Aamsanchar

झण्डै १० लाख थान मास्क लुकाएर राख्ने आरडीजी इन्टरनेशनल सप्लायर्सका सुवास महेश्वरी र सुरज गोयल पक्राउ

Author Image
सोमवार, चैत ३, २०७६

काठमाडौं। प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई पक्राउ गरेर सतुङ्गलमा रहेको गोदाम सिल गरेको जानकारी दिनुभयो । सिल गरिएको गोदामबाट आइतबार र सोमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताउनुभयो । मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने डीएसपी बोगटीको भनाइ छ । प्रहरीले शनिबार काठमाडौंको डल्लुबाट ७८ हजार मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको गुनासो छ।

मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको छ। व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्। कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन्। व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो। नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ। यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर