Aamsanchar

पूर्वी नाका कांकरभिट्टाबाट भुसको व्यापार : डेढ करोडको निर्यात

Author Image
बिहिवार, माघ १७, २०७५

काँकरभिट्टा।

चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाले भुस निर्यातबाट डेढ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार पुस मसान्तसम्ममा धानको भुस निर्यात हुँदा एक करोड ५२ लाख ५७ हजार नौ सय २९ रुपैयाँ राजश्व संकलन भएको हो । ‘नेपालबाट भारत लगायत तेस्रो देश निर्यात हुने उत्कृष्ट १० वस्तुमध्ये धानको भुस पनि पर्छ’ –प्रमुख भन्सार अधिकृत अर्यालले भने– ‘यो नाका भएर निर्यात हुने प्रमुख वस्तु चिया हो ।

चालू आर्थिक वर्षको छ महिनामा चिया मात्रै निर्यात गर्दा दुई अर्बभन्दा बढी राजश्व संकलन भएको छ ।’
चालू आर्थिक वर्षको पाँच महिनामा पाँच अर्ब १७ करोड ८४ लाख २१ हजार पाँच सय ३९ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले चिया निर्यातबाट मात्रै ३९.६० प्रतिशत राजश्व संकलन गरेको छ । धानको भुस निर्यातबाट ०.२९ प्रतिशत राजश्व संकलन गरेको प्रमख भन्सार अधिकृत अर्यालले बताए । उनका अनुसार काँकरभिट्टा नाका भएर निर्यात हुने प्रमुख १० वस्तु मध्ये नवौं नम्वरमा पर्ने धानको भुस निर्यातजन्य वस्तु हो ।

सोही अवधिमा मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै आयात भएका वस्तुबाट ४ अर्ब ८६ करोड ३६ लाख २५ हजार आठ सय २१ रुपैयाँ राजश्व संकलन गरेको छ । ‘नेपाल भित्रिने वस्तु मध्ये पेट्रोलियम पदार्थ प्रमुखमा पर्छ’–प्रमुख भन्सार अधिकृत अर्यालले भने– ‘छ महिनाको अवधिमा मेची भन्सार भएर भित्रिएको पेट्रोलियम पदार्थबाट एक अर्ब २७ करोड २६ लाख २१ हजार आठ सय ६० रुपैयाँ राजश्व संकलन भएको छ ।

नेपालले धानको भुस निर्यात गर्दै आए पनि धानका लागि भने भारतकै भर पर्नु पर्ने अवस्था छ । नेपाल कृषि प्रधान देश भए पनि प्रत्येक वर्ष करिब १० लाख मेट्रिक टन धान भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिन्छ । सरकारको पछिल्लो छ वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि अहिले धान आयात दोब्बर भएको छ । वार्षिक रूपमा करिब ६० लाख मेट्रिक टन धान नेपालमा खपत हुने गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्क छ । ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गरेको जीडीपीमा कृषि क्षेत्रको योगदान करिब ३३ प्रतिशत छ । देशको कूल उत्पादनमा कृषिको योगदान २१ प्रतिशत छ । त्यसमा पनि धान कृषि क्षेत्रभित्र पर्ने मुख्य बाली हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार छ वर्षको अवधिमा एक खर्ब ३१ अर्ब ६७ करोड रुपैयाँको धान नेपाल आयात भएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०६९÷०७० मा १३ अर्ब ४४ करोड १४ लाख रुपैयाँको धान आयात भएको थियो । गत आर्थिक वर्ष २०७४÷०७५ मा आयात बढेर २९ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा परिमाणमा ७० हजार तीन सय ४० टन आयात बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्वदेशमा उत्पादित धान विदेश गएको चर्चा चले पनि वर्षेनि धान आयात हुने क्रम बढेर गएको छ ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी भारतबाट धान आयात हुने गरेको छ । आयातित धानमध्ये ५० प्रतिशत भारतबाट र ४० प्रतिशत जापानबाट आयात भएको छ । जापानबाट भने अनुदानमा चामल आयात हुने गरेको छ । यस्तै १० प्रतिशत थाइल्याण्डबाट आयात भएको सरकारको प्रतिवेदनमा उल्लेख छ । धानको उत्पादन बढाउन सरकारले सतह सिँचाइ, भूमिगत सिँचाइ, डिप ट्युवेल, स्यालो ट्युवेल सोलार सिँचाइ पु¥याइने योजना सार्वजनिक गरे पनि दिन प्रतिदिन खेतीयोग्य जमिन मासिँदै गएको छ । प्लटिङका कारण खेतीयोग्य जमिन मासिँदै गएको हो ।

कहिले कति धान आयात भयो ?

आर्थिक वर्ष २०६९÷०७० मा १३ अर्ब ४४ करोड १४ लाख रुपैयाँको धान आयात भएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा १६ अर्ब ९३ करोडको आठ लाख ६१ हजार पाँच सय ८३ टन आयात भएको थियो ।

आर्थिक वर्ष २०७१÷०७२ मा २५ अर्ब २५ करोड रुपैयाँ बराबरको ११ लाख ८९ हजार चार सय ८२ टन धान आयात भएको थियो । आर्थिक २०७२÷०७३ मा सात लाख ४४ हजार सात सय ६४ टन आयात भएको थियो । उक्त धान खरिदमा २२ अर्ब ८० करोड रुपैयाँ बिदेशिएको जनाइएको छ ।

२०७३÷०७४ मा १० लाख ८६ हजार एक सय ७७ टन धान आयात भएको थियो । उक्त धान खरिदमा २३ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ बिदेशिएको जनाइएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा आयात बढेर २९ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा परिमाणमा ७० हजार तीन सय ४० टन आयात बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)