काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा बढी समय स्टेजमा गुञ्जिए ।बालाजुस्थित अष्टनारायण चलचित्रहलमा शुक्रबार दिउँसो सवा एक बजेदेखि राज्य मन्त्री मानन्धरको कन्सर्ट सुरु भएको थियो । कन्सर्टमा उनले ५९ वटा गीत गाएका थिए । ती गीतहरुको रोयल्टीसमेत आफूले तिरेको उनले बताएका छन् ।
कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा उनले गाए । मानन्धरले ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत गाएका थिए ।
वर्ल्ड बुक अफ रेकर्ड युकेको ‘बहालवाला मन्त्रीको एकल कन्सर्ट’ विद्यामा मानन्धरको रेकर्ड कायम भएको हो । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरेको बताए । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले राजनीति र गायन सँगै अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्बत गुरुङ पनि कार्यक्रममा उपस्थित थिए ।
नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।