Aamsanchar

बहुप्रतिक्षित मेची पुलको उद्घाटन आज

Author Image
बिहिवार, माघ १७, २०७५

भद्रपुर।

स्थानीयको सात दशकको लामो संघर्ष र दवाव पश्चात झापाको भद्रपुरस्थित मेची नदीमा नवनिर्मित पुलको उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार आज दिउँसो ३ बजे मेची पुलको उद्घाटन गर्न लागेका हुन् । नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको बहुप्रतिक्षित मेची पुलको उद्घाटनका लागि प्रधानमन्त्री ओली झापा आउने भएपछि यसको तयारी तीव्र बनाइएको छ ।

भद्रपुर नगरपालिका, मेची पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरी संयुक्तरुपमा पुल उद्घाटनको तयारीमा जुटेका छन् । मेची पुल निर्माण कार्य सम्पन्न भइसकेको करिब छ महिनापछि यसको उद्घाटनका लागि आयोजक समितिले रंगरोगन गरिएको पुल सरसफाई गरेको छ । पुलमाथि शिलालेख राख्नुका साथै कार्यक्रम स्थलको व्यवस्थापन पनि पूरा भएको छ ।

यता मेची पुलको उद्घाटनका लागि प्रधानमन्त्री ओली आउने भएपछि झापा प्रहरी, प्रशासन सुरक्षा व्यवस्थापनको तयारीमा जुटेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद ढकालले जानकारी दिए । कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनका लागि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी कार्यालय झापाका एसपी ढकाल, सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका एसपी रेशमकुमार थाक्सू लगायतका सुरक्षाकर्मीले पुलको स्थलगत अनुमगन गरिसकेका छन् ।

सीमावर्ती क्षेत्रमा हुन लागेको कार्यक्रमका लागि झापाको प्रहरी प्रशासनले भारतीय सुरक्षाकर्मीसँग पनि सहकार्य गरिसकेका जनाइएको छ । तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन बर्षभित्र पुल निर्माण हुने दाबी गरेका थिए ।

भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुलको कूल लागत करिब ३३ करोड रहेको छ । पुलको लम्बाइ पाँच सय ६० मिटर र चौडाइ ११ मिटर रहेको निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनका इञ्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)