Aamsanchar
Adv top
Adv below_nav

चाच्ने र हेर्नेहरुका लागि आज विशेष दिन (विश्व नृत्य दिवस)


विवाह भोज, भत्तेर, जन्म दिन, साङ्गे लगायत नेपाली संस्कारमा हर्ष–बढाईँका हरेक अवसरमा कम्मर मर्काएर नाच्ने चलन छ । कहिँले मारुनीको भाका त कहिले समलाको ताल, मादलुसँगै ताल मिलाएर नाँच्दै जाँदा समयकै पत्तो पाइँदैन । संगीतका ताल र लयअनुरुप कलापूर्ण तरिकाले नाच्दाको मज्जा नै अर्कै खालको हुन्छ । अनि नाँच्न रहर नगर्नेहरू पनि छेऊछेऊमा थपडी बजाउँदै रमिता हेरिरहेका हुन्छन् ।

रोदी घरदेखि देउँसेसम्म, साकेलादेखि सामाचखेवासम्म नाचको आ–आफ्नै विशेषता छ । खुशीको अभिव्यक्त गर्न मानिसमात्र नभई मयूर लगायतका विभिन्न चरा अनि पशुहरूसम्म नाच्ने गर्छन् । धक फुकाएर अनि भावनालाई उजागर गर्ने हिसाबले नाच्न सक्नु एउटा कला हो अनि कहिलेकाँही त लाग्छ कि नाच अर्थात् नृत्य आफैमा एउटा दर्शन हो । खुशीको दर्शन अनि हर्षको दर्पण हो । नृत्य, कलाको उत्कर्ष अनि उत्साहको प्रतिबिम्ब नृत्य नै त हो ।

मानव सभ्यतादेखि नै नृत्य मानिस निकट छ, मानव दैनिकीसंँग । कहिलेकाहिँ त प्रकृतिलाई मात्र पनि गज्जबले नियाल्दा प्रकृति आफै हरेक स्वरूपमा संगीत, ताल र लयमा लहलहाइरहेको भान हुन्छ ।

यहाँ झरेका पानीका थोपा अनि बहेका हावासम्म नृत्य गरिरहकेका हुन्छन् जस्तो लाग्छ । रुखबाट झरेको पात बिछोडका पीडा हो या स्वतन्त्रताको उत्सव हो रु तर पात पनि नृत्य गर्दै झर्दछ जस्तो लाग्छ । पातको झराईँमा गुरुत्व बलको लय अनि हावाको बहावको बान्की हुन्छ जस्तो भान भइदिन्छ । मानिसभित्रको स्वच्छ आत्मा अनि मनको चञ्चलता दुवैलाई नृत्यले प्रतिनिधित्व गर्छ ।

आज हामी नृत्यकै विषयमा कुरा गर्दछौं, किनभने आज विश्व नृत्य दिवस हो । हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुतिसहित नृत्य दिवस मनाइन्छ ।

नृत्य अर्थात् सरल भाषामा नाच । अनि नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरूमा नृत्य पनि एउटा चलन हो । नृत्यलाई अझ एकप्रकारको प्रस्तुति या भनौ भाका भन्दा पनि फरक नपर्ला । यो पनि एउटा अभिव्यक्ति पनि हो । भगवानदेखि राक्षससम्म, बालकदेखि वृद्धसम्म अनि धेरै हदसम्म पशुपक्षीहरूले पनि आफ्नो अनुपम अवस्थालाई अनि अभ्यासलाई नृत्यमार्फत् अभिब्यक्त गर्छन् ।

जोडी ढुकुरसँगै हुँदाको चाल, मयूरको नाच लगायत थुप्रै रमाइला प्रस्तुतिसँगै मानिसले पनि समुदाय, धर्म, भाषा अनुरूप नृत्य प्रस्तुत गर्छन् । लाखे नाचदेखि मारुनीसम्मका बान्की । सोई ढोले, सोईदेखि अलारुदलसम्मका कम्मरका चलाइहरू ।

अनि हाल प्रचलित आधुनिक हिपहप, ब्रेक डान्स, सल्सा लगायत अन्य थुप्रै नृत्य अभ्यासहरू छन् । हामीमध्ये कतिको रुचि, कतिको पेशा अनि कतिको दैनिकी पनि बनेको छ, नाच । हो, दैनिकी किनभने शरीरलाई स्वस्थ्य राख्न दैनिक शारीरिक अभ्यासका लागि नृत्य गर्ने चलन पनि त बढिरहेको छ, कि कसो रु

नृत्य गर्न या सामान्य कम्मर मर्काउन लाज मान्ने पनि हामीमध्ये धेरै छौँ । लौ आज नृत्य दिवसबाटै नृत्यसँग नाता जोड्नुहोला । मुसुक्क मुस्काएर कम्मर हल्लाउँदा अनि हातका बान्कीले भावहरू अभिब्यक्त गर्नुको रस बेग्लै हुन्छ ।

सायद यसैले नै होला, कसैले नृत्यको परिभाषा यसरी गरेका छन्, ‘सिँधा भावनाहरूको तेर्सो अभिब्यक्ति नै नृत्य हो ।’ रंगकर्ममा नृत्यको अझ विशेष महत्व हुन्छ भने सांस्कृतिक रूपमा नृत्यमार्फत् पुस्तौ–पुस्ताले एउटा संस्कार थाम्दै आएका छन् ।

भगवानहरूको पनि नृत्यलाई आ–आफ्नै नामाकरण गरिएको छ, बिहे व्रतबन्ध अनि अन्य कुनै पनि जीवनउन्मुख क्रियाकलाप नृत्यविना परिपूर्ण मानिँदैन । खुशी सबैमा छाओस्, अनि सन् १९८२ बाट मनाउन शुरु गरिएको यो विश्व नृत्य दिवसको यो वर्षको संस्करणले सबैलाई खुशीले नाचौं, नाचौं लाग्ने गरी छोओस् ।

कोरोना संक्रमण जोखिमका कारणले विश्वभरिका देशहरू त्रासमा छन् । लाखौं मान्छेहरूको मृत्यु भइसकेको छ भने करोडौँ संक्रमित छन् । यो अवस्थामा यो वर्षको विश्व नृत्य दिवसका हरेक कार्यक्रमहरू भौतिक रूपमा नभई ‘भर्चुअल’ रूपमा गरिने भएको छ । आफूलाई जोगाउँदै अनि आफूलाई नृत्यको माध्यमबाट अभिव्यक्त गर्दै खुशी रहनु होला । एक दिन सबै ठीक हुनेछ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।