Aamsanchar

झापा आएर महेस बस्नेतले भने ‘सूर्य चिह्ननमा प्रचण्डले कुदृष्टि लगाइरहेका छन् ‘

Author Image
सोमवार, पौष २७, २०७७

झापा- नेकपाका नेता महेश बस्नेतले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन्। झापाको धुलाबारीमा सोमबार आयोजित ओली पक्षका नेकपा कार्यकर्ताहरूको बृहत् युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको एजेन्डा बोकेर निर्वाचनमा लाग्नुहोस्, हाम्रो जित निश्चित छ।’ अन्य दलहरू सरकारविरुद्ध सडक प्रदर्शन गरि रहे पनि उनीहरू पनि भित्री रुपमा निर्वाचनको तयारीमा जुटिसकेका उनको भनाइ थियो। त्यसैले अब हामी पनि निर्वाचनको तयारीमा लाग्नुपर्छ, उनले भने।

‘कमरेड माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको इतिहास बिर्सेजस्तो छ,’ नेता बस्नेतले भने, ‘न बिर्सिनुहोस् कमरेडहरू, एमाले पार्टीकै चुनाव चिह्न सूर्य हो, सूर्य चिह्न हाम्रै हो, यसका लागि हामी जस्तोसुकै बलिदान दिन तयार छौँ।’ अहिले सूर्य चिह्ननमा कमरेड पुष्पकमल दाहाल प्रचण्डले कुदृष्टि लगाइरहेको उनको आरोप छ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुशासन, भ्रष्टाचारमुक्त, विकास निर्माणका लागेका प्रधानमन्त्री ओली मुलुकका राजनेता भएको बताउँदै बस्नेतले भने, ‘कुचो लिएर झाडी सफा गर्न जाँदा झाडीमा बसेका बारुला र अरिंगालले टोक्न खोजियो, प्रधानमन्त्रीज्यू अब हातमा आगो लिएर अघि बढ्नुहोस्, झाडीमा बसेका त्यस्ता बारुला र अरिंगाल जलाएर अघि बढ्नुहोस्, तपाईंको साथमा हामी छौँ।’

अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूह लागि परेको उनको आरोप थियो। भने, ‘लोकतन्त्र पद्धतिविपरीत सरकारविरुद्ध आन्दोलनको नाममा सीमा नाघ्ने काम गरिँदैछ, कालोझण्डा देखाउने, निषेध तथा अवरोध गर्ने हर्कत बढ्दै गएकोले त्यसको प्रतिकारमा युवा संघका कार्यकर्ता सडकमा उत्रिन नपरोस्।’

‘जनताको चाहनाबमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकोले उनको साथमा आफूहरू रहेको उनले दोहोर्‍याए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर