Aamsanchar

चीनले कोरोनालाई नियन्त्रण गर्दै : जनजीवन सामान्य बन्दै

Author Image
बुधवार, फागुन २८, २०७६

वुहानमा चिनियाँ राष्ट्रपति सी चिनफिङ । तस्बिर : एजेन्सी

बेइजिङ :  कोरोना भाइरस (कोभिड९१९) को संक्रमणले चपेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।

केही हप्ताअघिसम्म एकै दिनमा हजारौंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झरेको छ । केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुवे प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमितको संख्या एकदम न्यून छ । वुहान लकडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दैगएको छ । चीन आकस्मिक र कठिन युद्ध बनेको कोभिड–१९ माथि विजय निकट पुगेको छ ।

जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई लकडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आकस्मिक स्वास्थ्य संकट घोषणा गर्दै पहिलो स्तरको चेतावनी संकेत जारी गरेको थियो ।

हाल अधिकांश सहर र प्रान्तले सो स्तरलाई दोस्रो र तेस्रो स्तरमा झारिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमासमेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट बन्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

महामारीले उग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्पतालसमेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा खटेका स्वास्थ्यकर्मी तथा बिरामी सबैलाई हौस्याएका छन् ।

सी महामारीपछि पहिलो पटक वुहान पुगेका हुन् । उनले केही साता अघि भनेका थिए, ‘यदि वुहानले भाइरसविरूद्धको युद्ध जित्छ भने हुपैले पनि जित्ने छ । यदि हुपैले युद्ध जित्छ भने राष्ट्रले नै जित्ने छ ।’

हाल वुहानको स्थितिसमेत नियन्त्रणमा आइसकेको छ । यसै गरी चीनका विभिन्न सहर र प्रान्तको आर्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ महामारीको नियन्त्रण तथा प्रतिरोधका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् ।

रोगको नियन्त्रण तथा कारखाना पुनः सञ्चालनका लागि शाङहाई नगरपालिकाले ‘कर घटाउने तथा मौद्रिक अप्ठ्यारो’ भन्ने साझा समस्याको समाधान गर्न २८ बुँदे सुविधाजनक नीति नै लागू गरेको छ ।

मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः सुरु गराउने योजना रहेको बताइएको छ । यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसाय पुनः शुरू भएको दर ९९.५ प्रतिशत पुगिसकेको छ । यसै चीलिन प्रान्तभर वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका व्यवसाय पुनः सुरू भएको दर ९६.७ प्रतिशत पुगेको छ ।

कतिपय क्षेत्रमा पर्यटनस्थलसमेत खोलिसकेका छन् । सार्वजनिक यातायात तथा सार्वजनिक स्थलमा सकेसम्म स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दूरी राख्न पनि आह्वान गरिएको छ । साथै स्वास्थ्य सुरक्षा र नियन्त्रणका लागि कतिपय कार्यालय रिमोट वर्कको अवधारणामा सञ्चालित छन् भने शिक्षण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् ।

चीनको शिक्षा मन्त्रालयले चीन सरकारले महामारी पूर्ण नियन्त्रणमा आइसकेको घोषणा तथा अभिभावकको स्वीकृति र शिक्षण संस्था जोखिम रोकथाम र नियन्त्रणका लागि पूर्ण तयार भएपछि मात्र शिक्षण संस्था खोल्ने जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार, चीनमा ८० हजार ७ सय ५४ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये ५९ हजार ८ सय ९७ जनाको सफल उपचार भइसकेको छ ।

यसले ३ हजार १ सय ३६ जनाको ज्यान लिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख १९ जना ९उहान १७ जना० संक्रमित थपिएका छन् । यस बाहेक विदेशबाट आएका दुई व्यक्ति कोभिड–१९ संक्रमत भएको पुष्टि भएको छ । योसँगै चीनभित्र विदेशबाट आएका निश्चित संक्रमितको संख्या ६९ पुगेको छ ।

चीनले यस महामारीमाथि नियन्त्रण लिइसकेको अवस्थामा यो आयातित संक्रमितले नयाँ समस्या थपेको छ । कोभिड–१९ हाल विश्वका अन्यत्र क्षेत्रमा चिन्ता र भय बनिरहेको छ । यसै कारण चीनका वरिष्ठ स्वास्थ्य विज्ञ चोङ नानसानले यो कोभिड–१९ महामारीको प्रभाव जुन महिनासम्म रहने अनुमान गरेका छन् ।

यस अघि उनले अप्रिलको अन्तसम्म नियन्त्रणमा आइसक्ने अनुमान लगाएका थिए । उनै विज्ञ नानसानले चीनमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको भए तापनि यो चीनमा नै उत्पत्ति भएको भन्ने ठोस प्रमाण नरहेको उल्लेख गरेका थिए ।  अन्नपूर्ण पोष्टबाट साभार 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर