Aamsanchar

चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डोको रोमान्स

Author Image
मङ्गलवार, मंसिर १६, २०७७

रोनाल्डोको रोमान्सले चितवन राष्ट्रिय निकुञ्जमा खुसी थप्ने गर्दछ । तर, यो ‘रोनाल्डो’ विश्व विख्यात फुटबल खेलाडी भने होइन । निकुञ्जको रनबन डुल्ने जंगली भाले हात्ती हो । डुल्दै गर्दा पोस्टका पोथी हात्तीसँग भेटघाट गर्दछ । त्यो बेला जोडिएको मायाप्रीतीले सन्तान लाभ हुने गर्दछ । 

सोमबार मध्याह्न सौराहा नजिक खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रमा गणेशकलीको कोखबाट छावा (बच्चा) जन्मियो । जुन छावाको ‘पिता’ रोनाल्डो हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीले भन्नुभयो, ‘खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा ३१ वर्षीय पोथी हात्ती गणेशकलीले छावा अर्थात बच्चा जन्माएको छ । बच्चा पनि पोथी नै हो । बच्चा स्वस्थ र तन्दुरुस्त छ ।’ उहाँका अनुसार साढे २० महिनाको गर्भकालपछि गणेशकलीले बच्चा जन्माएको हो । ‘यसको यौन सम्पर्क निकुञ्ज डुल्ने भाले जंगली हात्ती रोनाल्डोसँग भएको थियो’ सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भन्नुभयो । यौन सम्पर्क भएको १८ देखि २२ महिनापछि हात्तीले बच्चा जन्माउँछ । गणेशकली निकुञ्जकै हात्ती रुपकलीको सन्तान हो । 

खोरसोरमा विस २०४२ सालमा हात्ती प्रजनन केन्द्र स्थापना भएको हो । त्यसयता त्यहाँ जन्मेका छावाको संख्या ५० नाघेको छ । प्रजनन केन्द्रमा घरेलु भाले हात्ती नहुने होइन । तर पोथीसँग संसर्ग गर्न जंगली मत्ता अर्थात भाले हात्ती नै माहिर छन् । 

प्रजनन केन्द्रमा पहिला एउटा वीरेन्द्रप्रसाद नामको घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा जम्मा दुई वटा मात्रै छावा जन्मेको निकुञ्ज अधिकारीले जनाएका छन् । यसैले देखाउँछ जंगली मत्ता बिना प्रजनन केन्द्र अधुरो रहन्छ । घरेलु ढोइ अर्थात पोथी हात्ती खोज्दै डुल्ने जंगली मत्ता रोनाल्डो हैन अरु पनि छन् ।

प्रजनन केन्द्रका भरपर्दा भाले रोमियो, नानापाटेकर, रोनाल्डो र ध्रुबे हुन् । यी ‘तगडा’ जंगली मत्तामध्ये रोमियो र नानापाटेकर मरिसकेको छ । रोनाल्डोसँगै ढोइसँग नजिक हुन ध्रुबेको प्रतिस्पर्धा चल्छ । पछिल्ला वर्षहरुमा यी दुई जंगली मत्ता नै घरेलु ढोइका उपयुक्त प्रेमी बनेका छन् । रोनाल्डो सक्रिय हुन थालेको ६२ सालपछि हो । ध्रुबे ६६ सालपछि सक्रिय छ । अर्को जंगली मत्ता गोविन्दे यी दुईको सत्ता खोस्न संघर्षरत छ ।

सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भन्नुभयो, ‘अहिले प्रजनन क्रियामा सक्रिय भएका जंगली मत्ता यही रोनाल्डो र ध्रुबे हुन् । गोविन्दे नामको अर्को जंगली मत्ता पनि अगाडि बढेको छ । उसबाट अझै बच्चा जन्मेका भने छैनन् ।’  जंगलभित्र यस्ता भाले हात्तीहरु जुन बेला देखा पर्दछन् त्यो बेला जंगल बाहिरको संसारमा कोही व्यक्तिको नाम चर्चामा छ भने निकुञ्जका कर्मचारीले ती हात्तीलाई त्यही नामले चिन्दछन् । जस्तै, हिन्दी सिनेमाका कलाकार नानापाटेकर चर्चामा रहँदा देखिएको जंगली भाले हात्तीले त्यही नाम पायो । 

फुटबलमा रोनाल्डो चम्केका बेला जंगलमा देखिएको भाले हात्तीलाई चिन्न अरु परिचय आवश्यक परेन । घरेलु हात्तीको पनि नामाकरण हुने गर्दछ । पहिला दरबारबाटै नाम राख्ने चलन थियो । ६३ सालपछि यो हट्यो । छावाको ‘हिन्दू परम्परा’ अनुसार पछि नामाकरण हुने सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर