Aamsanchar

न्यायाधीश कारबाहीमा परेपछि ३३ किलो सुनकाण्डको मुद्दा एउटै इजलासमा

Author Image
शुक्रवार, माघ १८, २०७५

विराटनगर ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका १२ जनाविरूद्धको मुद्दा विराटनगर उच्च अदालतले एउटै इजलासमा राखेको छ।

यसअघि यो प्रकरणका अन्य अभियुक्तहरूको फरक(फरक इजलास सुनुवाइ भएको थियो। ती इजलासबाट कतिपयलाई धरौटी घटाएको र कतिपयलाई तारेखमा छोडेको भन्दै न्यायपरिषदले मुख्यन्यायाधीश कुलरत्न भुर्तेलसहित ६ न्यायाधीशलाई परिषदमा तानेको थियो।

न्यायाधीश परिषदमा तानिनु कारबाही सरह हो। परिषद्को यो कदमपछि उच्च अदालत विराटनगर बाँकी सबै १२ जनाको मुद्दामा एउटै इजलास तोकेको हो। बिहीबारदेखि कायममुकायम मुख्यन्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको इजलासले ३३ किलो सुन र सनमहत्या प्रकरणका मुख्य अभियुक्त भुजुङ गुरूङसहित १२ जनाको मुद्दामा सुनुवाइ सुरू गरेको छ।

बहस नसकिएपछि शुक्रबार पनि उक्त मुद्दाको सुनुवाइ हुने रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए। मुख्य अभियुक्त गुरूङ, अभियुक्तहरू दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, रामहरी सुवेदी, फाल्दुङ फुल्टुङ भन्ने लक्षु गुरूङ, रेवतकुमार आचार्य, शैयद अकवर, बेनु श्रेष्ठ, इम्तियाज उद्दिन, डेभिट भन्ने छिरिङ घलेको मुद्दामा एकैसाथ सुनुवाइ भैरहेको छ।

भुजुङ गुरूङको मुद्दा यसअघि ३४ पटक सरिसकेको छ। सरकारी वकिल र गुरूङका कानुन व्यवसायीले स्थगित गर्ने, न्यायाधीशले हेर्न नभ्याउने भएर ३४ पटक मुद्दा सरेको हो। सरकारी वकिलले मात्रै उनको मुद्दा ८ पटक स्थगित गरेको देखिन्छ।

न्यायाधीश थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेश पौड्याल, उमेशकुमार सिंह, नगेन्द्र लाभको इजलासमा गुरूङको मुद्दा परेको दिन सरकारी वकिल कार्यालयले स्थगित गरेको देखिन्छ। यी पाँचै न्यायाधीश अहिले परिषदमा तानिएका छन्। उनीहरू तानिएको केही दिनपछि मुख्यन्यायाधीश भुर्तेल पनि परिषद् तानिएका थिए। उच्च अदालतको पेशी मुख्य न्यायाधीशले तोक्ने गर्छन्।

प्रधानन्यायाधीशमा नियुक्त भएपछि चोलेन्द्र शमशेर राणाले सुरू गरेको सुक्ष्म निगरानीका क्रममा यी न्यायाधीशमाथि धेरै उजुरी र गुनासा परेका थिए। त्यसपछि परिषदले उनीहरूलाई माथि तान्ने निर्णय गरेको थियो।
तस्करीको ३३ सुन बेपत्ता भएपछि गत फागुन १८ गते सनम शाक्यको हत्या भएको थियो। त्यसपछि गृह मन्त्रालयले गरेको अनुसन्धानले त्रिभुवन विमानस्थल हुँदै झन्डै ३८ क्विन्टल सुन तस्करी भएको देखाएको थियो।-सेतोपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)