Aamsanchar

‘७२ अर्ब कर नतिरे एनसेलका टावर ध्वस्त पार्छौ’

Author Image
शुक्रवार, माघ १८, २०७५

बिर्तामोड।

एनसेलले सरकारलाई तिर्नुपर्ने ७२ अर्व कर छली गरेको विरोधमा झापाको दमकमा भएको विद्यार्थीको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

राज्यलाई तिर्नुपर्ने कर छली गर्ने एनसेललाई सरकारले कार्वाही गर्नुको सट्टा एनसेल हर्कतको बिरुद्ध आन्दोलन गर्ने बिद्यार्थीमाथि राज्यले दमन गरेको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

बिहीबार झापाको दमकमा अखिल क्रान्तिकारीको आयोजनामा सोही बिषयलाई लिएर बिरोध प्रदर्शन गरिरहेकोबेला प्रहरीले हस्तक्षेप गरेको थियो । झापाका विभिन्न क्याम्पसहरुबाट आएका बिद्यार्थी दमक बहुमुखी क्याम्पसमा जम्मा भइ बिरोध प्रदर्शन शुरु गरेको बेला शान्तिपूर्ण कार्यक्रममा प्रहरीले रोक लगाएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिद्यार्थीहरुको शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो । प्रधानमन्त्री केपी ओली दमक आउने कार्यक्रम रहेकोले सुरक्षाको लागि भन्दै हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाइ छ ।

प्रहरी हस्तक्षेपका बाबुजुद बिद्यार्थीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभालाई क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै विकले एनसेलले तिर्नुपर्ने ७२ अर्ब नतिरे एनसेलका सबै टावरहरु ध्वस्त गरिदिने चेतावनी दिए । बिद्यार्थीहरुको शान्तिपूर्ण बिरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले केपी ओली दमक आउँदा जनताको बोलिमाथि बन्देज लगाएर पञ्चायतीशैली देखाएको आरोप लगाए ।

कार्यक्रममा नेकपा झापाका जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, बिद्यार्थीका ब्युरो संयोजक गणेश कार्की, अखिल क्रान्तिकारी झापाका अध्यक्ष सञ्जय राई लगायत नेकपाका नेता कार्यकर्ता र स्थानीय जनताको समेत उपस्थिति रहेको थियो । एनसेलले नेपाल सरकारलाई तिर्नु पर्ने पुजीगत लाभकर ७२ अर्व नतिरेपछि यसको चौतर्फी बिरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)