक्से, घैलाडुब्बा, लक्ष्मीपुर, बाहुनडाँगीमा पाँच वटा ज्येष्ठ नागरिक चौतारी निर्माणमा सहयोग पु¥याएको बताइएको छ ।

आगामी दिनमा स्थानीय तहको सबै वडामा ५० वटा यस्ता चौतारी निर्माण गर्ने लक्ष्य लिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसका लागि चार करोड रुपैयाँ व्यवस्थापन गरिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । कृषि क्षेत्रमा पनि सहकारीले उत्तिकै लगानी गरेको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सहकारीले प्रदेशस्तरको मौरी मह उद्योग स्थापना गर्न लागेको र आगामी तीन बर्षभित्र ५ हजार किसानलाई बाख्रा र कुखुरा पालन व्यवसायमा अब्बल बनाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताइन्छ ।
त्यस्तै माछा र तरकारी खेतीका लागि समेत कृषकलाई आकर्षित गरिने बताइएको छ । फ्रेस हाउस स्थापना गर्ने सहकारीको लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । किसानलाई प्रोत्साहन गर्न यस संस्थाले स्वच्छ र स्वस्थ मासु विक्रीका लागि एक सय वटा फ्रेस हाउस स्थापना ब्रान्डिङ गर्ने सोच राखेको छ– अध्यक्ष सञ्जेलले भने । विपद् व्यवस्थापनको क्षेत्रमा समेत सहकारीले उल्लेख्य भूमिका निर्वाह गरेको छ । बाढी, पहिरो, आगलागी जस्ता विपद् परेको अवस्थामा सहकारीले यस बर्ष मात्रै चार हजार चार सय १६ जनालाई एक करोड १० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ । गत बर्ष ६० लाख रुपैयाँ उपलब्ध गराई सहकारीले सुरुङ्गामा सर्पदंश उपचार केन्द्र समेत स्थापना गरेको थियो । आफ्ना सदस्यको मृत्यु भए सहकारीबाट लिएको ऋण सबै मिनाहा गर्ने कार्यक्रम अन्तर्गत हालसम्म एक हजार एक सय १४ जनाको सात करोड ७६ लाख १२ हजार तीन सय ७३ रुपैयाँ ऋण मिनाहा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सहकारीले युवा स्वरोजगार कार्यक्रम समेत सञ्चालन गरेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले कृषि तथा पशुपालनमा ६ सय जना र टेम्पो पिकअप भेन सञ्चालनमा एक हजार चार सय जना गरी दुई हजार जनालाई स्वरोजगार बनाउन ६० करोड रुपैयाँ लगानी गरेको कार्यक्रममा जानकारी दिइयो । आगामी दिनमा १० हजार युवालाई स्वरोजगार बनाउने सहकारीको लक्ष्य रहेको प्रमुख गिरीले बताए ।

सहकारीले नमूना मन्टेश्वरी विद्यालय समेत सञ्चालन गर्दै आएको बताइएको छ । संस्थाले हाल चारपानेमा सहकारी नमूना मन्टेश्वरी विद्यालय सञ्चालन गर्दै आएको र आगामी दिनमा यसलाई थप गर्दै लैजाने योजना रहेको बताइएको छ । आफ्ना शेयर सदस्यलाई सञ्जीवनी कार्यक्रम अन्तर्गत प्रेसर र सुगरको औषधिमा ५० प्रतिशत सुविधा उपलब्ध गराउँदै आएकोे छ । आगामी बर्षदेखि थाइराइड, मुटु लगायत १० वटा जटिल रोगको समेत औषधि उपचारमा सहयोग गर्ने जानकारी दिइयो ।

सहकारीले हवस संस्था र कनकाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग सफल मर्ज गरेको र अन्य सहकारीसँगको मर्ज प्रक्रियालाई निरन्तरतामा राखेको जानकारी दिइयो । यस बर्ष संस्थाको केन्द्रीय कार्यालय भवन सञ्चालन हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । संस्थाको केन्द्रीय कार्यालय भवनसहित व्यवसायिक भवन यसै बर्ष सञ्चालनमा आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जुन भवनमा प्राविधिक शिक्षालय, तालिम तथा सेमीनार हल, क्यान्टिन, डकुमेन्ट्री हल लगायतका सुविधाहरु रहने बताइन्छ । यो भवन नेपालमा सहकारी क्षेत्रको पहिचान स्वरुप रहने विश्वास गरिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए ।

कर मात्रै आठ करोड बुझायो
सहकारीले आर्थिक बर्ष ०७४÷०७५मा आठ करोड १४ लाख २५ हजार ९ सय ५८ रुपैयाँँ कर बुझाएको छ । योसँगै सहकारीले मुलुकभरकै सहकारीमध्ये सबैभन्दा बढी कर बुझाउने संस्थाको रुपमा आफूलाई दावी गरेको छ । आफ्नो सम्पूर्ण कारोबारलाई पूर्ण रुपमा पारदर्शिता कायम गरी सरकारलाई नियमित रुपमा कर तिर्दै आएको सहकारीले आयकर वापत ५ करोड ९६ लाख ६ हजार तीन सय ८३ रुपैयाँ र अन्य कर दुई करोड १८ लाख १९ हजार ५ सय ७५ रुपैयाँ बुझाएको सहकारीका अध्यक्ष सञ्जेलले बताए ।

वित्तीय अवस्थामा पनि अब्बल सहारा
संस्थाको असार मसान्तसम्मको लेखा परीक्षणको आधारमा सहकारीको शेयर पुँजी ७९ करोड ६६ लाख ८० हजार चार सय रुपैयाँ रहेको बताइएको छ । त्यस्तै बचत तीन अर्ब ५८ करोड ९८ लाख २९ हजार ८ सय २१ रुपैयाँ र बाह्य ऋण एक अर्ब ६१ करोड ६३ लाख ७० हजार तीन सय ३६ रुपैयाँ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोषहरु ८४ करोड ६५ लाख तीन हजार चार सय ७८ रुपैयाँ र ऋण लगानी ५ अर्ब ६९ करोड ६४ लाख ७४ हजार तीन सय ३६ रुपैयाँ र सहकारीको कूल सम्पत्ति तथा दायित्व ६ अर्ब ९२ करोड ३३ लाख ७४ हजार ५ सय ७९ रुपैयाँ रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)