Aamsanchar

सय गन्तव्य सूचीमा पर्न सफल धनकुटाको पटेक डाँडा सुनसान, प्रचारप्रसार गरिदिन स्थानीयको माग

Author Image
बिहिवार, पौष ९, २०७७

धनकुटा – सरकारले सय गन्तव्य सूचीमा राखेको पटेक डाँडा यतिखेर सुनसान छ। देशका प्रमुख सय गन्तव्यमा परेपछि प्रदेश तथा संघीय सरकारले पूर्वाधार निर्माण गरेपनि पर्यटक आवागमन न्यून रहेको छ।

पर्यटकीय पूर्वाधार भएर पनि प्रचारप्रसार कमीले पटेक डाँडा पर्यटकको रोजाइमा पर्न नसकेपछि स्थानीयले प्रचारप्रसार गरिदिन माग गरेका छन्‌। कोशी राजमार्गमा पर्ने सिधुवा बजार नजिकै रहेको यो डाँडामा पुग्न पर्यटकहरूले करिब २० मिनेटको पैदलयात्रा गर्नुपर्छ भने सवारीसाधनबाट १० मिनेटमै पुग्न सक्छन्‌।

प्रचारप्रसार कै कमीले पटेक डाँडामा पर्यटकहरू कम भएको स्थानीय प्रकाश तामाङको भनाइ छ। दैनिक १० देखि २० जना मात्र पर्यटक आउने गरेको उनले जानकारी दिए। ‘सरकारको सय गन्तव्यमा परेको ठाउँमा यति मात्र पर्यटक आउँछन् भने अन्यत्र कस्तो होला रु’ उनले प्रश्न गरे। गन्तव्य सूचीमा पर्नु ठूलो कुरा नभएको बताउँदै उनले प्रचारप्रसार पनि हुनुपर्ने बताए।

पटेक डाँडा धनकुटाको सबैभन्दा बढी उचाई भएको स्थान हो। यो डाँडाको उचाई करिव २६ सय ५० मिटर छ। यो डाँडाबाट बाह्रैमास मकालु र कुम्भकर्ण हिमशृङखला सहित धनकुटा जिल्लाका विभिन्न स्थान स्पष्ट रूपमा देख्न सकिन्छ। यहाँको शीतल र शान्त वातावरणले पर्यटक मोहित हुन्छन्‌।

​तर, यति सुन्दर र र हराभरा भएर पनि पटेक यतिखेर सुनसान छ। यो डाँडा खासगरी सूर्योदय र सूर्यास्तका लागि प्रख्यात छ। पर्यटकीय गन्तव्यको प्रचार सम्भावना रहेकोले यस स्थानमा थप भौतिक पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा सरकारले ध्यान दिनुपर्ने स्थानीय होमबहादुर बिष्टले बताए‌।

यो डाँडामा पुग्नका लागि करिव ४ सय २० मिटरमा रेलिङ सहितको पक्की सिँढी निर्माण गरिएको छ। संघीय सरकार र प्रदेश सरकारको १ करोड ३४ लाख रुपैयाँ लगानीमा भौतिक पूर्वाधारका कामहरू भएको हलहले पटेक डाँडा निर्माण समितिका अध्यक्ष गोमा कार्कीले बताइन्‌। अब १ सय ८० मिटरमा रेलिङ सहितको पक्की सिँढी निर्माण गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिइन्‌।

पटेक डाँडामा भ्यूटावर, ठाउँठाउँमा पिकनिक स्पट र बहु(साँस्कृतिक मठमन्दिर निर्माण गर्ने तयारी भइरहेको र पर्यटक भित्र्याउन स्थानीय सरकारले काम गरिरहेको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए। अध्यक्ष लिम्बूका अनुसार सिँढी निर्माण शुरू भएको स्थानसम्म गाउँपालिकाले सडक स्तरोन्नति काम गर्ने योजना बनाएको छ। कोशी राजमार्ग देखि सिँढी निर्माण भएको ठाउँसम्म सडक अफ्ठ्यारो भएकाले पनि पर्यटक पुग्न समस्या भएको अध्यक्ष लिम्बूको भनाई छ।

धनकुटा र तेह्रथुम जिल्लाको संगम स्थलमा रहेको यो डाँडा सूर्योदय हेर्नका लागि उपयुक्त स्थान रहेको छ। सरकारको सय गन्तव्यमा सूचीकृत यो ठाउँमा पर्यटकहरूलाई आकर्षण गर्न भौतिक पूर्वाधार निर्माणसँगै प्रचारप्रसार खाँचो रहेको स्थानीय बताउँछन्‌।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर