Aamsanchar

जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

Author Image
शनिवार, मंसिर १३, २०७७

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको डिएसपी केसीले बताए ।

रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अघिल्लो सिटमा बसेकालाई ओरालेर पछाडीका यात्रु झार्ने क्रममा जिप पछि सरेको बताइएको छ । पछाडि बसेकाहरु झर्नै नपाई दुर्घटनामा परेका हुन् । पछि सरेर जिप एक सय मिटर तल पुगेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर