Aamsanchar

प्याजको भाउ दुईसय नाघेपछि उपभोक्ताले किन्‍नै छाडे

Author Image
सोमवार, मंसिर ९, २०७६

काठमाडौं: बजारमा प्याजको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन्। प्रतिकिलो ४० रुपैयाँमा पाइने प्याज अहिले एक सय ९० देखि दुई सय रुपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमै अहिले प्याजको होलसेल मूल्‍य एक सय ७० रुपैयाँ छ भने खुद्रा मूल्य दुई सयसम्म पुग्‍नु सामान्‍य हो। जसले गर्दा उपभोक्ताको भान्छामा प्याज पुग्न सकेको छैन। कालीमाटी फलफूल तथा तरकारी बजारका व्यावसायी केशव श्रेष्ठले भारतबाट सामानहरू ल्याउनमा रोक लागेपछि प्याजको भाउ बढेको बताए।

भारतबाट प्याज नआउँदा बढी मूल्‍य ‘भारतबाट नेपालमा प्‍याज नै आउन सकेको छैन,’उनले भने,‘प्याज धेरै आयो भने मूल्य घट्छ। आएन भने बढ्छ। नेपालको प्याज छैन। सबै बाहिरबाट ल्याउनुपर्छ। उनका अनुसार चाइनिज प्याज ठूलो क्वालिटी गरी एक सय ७० देखि एक सय ४० रुपैयाँसम्ममा बेच्दै आएका छन्। इण्डियन प्याज एक सय ७० देखि एक सय ७५ रुपैयाँ सम्ममा बेच्दै आएका छन। कालीमाटी बजारमा नेपालको प्याज चैत र वैशाख महिनामा मात्रै आउने गरेको उनले बताए। उनले भारतबाट प्याज निर्यात हुन नसके अझै मूल्य बढ्न सक्ने बताए। उक्त बजारका अर्का व्यावशायी विमल बस्नेतका अनु्सार इण्डियन प्याज धेरै बिक्री वितरण हुन सकेको छैन।

अहिले चाइनिज प्याजको मात्रै बढी माग भइरहेको छ। न्यूनस्तरका व्यक्तिहरूले प्याज लानै छोडेको समेत उनले बताए। ‘भारतमा धेरै बाढी,पहिरो भएपछि नेपालमा प्याज पठाउन दिएको छैन,’उनले भने,‘नेपाल सरकारले पनि बाहिरी वस्तुहरू ल्याउनमा कडाइ गरेपछि प्याज बाहिरबाट आउन सकेको छैन। त्यसैले प्याजको मूल्य आकाशिँदै गएको छ।’ नेपालमा धेरै प्याजको उप्पादन गरे मात्रै यसको समस्या हट्ने उनको भनाइ छ।

उपभोक्ताले किन्नै छाडे प्याज प्याजको भाउ महँगिएर उपभोक्ता मारमा परेसँगै प्याज खरिद गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन्। इच्छुमती सामुदायिक कृषि बजार, टुकुचाका व्यवसायी उर्मिला पाण्डेले राज्यले अनुगमन वा कूटनीतिक पहल गरे मात्रै प्याजको भाउ घट्न सक्ने बताइन्। उनले भनिन्,‘भारतबाट नेपालमा प्याज भित्रिन नसक्दा यसको मूल्य वृद्धि भएको छ। प्याजको मूल्य बढेपछि उपभोक्ताले किन्नै छोडेका छन्। बढी उपभोक्ता मारमा पर्दे गएकाले राज्यले पहल गरेर यसको भाउ घटाउनुपर्छ।’ प्याज किन्नुभन्दा मासु नै किनेर खाइन्छ प्याजको मूल्य बढेसँगै कम मात्रामा प्याज खरिद गरेको उपभोक्ता बताउँछन्।

कालीमाटी तरकारी बजारमा भेटिएका कालीमाटीकै विनिता मानन्धरले प्याजको भाउ धेरै बढेपछि प्याज खानै छोडेको बताइन्। ‘प्रतिकिलो ४० रुपैयाँमा पाइने प्याज अहिले एक सय ९० रुपैयाँ पुगेको छ,’उनले भनिन्,‘यति धेरै मूल्य तिरेर कसले प्याज खान्छरु उनले थपिन्, पहिले धेरै प्याज किन्थेँ अहिले किन्न छोडेँ। प्याज खानुभन्दा मासु नै किनेर खाइन्छ।’ सरकारले कुनै न कुनै तरिका अपनाएर र जनताको स्थिति हेरेर भए पनि प्याजको मूल्य घटाउनुपर्ने उनले बताइन्। प्याजको मूल्य बढेपछि प्याज खरिदमा धेरै कम गरेको कालीमाटी बजारमा भेटिएका बल्खुका विना श्रेष्ठले बताइन्। ‘प्याज किन्न सकिने अवस्था छैन। मध्यम वर्गकाले त किन्न छोडेका छौँ। निम्नस्तरका व्यक्तिले झनै किन्न सक्दैनन्। प्याजको सट्टामा मासु किनेर खानु ठिक छ’ उनले भनिन्।

नयाँ कृषिमन्त्रीसँग पनि छैन आस नयाँ कृषि मन्त्री आएपछि प्याजको मूल्य घट्छ किरु भन्ने प्रश्‍नमा उनले खासै आशावादी हुनुपर्ने ठाउँ नरहेको बताइन्। उनले भनिन्,‘नयाँ मन्त्री आए पनि यसको मूल्य घटाउँछ जस्तो लाग्दैन। सत्तामा बस्नको लागि मात्रै मन्त्री भएका हुन्। जनताको पीडा कसैले बुझ्‍न चाहदैनन्।’ सरकारले कृषकलाई सुविधा दिएर भए पनि नेपालमै सबै तरकारीहरू उत्पादन गरेर मूल्य घटाउनुपर्ने उनको सुझाव छ। तरकारी बजारमै भेटिएका नैकापका नीलकुमारी निरौलाले प्याज मसलाको रूपमा मात्र आवश्यक पर्ने बताइन्।

प्‍याजले तरकारी स्वादिलो बनाउने भए पनि मूल्य बढेपछि किन्ने अवस्था नरहेको उनले सुनाइन्। ‘दशैँअगाडि १२० रुपैयाँले किनेको थिएँ। त्यसपछि किनेको छैन,’ उनले भनिन्। नेपाल कृषि प्रधान नामले चिनिए पनि सरकारले तरकारी उत्पादनमा आशालाग्दो काम नगरेको उनको आरोप छ। भारतको प्रतिबन्धले मूल्‍य बढेको दाबी भारतले प्याज बाहिर पठाउनेमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्‍य अत्यधिक बढेको व्यवसायीहरूको दाबी छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले भारतबाट नेपालमा प्याज भित्रिन नसक्दा यसको मूल्य बढेको बताए। ‘भारतले प्याजमा प्रतिबन्ध लगाएको छ,’उनले भने,‘नेपालमा धेरै प्याजको उत्पादन नै छैन। अहिले प्याज ल्याउनमा पनि सहज छैन।’ उनका अनुसार बजारमा दैनिक प्याजको माग ५५ टनसम्म छ। तर, उचित समयमा ८० टनसम्म मात्रै प्याज आउने गरेको छ। तत्काल मूल्‍य घट्ने सम्भावना छैन वाणिज्य विभागका अधिकृत दीपक पोखरेलले अनुगमन गर्दा तत्काल प्याजको भाउ घट्न सक्ने सम्भावना नरहेको बताए।

‘अनुगमन गर्दा अन्तर्राष्ट्रियस्तरमै प्याजको मूल्‍य बढेको पाइएको छ,’ उनले भने,‘बजारमा प्याजको आपूर्ति नै कम भएकाले यसको भाउ बढेको हो। भारतबाट प्याज आउन सकेको छैन। तरकारी बजारमा अनुगमन गर्दै आउँदा यसको मुल्य तत्काल घट्ने सम्भावना पाइएन।’ उनका अनुसार दशैँअगाडिबाट प्याजको भाउ बढेको हो। ‘हामीले एक हप्ताअघि पनि कालीमाटीमा गएर हेरेका थियौँ,’ उनले भने, ‘होलसेलमै प्याजको मूल्य १७० देखि १८० रुपैयाँसम्म छ। अस्वाभाविक रुपमा मूल्य लिएको भेटिएन।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर