Aamsanchar

पूर्वको लागि पर्यटक बोलाउन आन्तरिक पर्यटन पुनरूत्थान अभियान टोली गण्डकी प्रदेशमा

Author Image
मङ्गलवार, माघ १३, २०७७

घुमौ पुर्व प्रदेश नम्वर १ भन्ने मुख्य नारासहित आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समितिको बिटुबि अभियानले वागमती र गण्डकी प्रदेशका व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ ।

वागमती प्रदेशको पर्यटकीय स्थल सौराहा र गण्डकी प्रदेशको पोखरामा कार्यक्रम गरेको हो ।

कार्यक्रम दुवै प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले १ नम्वर प्रदेशको धार्मिक एवम् पर्यटकीय स्थलको विकास र प्रवर्द्धनमा एकसाथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अभियानकाबारेमा प्रष्ट पार्दै १ नम्वर आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समितिका संयोजक भविशकुमार श्रेष्ठले दुवै प्रदेशका व्यवसायीहरूलाई १ नम्वर प्रदेशमा पर्यटकलाई घुम्न पठाईदिन मात्र होईन उद्योगी व्यवसायीलाई १ नम्वर प्रदेशमा लगानी गर्न समेत आग्रह गर्नुभयो ।
जुनसुकै प्रदेशमा पर्यटन र होटल सञ्चालन गरे पनि यसभित्र देखिएका सवैखाले समस्या साझा समस्या भएकाले यसको समाधानमा समेत साझारूपमा हरेक व्यवसायी अघि बढ्नुपर्ने विचार राख्नुभयो ।

बाह्य पर्यटकका भरमा चलेका नेपालका पर्यटन र होटल व्यवसाय नोवल कोरोना भाईरस कोभिड १९ का कारण धराशायी बनेको भन्दै संयोजक श्रेष्ठले अब सवैजना आन्तरिक पर्यटक प्रवर्द्धनमा लाग्नुपर्ने बताउनुभयो ।

होटल एशोसिएसन नेपाल हानका केन्द्रीय सदस्य राजन श्रेष्ठले पर्यटन विकासमा अब पनि सवै व्यवसायी एकसाथ अघि नबढ्ने हो भने व्यवसाय नै संकटमा पर्ने चिन्ता व्यक्त गर्नुभयो । १ नम्वर प्रदेशका व्यवसायीहरूले वागमती र गण्डकी प्रदेशका उत्पादन विक्री गर्न लागि रहदाँ यी प्रदेशका पर्यटन र होटल व्यवसायीहरूले १ नम्वर प्रदेशका उत्पादन विक्रीमा भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।

१ नम्वर प्रदेश आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समितिका सह संयोजक बासुदेव वरालले १ नम्वर प्रदेश धार्मिक एवम् साँस्कृतिकलगायत धेरै कारणले सम्भावना बोकेको प्रदेश भएकाले यहाँ पर्यटकका थुप्रै कुरा रहेकाले पर्यटक पठाईदिन आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले १ नम्वर प्रदेशका व्यवसायीहरूलाई अब शिरमा कञ्चनजंघा र सगरमाथालाई राखेर अघि बढ्न सुझाव दिनुभयो । १ नम्वर प्रदेशमा पर्यटककालागि धेरै कुरा भएपनि यसको विकास र प्रवर्द्धन तथा प्रचार प्रसार गर्न नसकेको उहाँको भनाई छ । विश्वकै अग्लो सर्वाच्च शिखर सगरमाथा र नेपालकै होचो स्थान केचनाकवलसमेत १ नम्वर प्रदेशमा पर्ने भएकाले यसको प्रचार प्रसारमा जुट्नुपर्ने आजको आवश्यकता रहेकाले यसमा लाग्न व्यवसायीलाई सुझाव दिदैं यसकालागि नेपाल पर्यटन वोर्डले जस्तोसुकै सहयोग र यसको प्रवर्द्धनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले कोभिडले थला परेको पर्यटन र होटल व्यवसायलाई पुरानै लयमा फर्काउन सवै व्यवसायी एकसाथ अघि बढ्नुपर्ने उहाँको जोड थियो ।
उहाँले पोखरा पर्यटकको राजधानी भएकाले यहाँका उत्पादन प्रमोसनमा १ नम्वर प्रदेशलाई लाग्न अनुरोध गर्नुभयो । कञ्चनजंघा चियावारीदेखि घोडाचडी व्यवसाय समेत १ नम्वर प्रदेशमा भएकाले पनि यो प्रदेशका उत्पादन विक्री गर्न सके फाईदा पुग्ने उहाँको भनाई छ ।। के गर्दा धार्मिक एवम् पर्टकीयक्षेत्रको विकास र सम्वर्दध्न गर्न सकिन्छ अनि अधिक से अधिक पर्यटक भित्रियाउन सकिन्छ त्यसतर्फ लाग्न समेत उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

पर्यटनलाई चलायमान बनाउनुपर्नेमा जोड दिदै अग्नि कडेलले एउटा पर्यटन व्यवसायी सफल भए देशभरीका व्यवसायी सफल हुने बताउनुभयो ।

हानका गण्डकी प्रदेश अध्यक्ष विकल तुलाधरले अहिले पर्यटन र होटल व्यवसाय संकटमा परेकाले यो संकटबाट व्यवसायीले धेरै कुरा सिक्ने अवसर भएको बताउनुभयो । अब पर्यटक भनेका विदेशीमात्र होईन स्वदेशी पनि हुन भन्न बुझ्न आग्रह गर्दै अब बाह्यभन्दापनि आन्तरिक पर्यटकलाइ समेत आकर्षित गर्नुपर्ने बताउनुभयो । नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकी प्रदेशकामात्र होईन देशभरकै पर्यटन र होटल व्यवसायीले ठूलो क्षति व्योहोर्नु परेको बताउदै धेरै व्यवसायीहरू अहिले बाँध्य भएर पलायन भएको दुःखेसो व्यक्त गर्नुभयो ।
व्यवसायीहरूमा चूनौती धेरै भए पनि अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । अहिले सीमामा आवतजावतमा कडाई गरेका कारण पर्यटकहरू आउन नसकेकाले अब सरकारले यसका लागि लविङ गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरूले पर्यटक बस, सीमा सहजका लागि आग्रह गर्दै विभिन्न कारणले धराशायी भएका पर्यटकीय क्षेत्रको पुनरूत्थान गर्न जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै १ नम्वर प्रदेश नाटाका अध्यक्ष उदयकुमार श्रेष्ठले पर्यटक बसकालागि पहल गर्ने बताउनुभयो । उहाँले सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र नाटा १ नम्वर प्रदेश तथा होटल एशोसिएसन हानको संयोजनमा जारी अभियानले पाल्पा,स्याङ्जालगायतका पर्यटन र होटल व्यवसायीहरूसँग पर्यटकीय क्षेत्रको विकास सम्वर्धन र यसमा देखिएका समस्या र समाधानका विषयमा छलफल गर्ने नाटाका महासचिव नवीन खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर