Aamsanchar

सर्पदंश उपचार सेवा शुरु

Author Image
मङ्गलवार, साउन २१, २०७६

कावासोती ।

नवलपरासी पूर्वनवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो ।

नवलपुरमा सर्पदंशका बिरामी धेरै हुने गरेकाले गण्डकी प्रदेश सरकारले सर्पदंश उपचार सेवा केन्द्र निर्माणका लागि बजेट विनियोज गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश सरकारबाट रु ४० लाख सर्पदंश उपचार केन्द्र निर्माण तथा सेवा शुरु गर्नका लागि बजेट विनियोजन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा गोपाल खनालले बताउनुभयो ।

हाल अस्पतालको आकस्मिक कक्षबाट सर्पदंशको उपचार सेवा शुरु गरेको अध्यक्ष डा खनालले बताउनुभयो । उहाँका अनुसार प्रदेशबाट प्राप्त बजेटबाट सर्पदंश कक्ष स्थापनासहित उपचारका लागि जनशक्ति तयार गर्न तालीम प्रदानलगायतका कार्य गरिनेछ । हाल अस्पतालमा रहेको चिकित्सकलाई तालीम प्रदान गरी सर्पदंश उपचार सेवा शुरु गरिएको छ ।

सर्पदंशको उपचारका लागि आवश्यक पर्ने भेनम जनस्वास्थ्य कार्यालयबाट माग गरिएको अध्यक्ष डा खनालले बताउनुभयो । अस्पतालमा ५० भायल एन्टि स्नेक भेनम माग गरिएको छ । तत्कालका लागि सर्पदंशको उपचार गर्दै आएको कालीगण्डकी सामुदायिक अस्पतालबाट भेनम ल्याएर उपचार शुरु गरिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र पहाडी क्षेत्रको बौदिकाली गाउँपालिकाको डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको थियो । डेढगाउँमा पनि चाँडै उपचार शुरु गर्ने तयारी गरिएको छ ।

नवलपुरमा विषालु सर्पको टोकाइका कारण समयमा उपचार नपाएर वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन् । जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएसँगै सर्पदंशका बिरामीको उपचारका लागि सहजता हुने अस्पतालका अध्यक्ष डा खनालले बताउनुभयो । पहाडी क्षेत्रमा हुने सर्पदंशको घटनामा समयमा उपचार पाउन नसक्दा धेरैले ज्यान गुमाउँदै आएका थिए ।

डेढगाउँमा स्थापना गरिने सर्पदंश उपचार सेवा केन्द्रले पहाडी क्षेत्रका सर्पदंशका बिरामीको उपचारका लागि धेरै सहजता हुने स्थानीय वीरबहादुर बिसीले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पतालमा शव परीक्षण सेवासमेत शुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)