Aamsanchar

नदी उत्खनन्ले कृषक पीडित

Author Image
सोमवार, भदौ ११, २०७५

अमित खम्बू

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित बिरीङ नदीमा नदीजन्य सामग्रीहरुको उत्खनन्का कारण स्थानीय रमाइलोबस्तीका चौरासीविघे जल उपभोक्ता समूहमा आवद्ध कृषकहरु पीडित भएका छन् ।

उत्खनन्का कारण नदीको सतह गहिरिएर पैनीमा पानी नउठेपछि उनीहरु पीडित भएका हुन् । सिञ्चाइं सुविधा पु¥याई कृषि उत्पादन बढाउने उद्देश्यले २०६४ सालमा सिञ्चाईं विकास डिभिजन कार्यालय झापामा दर्ता भएको उक्त समूहमा उनीहरु आवद्ध छन् ।

मापदण्ड मिचेर नदी किनारमा सञ्चालनरत् क्रसरहरुले जथाभावी प्रयोग गर्ने मेसिन र स्थानीय मजदुरहरुले मनोमानी ढंगले नदीजन्य सामग्रीहरु उत्खनन् गर्ने कारणले समस्या सृजना भएको आइतबार पत्रकारहरुसँगको भेटघाटमा समूहका अध्यक्ष तारानिधि भट्टराईले बताए । ‘सम्बन्धित निकायले तत्काल उत्खनन् कार्यलाई मात्र नियन्त्रण गर्ने हो भने पनि हामी कृषकहरुलाई धेरै राहत पुग्नेछ’– उनले भने ।

त्यसैगरी नदीजन्य सामग्रीहरु उत्खनन् कार्य नियन्त्रण र मुहान क्षेत्रमा स्थायी बाँध निर्माणको लागि सम्बन्धित निकायमा आफूहरुले पटक–पटक पहल गरे पनि केवल आश्वासन मात्र पाएको समूहका सदस्य कमलप्रसाद निरौला बताउँछन् । चालूआर्थिक वर्षमा योजना तर्जुमाका लागि संघीय सांसद् पवित्रा निरौला खरेलमार्फत् संघीय संसद र प्रदेश नम्बर १का सांसद् वृख प्रधानमार्फत् प्रदेश संसदमा पत्र पठाएको सदस्य निरौलाले बताए ।

२०२२ सालदेखि सिञ्चाइको मुहानकोरुपमा रहेको उक्त पैनीमा पानी नउठ्दा त्यस क्षेत्रका एक सय ५१ घरधुरीका दुई सय विगाहा खेती प्रभावित भएको समूहका सल्लाहकार सदस्य एवम् उपभोक्ता कमल भट्टराईले बताए । पैनीमा पानी नउठ्दा आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यता रहेको उनले बताए ।

मुहान क्षेत्रको दीगो व्यवस्थापन गर्न सकेमात्र उक्त पैनीको पानीले वर्षा र हिँउदको समयमा खेतीमा पर्याप्त सिञ्चाइ गर्न सकिने स्थानीय उपभोक्ता श्रीप्रसाद कटुवाल बताउँछन् । हाल डेढ किलोमिटर पैनी खनिए पनि त्यस पैनीको पानीले तीन किलोमिटर क्षेत्रको खेती सिञ्चाईं हुने गरेको उनले बताए ।

पटक–पटक गरी मुहानको बाँध निर्माणमा यस अघि लगानी गरिएको सरकारी अनुदान एक लाख १६ हजार रुपैयाँ सबै बालुवामा पानी खन्याए झैं भएको उनीले बताए ।

त्यस्तै गतआर्थिक वर्षमा वडामार्फत् विनियोजित ८० हजार रुपैयाँले मुहानमा नभई पैनी भत्किएको समस्या समाधान गर्न प्लम निर्माण गरेको बताइएको छ ।

वडाध्यक्ष नवराम ढुंगाना ‘नवीन’का अनुसार त्यस क्षेत्रमा स्थायी बाँध निर्माणको लागि जनताको तटबन्ध कार्यक्रममार्फत मुहानको अनुगमन तथा निरीक्षण भइसकेको छ । छिटोमा भदौदेखि र ढिलोमा दशैंपछि काम शुरु हुने जानकारी गराएका उनले जथाभावी गरिएको नदीजन्य सामग्रीहरु उत्खनन् गर्ने कार्यलाई नियन्त्रण गर्न पहल गर्ने ढुंगानाले जानकारी दिए । चालू आर्थिक वर्षमा वडामार्फत् समूहलाई ८० हजार रुपैयाँ बिनियोजन भएको बताइएको छ ।

यता स्थानीय सरकार प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार उक्त स्थानको गैंडेस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यलयबाट निरीक्षण भएको र नगरपालिकाको तर्फबाट तारजालीको माग गरिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)