Aamsanchar

हस्पिटल संचालकसहित विराटनगरमा चार जना कोरोना संक्रमितको मृत्यु

Author Image
सोमवार, कार्तिक ३, २०७७

मोरङ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान र आइतबार राति ज्यान गुमाएका सबै मृतक मोरङका हुन् । ज्यान गुमाउनेमा एक जना अस्पताल संचालकसहित तीन पुरुष र एक महिला छन् । दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा सोमबार बिहान ९ बजेतिर वृद्धको मृत्यु भएको अस्पताल प्रबन्ध नारायण दाहालले बताए ।

निमोनियाको समस्या रहेकोभन्दै उतलाई अस्पताल ल्याइएको थियो । पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

त्यस्तै नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भए पनि उनलाई होम आइसोलेसनमै राखिएको जानकारी दाहालले दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यता विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित वृद्धा महिलाको ज्यान गएको छ । विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार असोज १९ गते कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ । मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लिका सञ्चालक हुन् । न्युरो अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको हो ।

मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए । रिपोर्ट पोजेटिभ आउनुभन्दा अघिल्लै दिन श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजन दिएर राखिएको उनले बताए ।

रिपोर्ट पोजेटिभ आएर थप समस्या भएपछि २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा धेरै समस्या थपिएपछि थप उपचारका लागि भेन्टिलेटरमा राख्नु परेको आचार्यले बताए । भेन्टिलेटरमै उपचारका क्रममा उनको ज्यान गएको हो ।
आचार्यका अनुसार मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो । उनी मृगौलाको नियमित डाइलासिस गराउँदै आएका बिरामी हुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर