Aamsanchar

मानिसको ज्यानै लिनसक्ने संसारकै पिरो खुर्सानी कपाकप खाएर विश्व कीर्तिमान (भिडियो सहित)

Author Image
बुधवार, माघ २८, २०७७

क्यारोलिना रिपर जातको खुर्सानी संसारकै सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानी यतिधेरै पिरो हुन्छ कि यसले मानिसको ज्यानै लिनसक्दछ। तर विश्व रेकर्ड कायम गर्ने धुनमा एकजना मानिसले यहीँ ज्यानमारा खुर्सानी कपाकप खाएका छन् । मात्र १० सेकेण्ड भन्दा कम समयमा तीनवटा क्यारोलिना रिपर खुर्सानी खाएर क्यानडाका एक युवाले विश्व कीर्तिमान कायम गरेका हुन् ।

माइक ज्याक नामक ती युवकले जस्तो सुकै पिरो खुर्सानी पनि सहजै खान सक्ने क्षमता राख्दछन् । नयाँ कीर्तिमान कायम राख्ने क्रममा उनले ९.७२ सेकेण्डमा तिनवटा खुर्सानी खाए । गत नोभेम्बरको २१ तारेखमा उनले क्यानडाको ओन्टारियोमा पर्ने लण्डन सहरमा आयोजित एक कार्यक्रममा उक्त कीर्तिमान कायम गरेका हुन् । उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले हालै आधिकारिकता प्रदान गरेको छ ।

कोरोना भाइरस महामारीका कारण लागू भएको सामाजिक दूरी सम्बन्धी नियमका कारण उनले घरभित्रै खुर्सानी खाने कार्यक्रमको आयोजना गरेका थिए । जहाँ दर्शकको रुपमा केवल उनकी पत्नी जेमी ज्याक थिइन् । जेमीले केवल दर्शकको मात्र नभई टाइम किपर र प्रशिक्षकको समेत भूमिका खेलिन् । रेकर्ड राख्ने प्रयोजनका लागि माइकले कम्तिमा ५ ग्राम तौलका ३ वटा क्यारोलिना रिपर खुर्सानी खानुपर्ने थियो । जुन उनले सफलतापूर्वक खाइदिए ।

स्मरण रहोस् अमेरिकाको पकरबट खुर्सानी कम्पनीले उत्पादन गर्ने क्यारोलिना रिपर खुर्सानी आधिकारिक रुपमा विश्वको सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानीको पिरोपना १६४११८३ स्कोभिल्ले हिट युनिट छ । स्कोभिल्ले हिट युनिट चाहीँ खुर्सानीको पिरोपना नाप्ने इकाइ हो ।

यसको अर्थ कीर्तिमानी माइकले केही सेकेण्डमै ४९ लाख स्कोभिल्ले हिट युनिट हजम गरे जुन सामान्य मानिसको कल्पना बाहिर हो । स्मरण रहोस् माइक पिरा खुर्सानी खान खप्पिस छन् र उनले यसअघि पनि विभिन्न खाले खुर्सानी खाने प्रतियोगितामा भाग लिइसकेका छन् । उनको एक युट्युब च्यानल छ, जसमा उनले आफ्ना कीर्तिमानी कार्य र प्रयासका भिडियोहरु राखेका छन् ।

उनले यसअघि नै खुर्सानी खाने विभिन्न विधामा कीर्तिमान कायम गरिसकेका छन् । त्यसैले यो उनको चौथो विश्व कीर्तिमान हो । यसअघि उनले दुई मिनेटमा २४६ ग्राम भुट जोलोकिया जातको खुर्सानीको धुलो खाने, एक मिनेटमा ९७ ग्राम भुट जोलोकिया जातको खुर्सानीको धुलो खाने र मात्र ९.७५ सेकेण्डमा भुट जोलोकिया जातको खुर्सानीको धुलो खाने गरी तिनवटा कीर्तिमान आफ्नो नाममा बनाइसकेका छन् ।

भुट जोलोकिया खुर्सानीलाई भूत खुर्सानी पनि भनिन्छ र यो संसारका सबैभनदा पिरो खुर्सानी मध्ये एक हो । यद्यपि भुट जोलोकिया खुर्सानी क्यारोलिना रिपर जत्तिको पिरो चाहीँ हुँदैन ।

गिनिज वर्ल्ड रेकर्डस् डटकम बाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर