सागर गौतम / अर्जुनधारा ।
अर्जुनधारा नगरपालिकाले पोलिटेक्निकल इन्स्टिच्यूट निर्माण गर्ने भएको छ । अर्जुनधारा ११ स्थित पूर्वपश्चिम राजमार्ग जोडिएको ठाउँमा इन्स्टिच्यूट निर्माण गर्नका लागि नगरको चैत १९, २१ र २२ गते सम्पन्न चौथो नगरसभाले निर्णय गरेको हो ।
नगरसभाले पारित गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख हरिकुमार रानाले इन्स्टिच्यूट निर्माणका लागि निर्णय गरेसँगै औपचारिक रुपमा प्रदेश र संघ सरकार सँग आवश्यक गृहकार्य थालिसकेको बताए ।
प्रमुख रानाका अनुसार त्यसका लागि सम्बन्धित विषयगत कार्यालयबाट पनि सकारात्मक जवाफ आएकाले ९ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद० सीटीईभीटीसँग पहल भइसकेको छ । करिब १० विगाहा क्षेत्रफलमा इन्स्टिच्यूट निर्माण हुने जनाइएको छ । नगरसभाले विशेष प्रस्ताव पारित गर्दै इन्स्टिच्यूट निर्माण गर्ने निर्णय स्पष्ट पारेको छ ।
तीन दिनसम्म संचालन भएको नगरसभाले ८ वटा योजना संशोधन गरेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए। प्रमुख प्रशासकीय भूर्तेलका अनुसार बहुवर्षीय योजना सञ्चालनका लागि १९ वटा योजना २०७५÷०७६ को बजेटबाट भुक्तानी हुनेगरी निर्णय भएको बताए । त्यस्ता बुहवर्षीय योजना नगरी नहुने भएकाले नगरसभाले निर्णय गर्दै स्पष्ट पारेको हो ।
त्यस्तै, वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिसँग गरिएको मागका बारेमा जानकारी दिँदै उनले ६ वटा भवन निर्माण हुने बताए ।
जिल्ला समन्वय समितिले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत लागत व्यहोर्ने गरी १, २, ५, ६, ९ र ११ नम्बर वडा कार्यालयको भवन बन्ने भएको छ । भवन निर्माणका लागि नगरले जग्गा दाताबाट जग्गा पाइसकेको पनि उनले बताए ।
त्यस्तै, १ नम्बर वडामा बिरिङ नदीको कटान रोक्न एउटा ड्याम बनाउन आईईसहित डीपीआर बनाउने र अर्जुनधारा–२ मा अवस्थित साठीमुरेमा पर्यटकीयस्थल निर्माण गर्न माटो परीक्षण डीपीआर बनाइने भएको छ । त्यस कार्यका लागि बिरिङ नदीको उत्खनन्बाट प्राप्त सञ्चित रकम खर्च गरिने भएको छ ।
नगरको भित्री तथा बाहिरी चक्रपथ निर्माणका लागि बाटो खोल्ने, पुरुवा हाल्ने र ग्राभेल गरिँदा नगरपालिकाको उपकरण प्रयोग गर्ने पनि नगरसभाले पारित गरेको छ । त्यस्तै, शनिश्चरे बजार व्यवस्थापनका लागि सम्बन्धित वडाले प्रक्रिया अघि बढाइसके पनि नगरले जग्गा प्राप्ति ऐन २०३४ अनुरुप काम गर्ने भएको छ ।
प्रचलित ऐनअनुसार काम गर्दै जाने हो, सम्भव भएसम्म निःशूल्क खोजी गरेर बजारको व्यवस्थापन गरिनेछ’, नगर प्रमुख रानाले भने, ‘बजारको करिब दुई किलोमिटर चारै दिशाभित्र डेढ कठ्ठा जग्गा पाए बजारको व्यवस्थापन गर्न सकिन्छ ।’ व्यवस्थापनकै विकल्पका रुपमा नगरले खाली राखिएको जग्गा अधिग्रहण गर्न पनि सक्ने उनको भनाइ छ ।
नेपाल सरकारको नीतिअनुरुप स्वास्थ्य चौकी नभएको वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना गर्ने सहित त्यसका लागि वडा–४ र ७ वडामा रहेको स्वास्थ्य चौकीबाट कर्मचारी खटाउने चौथो नगर सभाले निर्णय गरेको छ । निर्माणाधीन रहेको २ र ११ नम्बर वडामा आवश्यक कर्मचारी, उपकरण र फर्निचरको व्यवस्था गर्ने नगरसभाले निर्णयमा समावेश गरिएको छ ।
त्यस्तै, नगर प्रमुखको संरक्षकत्वमा नगर युवा समिति, नगर खेलकुद समिति र नगर सांस्कतिक, कला समिति गठन गर्ने पनि नगरसभाले पारित गरेको छ । कार्यक्रममा उपमेयर कमला खतिवडा आचार्यले पनि धारणा राखेँकी थिइन ।