Aamsanchar

सुरुङ्गा बजार फोहोरमुक्त बनाउने अभियान

Author Image
शुक्रवार, माघ १८, २०७५

सुरुङ्गा।

सुरुङ्गा बजारलाई फोहोरमैलामुक्त बनाउने अभियान शुरु गरिएको छ । कनकाई महिला एकता वातावरण संरक्षण समूह, कनकाई सामुदायिक वन उपभोक्ता समूह, कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा बजार व्यवस्थापन समिति, सब–डिभिजन वन कार्यालय सुरुङ्गाको संयुक्त पहलमा सरसफाइ अभियान शुरु भएको हो । यो अभियानलाई कनकाई नगरपालिका वार्ड नंं. ३ को सहयोग रहेको छ ।

यस क्रममा पहिलो पटक सुरुङ्गा पश्चिम बसस्टपदेखि दक्षिण वनपथको दुवैतर्फ कनकाई बहुमुखी क्याम्पसको क्षेत्रसम्म सरसफाई गरिएको छ । ‘फोहोरमैला मुक्त शहर, तपाई हामी सबैको रहर’ भन्ने नाराका साथ सम्पन्न सरसफाइ कार्यक्रममा संलग्न सबै संस्थाका पदाधिकारीहरु, वन उपभोक्ताहरु, व्यापारी, व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।

सो अभियान अन्तर्गत फोहोरमैला व्यवस्थापन गरौं, वातावरण जोगाऔं, वन क्षेत्रलाई फोहोरमैला फाल्ने ठाउँ नबनाऔं, घर, पसल र उद्योगबाट उत्पादित फोहोरमैला व्यवस्थित गरौं, फोहोरमैला संकलन गरी नगरपालिकाको फोहोरमैला बोक्ने गाडीमा व्यवस्थित रुपमा पठाऔं लगायतका सन्देश दिन सरसफाइ कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रमले आफ्नो ठाउँ आफैं सफा राख्ने सचेतना दिने आयोजकको भनाइ छ । कनकाई महिला एकता वातावरण संरक्षण समूहका अध्यक्ष मान्ता खरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा कनकाई नगर कार्यपालिका सदस्य कृष्णमाया भुजेल, कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्यामप्रसाद ओली, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, कनकाई उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरतकुमार अधिकारी, सब–डिभिजन वन कार्यालय सुरुङ्गाका सुवेदार हरि वि.क. लगायतले शुभकामना मन्तव्य राखेका थिए । कनकाई महिला एकता वातावरण संरक्षण समूहका उपाध्यक्ष धनमाया चिमरियाको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव वर्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)