Aamsanchar

डर देखाउन भूत परिचालन

Author Image
बिहिवार, वैशाख ४, २०७७

इण्डोनेशिया । इण्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयम्सेवकहरू परिचालित भएका छन् ।

गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयम्सेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन् । इण्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले
मुक्ति पाएन भने ‘पोकोङ’ बन्ने उल्लेख छ । पोकोङहरू डरलाग्दा हुन्छन् । स्वयम्सेवकहरूले त्यस्तै भेषधारण गरेका हुन् ।

इन्डोनेशियामा झण्डै ४,५०० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये चार सय जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ । तर, विज्ञहरूले देशभरि संक्रमण नराम्ररी फैलिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

गाउँलेहरूका अनुसार स्वयम्सेवकहरूले गस्ती गर्न थालेपछि अवस्थामा सुधार आयो । पोकोङ देखिन थालेपछि अभिभावक र बालबालिकाहरू घरबाट बाहिर निस्किएका छैनन्– कर्नो सुपद्मोले रोएटर्ससँग भने । अनि मानिसहरू सन्ध्याकालीन प्रार्थनापछि बाटोमा भेला हुने वा बसिरहने गर्दैनन् ।

पोकोङको भेषमा स्वयम्सेवकहरूलाई देखेपछि कोरोनाभाइरस कति घातक हुन सक्छ भन्ने गाउँलेहरूले बुझेको र त्यो अभियान
प्रभावकारी भएको स्थानीय मस्जिदका रक्षक अन्जर पान्काले ‘जाकार्ता पोस्ट’ पत्रिकालाई बताए । गाउँले युवाहरूको समूहका प्रमुखको अगुवाइमा स्थानीय प्रहरीसँग सहकार्य गरेर
उक्त अभियान थालिएको हो । हामी अरूभन्दा फरक हुन चाहन्थ्यौँ । अनि पोकोङहरू डरलाग्दा देखिने भएकाले तिनबाट (गाउँलेहरू) हतोत्साह होऊन् भन्ने चाहन्थ्यौँ– युवा समूहका प्रमुख
अन्जर पन्कानिङ्त्यासले रोएटर्ससँग भने ।

पोकोङको गतिविधि नियाल्न केपु गाउँको भ्रमण गरेका समाचारसंस्था रोएटर्सका कर्मचारीका अनुसार भूतको भेषमा स्वयम्सेवक परिचालन गर्दा शुरु–शुरुमा
गाउँलेहरू तिनलाई हेर्न बाहिर आए । त्यसबाट तत्कालै सोचे जस्तो परिणाम आएन । इन्डोनेशियामा तत्काल कडा प्रतिबन्धात्मक उपाय अवलम्बन नगरिए देशको स्वाथ्यसेवा प्रणालीले कोरोनाभाइरस महामारीको प्रकोप थेग्न नसक्ने त्रास उत्पन्न भएको छ । तर अहिलेसम्म राष्ट्रपतिले राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छैनन् । कोभिड–१९ फैलिन नदिने उपायबारे
गाउँलेहरूमा अझै चेतना छैन– केपु गाउँका प्रमुखले रोएटर्सलाई बताए । उनीहरू सामान्य अवस्थामा बस्न चाहन्छन् । त्यसैले घरमै बस्न दिइएको निर्देशन पालना गर्न उनीहरूलाई कठिन हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 977

प्रतिक्रिया (०)

सम्बन्धित खबर