काठमाडौं । नेपालमा कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ ।
पीसीआर विधिबाट आठ हजार ४१४ र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित्र पत्रकार सम्मेदन मार्फत जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी परीक्षण गराउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।
देवकोटाले भने हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको जानकारी दिए । तीमध्ये चार जना निको भएर घर फर्किसकेका छन् । बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता देवकोटाको भनाई अनुसार “आरडिटी सबै जिल्लामा शुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म दुई हजार ३४९, प्रदेश नं २ मा तीन हजार २३८, वाग्मती प्रदेशमा चार हजार ६७६, गण्डकी प्रदेशमा तीन हजार ७५१, प्रदेश नं ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ वटा आरडिटी परीक्षण भइसकेको छ ।”
क्वारेनटाइनमा बस्ने व्यक्तिको सङ्ख्या पाँच हजार ९३६ छ । आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या १११ छ । यसमध्ये उपत्यकाभित्र चार जना छन् भने उपत्यका बाहिर १०७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर ९१११५ र ११३३० मा गत २४ घण्टामा दुई २८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।
गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं.मा निःशुल्क कल सेन्टर शुरु भएको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी पिसीआर मेशिन उपलब्ध गराएको छ । आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पिसीआर नमूना सङ्कलन गरिएको छ । नमूनाको परीक्षण हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ ।
मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटु रोगी, प्रसूतिसम्बन्धी जटिल र सुतकेरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ ।