Aamsanchar

छुर्पी र ध्यू बेचेर मासिक तीन करोड आम्दानी

Author Image
शनिवार, माघ १९, २०७५

कुकुरलाई दुई करोडको छुर्पी / फ्रेस्को इन्डष्ट्रीको चर्चा विश्वभर

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल,बिर्तामोड।

अग्र्यानिक ध्यू र छुर्पी उत्पादनका लागि फ्रेस्को इन्डष्ट्री इलाम नेपालमा मात्र नभई विदेशमा समेच चर्चित छ । अमेरिका, क्यानेडा, सिंगापुर, जापान र कोरियामा छुर्पी निर्यात गरेर चर्चा कमाएको उक्त इन्डष्ट्रीले पछिल्लो समय ध्यूको प्रमुख ब्यापारिक केन्द्र राजधानीलाई बनाएको छ ।

यहाँ उत्पादित ध्यू दिनहुँजसो काठमाडौं पुग्ने गरेको छ । दैनिक पाँचसयदेखि सातसय केजीसम्म अग्र्यानिक ध्यू उत्पादन गर्दै आएको र त्यसको प्रमुख बजार काठमाडौंको ‘बिग मार्ट’ रहेको इन्डष्ट्रीका सञ्चालक अर्जुन शिवाकोटीले बताए । उनले भने– ‘हिमाल, पहाड चरेका गाई बस्तुको दूध संकलन गरेर ध्यू तयार गरिन्छ, हाम्रो इन्डष्ट्रीबाट उत्पादित ध्यू स्थानीयस्तरमा खासै खपत छैन, हाम्रो उत्पादन सोझैं काठमाडौं पुग्छ ।’

दुई करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको इन्डष्ट्रीले इलामका ९ सय ४३ जना कृषनले उत्पादन गरेको १४ हजार लिटर दूध दैनिक खरिद गर्दै आएको छ । सोही दूधबाट इन्डष्ट्रीले तयार गरेको गरेको ध्यू राजधानी लगायतका ठूला बजारमा जाने गरेको छ भने तयार पारिएको छुर्पी भने सोझैं विदेश निर्यात हुने गरेको छ । जसबाट मासिक दुई करोड भन्दा बढी नेपाल भित्रने गरेको शिवाकोटीले बताए । उनले भने – ‘इन्डष्ट्रीले मासिक १४ टन छुर्पी युएसए, क्यानडा, कोरिया, सिङ्गापुर,ताइवान लगायतका देशमा नियात गर्छ सो वापत नेपालमा मासिक २ करोड ३७ लाख रुपैयाँ नेपाल भित्रन्छ ।’

इन्डष्ट्रीले उत्पादन गरेको ध्यूको मात्रै कारोवार मासिक ८२ लाख बढी हुन्छ उनले भने–‘ इलाममा सञ्चालित इन्डष्ट्रीले यहाँका झण्डै एक हजार कृषकलाई आत्म निर्भर बनाएको छ भने, ३५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।’

हर्कटे, मंगलवारे, बिब्ल्याँटे र फिक्कलमा संचालित फ्रेस्को इन्डष्ट्रीबाट इलामवासीले वर्षेनि करोडौं रुपैयाँ इलाम भित्र्याउने गरेका छन् । इन्डष्ट्रीले उत्पादन गरेको ध्यू अग्यानिक भएका कारण स्वादेशमा बढ्दो माग रहेको रे छुर्पी कुकुरका लागि विदेशीले खरिद गर्ने गरेको इन्डष्ट्रीका सञ्चालक शिवाकोटीले बताए ।

कुकुरका लागि पोषिलो आहार भएकाले विदेशीले यहाँको छुर्पी मनपराएको उनको भनई छ । उनी भन्छन्–‘ कुकुरका लागि पोषिलो भएकै कारण मानिसले खाने छुर्पी भन्दा कुकुरले खाने छुर्पीको माग विदेशमा उच्च छ ।’

झापा बिर्तामोड निवासी शिवाकोटीले सन २०१३ बाट इलाममा फ्रेस्को इन्डष्ट्री सञ्चालनमा ल्याएर कुकुरका लागि छुर्पी विदेश निर्यात गर्दै आएका छन् । फ्रेस्को इन्डष्ट्रीले उत्पादन गरेको घीउले अष्ट्रेलिया र दुबईमा समेत राम्रो बजार पाएको उनको भनाई छ । उनी भन्छन्–‘ उद्योगबाट उत्पादित मासिक ११ हजार केजी घीउ अष्ट्रेलिया र दुबई निर्यात गर्दै आएका छौं ।’

इलाममा अन्य उद्योगले पनि मासिक करोडौं रुपैयाँको छुर्पी निर्यात गर्दै आएका छन् । तर, छुर्पीको गुणस्तर कायम गर्न नसक्दा अमेरिका र जापानमा छुर्पीको बजार घटेको हो । नेपाली छुर्पी खुवाएपछि कुकुर भूत्ला झर्ने,खुइलिन थालेपछि छुर्पीको बजारमा गिरावट आएको यसमा संलग्न बताउँछन् । तर, शिवाकोटीले उत्पादन गरेको छुर्पी कुकुरका लागि पोषिलो देखिएपछि विदेशमा माग उच्च रहेको बताइएको छ ।

मानिसले खाने छुर्पी नौनीसहितको दुधबाट बन्ने गर्दछ । तर, कुकुरका लागि बनाइने छुर्पी फ्याटरहित हुने शिवाकोटीको बताउँछन् । दुधबाट नौनी निकालिने भएकाले कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर प्रोटिन मासुमा भन्दा बढी हुने भएकाले कुकुरका लागि छुर्पीको आहार राम्रो भएको सिवाकोटीको भनाई छ ।

कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो पिस दियो भने कुकुरले खाइसक्न कम्तिमा पाँच घण्टा लागाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । कुकुरको मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ शिवाकोटी भन्छन् –‘ छुर्पी मासु भन्दा सस्तो र सफा पनि हुन्छ । कुकुरले खाइ नसकेको छुर्पी पुनः खुवाउन सकिन्छ । तर, एक पटक दिएको मासु नखाए फाल्नु पर्ने हुन्छ । नत्र गन्हाउने सम्भावना रहन्छ ।’

छुर्पी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले उत्पादन गर्ने खाद्य पदार्थ हो । चौरी र याकको दुधबाट छुर्पी उत्पादन गरिन्छ । हिमालय क्षेत्रमा छुर्पी लोकप्रिय छ । नेपालका हिमाली क्षेत्रका शेर्पा समुदाय छुर्पीलाई शेर्कम भन्दछन् । भुटानमा जोंख्खा भाषामा छुर्पीलाई दुरुकोवा वा दुरुवा भनिन्छ । तिब्बलमा पनि छुर्पीको उत्पादन तथा प्रयोग हुने गर्दछ । शेर्पा समुदायको संस्कृतिसँग छुर्पी जोडिएको छ । तर, इलामवासीले अहिले छुर्पीलाई व्यवस्थित रुपमा उत्पादन सुरु गरेका छन् । त्यसमाथि पनि फ्रेस्को इन्डष्ट्रीले उत्पादन थालेपछि इलामको छुर्पी संसारभर लोकप्रिय हुँदै गएको छ ।

फ्रेस्को इन्डष्ट्रीले उत्पादन गरेको छुर्पी र अग्यानिक ध्यू अहिले बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलामा समेत राखिएको छ । मेलामा अग्यानिक ध्यू किन्नेको लर्काे नै लागेको छ भने कुकुरका लागि तयार गरिएको छुर्पी देखेर मेला आएका जो कोही अच्चममा पर्ने गरेका छन् । शिवाकोटी भन्छन्–‘ कुकुरले छुर्पी खान्छ भन्दा कतिपय त अच्चममा पर्दै सोध्छन् पनि कसले कुकुरलाई छुर्पी दिएर पाल्छ भनेर ।’

शिवाकोटीका अनुसार नेपालमा कुकुरलाई छुर्पी दिने परिपाटीको विकास नै भएको छैन । यहाँ पालिएका कुकुरलाई पनि छुर्पी दिने हो भने मासु भन्दा सस्तो र कुकुर पनि हेल्दि रहन्छन् ।’

आफ्नै ठाउँमा लागेको अन्तराष्ट्रिय मेलाको प्रमोडका लागि फ्रेस्को इन्डष्ट्रीले उत्पादन गरेको प्रोडक्ट ल्याएको हुँ उनले भने–‘ विदेशमा ध्यू र छुर्पीको माग उच्च छ यहाँका सर्वसाधारणलाई जानकारीका लागि मात्रै हाम्रो प्रोडक्ट ल्याएका हौं ।’

भारतीय ध्यू का कारण नेपालमा उत्पादित ध्यूको वजार खस्केको बताउँदै उनले भने–‘ भारतबाट मिसावट ध्यू सस्तोमा पाइन्छ तर, फ्रेस्को इन्डष्ट्रीले उत्पादन गरेको ध्यू अग्र्यानिक भएकाले केही महंगो छ, एक पटक प्रयोग गरेपछि ग्राहकले अरु ध्यू रोज्दै रोज्दैनन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 464

प्रतिक्रिया (०)